चार अस्पताल चहार्दै बालककाे मृत्यु

चितवन २३ भदौ । भरतपुर–१५, मंगलपुरका बलराम विक सर्पले डसेर बिरामी भएका तीन वर्षीय नाति सलिनको उपचारका लागि बुधबार राति भरतपुरका चारवटै ठूला अस्पताल पुगे ।

करिब एक घण्टा भौंतारिँदा पनि कुनैले उपचार गरिदिएनन् । अन्तिममा भरतपुर अस्पतालकै शरण परे तर नातिको ज्यान जोगिएन ।

अस्पतालै अस्पताल भएको भरतपुरदेखि पाँच किलोमिटर पर छ बलरामको घर । भरतपुर–१५, मंगलपुरको मनकामना टोलमा उनीहरूका दाजुभाइको घर लहरै छन् । दाइ कृष्णका तीन वर्षीय नाति राति जोडले रोएपछि बलराम ब्युँझिए । सलिनको औंला सुन्निएको थियो । ‘बिस्तारामै करेत सर्प देखेपछि हाम्रो होसहवास उड्यो । अर्को भाइलाई बोलाएर मोटरसाइकलमा अस्पताल हान्नियौं,’ बलरामले भने ।

सर्पदंशको उपचार सरकारी अस्पतालमा हुन्छ भन्ने उनीहरूलाई थाहा थियो । त्यसैले सुरुमै भरतपुर अस्पताल पुगे । त्यहाँ पुग्दा ३ बजेको थियो । ‘केही बेरपछि डाक्टर आएर हेरे र बच्चालाई आईसीयूमा राख्नुपर्ने बताए,’ बलरामले भने, ‘तर आईसीयू खाली नभएकाले अर्को अस्पताल लैजान भने ।’ उनीहरू पुरानो मेडिकल कलेज शिक्षण अस्पतालतर्फ दौडिए । त्यहाँ पुगेपछि के भएको भनेर सोधपुछ भयो ।

डाक्टरले सर्पले डसेको बिरामीको उपचार सरकारी अस्पतालमै हुने भन्दै फर्काए । ‘सरकारीमै उपचार हुने हो, उतै लैजाऊ भने,’ बलरामले सुनाए, ‘सरकारीले नै यता पठाएको भनेपछि त्यसो भए अरू नै अस्पताल लैजान सुझाए ।’ उनीहरू नारायणी सामुदायिक अस्पताल पुगे । त्यहाँ पनि मेडिकल कलेजमा जे भनिएको थियो, त्यही कुरा दोहोरियो । त्यहीं कसैले सुनायो, ‘निको’ बाल अस्पतालमा आईसीयू भेटिन सक्छ । बच्चालाई राख्ने छुट्टै आईसीयू हुन्छ ।

आईसीयू पाइने आशामा उनीहरू निकोतर्फ दौडिए । तर त्यहाँबाट पनि सरकारी अस्पतालमै लैजान भनियो । त्यसपछि उनीहरू नयाँ मेडिकल कलेज शिक्षण अस्पताल पुगे । ‘त्यहाँ जाँदा पनि उपचार भएन, बरु सरकारी अस्पतालमै लैजाऊ भन्दै फर्काए,’ बलरामले भने, ‘अन्तिममा हामी हार मानेर जे–जति हुन्छ भन्दै सरकारीमै फर्कियौं ।’ चार ठाउँ चहारेर भरतपुर अस्पताल फर्कंदा बिहानको ४ बजिसकेको थियो ।

घरबाट हिँड्दा बोल्न सक्ने नाति पूरै शिथिल भइसकेका थिए । ४ बजेर ४३ मिनेट जाँदा बच्चालाई अस्पतालले मृत घोषणा गर्‍यो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रविन खड्काले आईसीयू बेड खाली नभएकाले उपचार गर्न नसकेको बताए ।

‘सर्पले डसेका बिरामीलाई आईसीयूमा राख्नुपर्ने हुन्छ । हामीले एउटा आईसीयू बेड सर्पदंशका बिरामीका लागि नै भनेर राखेका हुन्छौं,’ उनले भने, ‘बच्चा यहाँ आउँदा त्यो मात्रै हैन, यहाँका अरू सबै आईसीयू बेड प्याक रहेछन् । त्यसैले बाहिर खोज्न भन्यौं ।’ अरू अस्पतालमा आईसीयू बेड नपाएर फर्कंदा ढिलो भइसकेकाले बचाउन नसकिएको उनले दाबी गरे । अस्पतालले मृत घोषणा गरेको बच्चा बोकेर बलराम त्रिवेणीसमेत पुगे ।

त्रिवेणीमा सर्पदंश उपचार केन्द्र छ । ‘त्रिवेणीमा यस्तो बच्चालाई बचाउँछ भनेको सुनेपछि हामीले तुरुन्त त्यहाँ फोन गर्‍यौं, बच्चाको शरीर तातो छ भने ल्याउनु भनियो,’ बलरामले भने, ‘त्यो झारफुक गर्ने, विष तान्ने तान्त्रिक हो कि जस्तो लागेको थियो तर अस्पताल नै रहेछ । ज्यान गइसकेको बच्चालाई उसले कसरी ब्युँताओस्  ?’

 

  • आजको कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *