‘विश्वको एक चौथाइ जनसङ्ख्या गम्भीर रोगको जोखिममा’

एलेक्स थेरिएन
स्वास्थ्य सम्वाददाता, बीबीसी न्यूज

बीबीसी – पर्याप्त मात्रामा सक्रिय नभएका कारण विश्वको एक चौथाइभन्दा बढी मानिसहरू गम्भीर रोगहरूको जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।

डब्ल्यूएचओको एउटा अध्ययन प्रतिवेदन अनुसार विश्वको १ अर्ब ४० करोड जनसङ्ख्याले पर्याप्त शारीरिक व्यायाम गर्दैन र सन् २००१ यता यो अवस्थामा खासै प्रगति देखिएको छैन।

शारीरिक रूपमा निष्क्रिय हुँदा मुटुसम्बन्धी रोग, मधुमेह र केही प्रकारका क्यान्सरजस्ता कैयौँ रोग हुने जोखिम हुन्छ। ब्रिटेनसहित उच्च आय भएको देशका मानिसहरू थोरै शारीरिक व्यायाम गर्ने गरेको पाइएको छ।

सर्वेक्षण
एशियाका दुई क्षेत्रमा बाहेक विश्वभरि महिलाहरू अझ बढी निष्क्रिय रहेको पाइएको सो अध्ययनले उल्लेख गरेको छ।

डब्ल्यूएचओका अनुसन्धानकर्ताहरूले शारीरिक क्रियाकलापबारे १६८ वटा देशमा जनसङ्ख्यामा आधारित आफैँले तयार पारेको ३५८ वटा सर्वेक्षणलाई हेरेका हुन्।

ती सर्वेक्षणहरूमा १९ लाख जनसङ्ख्या सामेल थियो। अध्ययन प्रतिवेदन ल्यान्सेट पब्लिक हेल्थ नामक जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार उच्च आय हुने ब्रिटेन र संयुक्त राज्य अमेरिकासहितका मुलुकमा शारीरिक रूपमा निष्क्रिय हुने जनसङ्ख्या सन् २००१ मा ३२ प्रतिशत रहेकोमा सन् २०१६ मा बढेर ३७ प्रतिशत पुगेको पाइएको छ।

कम आय हुने देशमा त्यस्तो जनसङ्ख्या १६ प्रतिशतसहित स्थिर रहेको पाइएको छ।

निष्क्रिय भनिएकाहरूले हप्तामा १५० मिनेट जति मध्यम खाले शारीरिक व्यायाम अथवा मेहनत हुने खालको ७५ मिनेटसम्मको व्यायाम गर्ने गरेको प्रतिवेदनले जनाएको छ।

भिन्नता
जर्मनी, न्युजिल्याण्ड र संयुक्त राज्य अमेरिका लगायतका मुलुकमा मानिसले शारीरिक व्यायाम गर्ने क्रम चाहि बढ्न थालेको छ।

पूर्वी र दक्षिण-पूर्वी एशियामा बाहेक महिलाहरू पुरुषको तुलनामा महिलाहरू शारीरिक रूपमा कम सक्रिय रहेको पाइएको छ।

दक्षिण एशिया, मध्य एशिया, मध्य-पूर्व, उत्तर अमेरिका र उच्च आय हुने पश्चिमा मुलुकहरूबीच ठूलो भिन्नता देखिएको छ।

बच्चाहरूको रेखदेख गर्नुपर्ने अतिरिक्त जिम्मेवारी र सांस्कृति चालचलन लगायत विभिन्न कारणले शारीरिक व्यायाम गर्न त्यहाँका महिलाले समय पाउन गाह्रो हुने गरेको जस्तो देखिएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्।

धनी देशहरूमा निष्क्रिय रहने खालका जागिर र सोखहरूका साथै यातायातका लागि मोटरको प्रयोग लगायतका कारणले निष्क्रियता बढेको विज्ञहरूको निष्कर्ष छ।

कम आय हुने मुलुकका मानिसहरू आफ्नो जागिरमा सक्रिय हुनुका साथै हिँडडुल गर्ने अथवा सार्वजनिक यातायातको प्रयोग गर्ने देखिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *