चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा जेनेरिक नाममा लेख्नुपर्ने

काठमाडौँ, ३१ साउन ।  चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीलाई औषधि सिफारिस गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्ने कानूनी व्यवस्था गर्न लागेको छ । अहिलेसम्म अधिकांश चिकित्सकहरुले ब्राण्ड नामबाटै औषधि सिफारिस गर्ने गरेका छन् । सबै कम्पनीको औषधिको गुणस्तरमा आफू विश्वस्त हुन नसकेको भन्दै उनीहरुले ब्राण्ड नाम लेख्नुपरेको बताउँदै आएका छन् ।

मंगलबार संसदमा दर्ता गराएको जनस्वास्थ्य सेवा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा जेनेरिक लेख्नुपर्ने उल्लेख छ । तर पेटेन्ट र नयाँ औषधिको हकमा भने ब्राण्ड नाममा सिफारिस गर्न बाधा नपर्ने स्पष्ट पारिएको छ ।

विधेयकको दफा २८ मा रहेको औषधिको मूल्य, प्रेस्क्रीप्सन, फार्मेसि र निशुल्क औषधि सम्वन्धी व्यवस्थाको तीन नम्बर बुँदामा ‘प्रत्येक सरकारी अस्पतालहरुले आफ्नै फार्मेसी सञ्चालन गरी सुपथ मूल्यमा औषधिहरुको नियमित उपलव्धता सुनिश्चित गर्नुपर्ने छ,’ भन्ने उल्लेख छ ।

सोही दफाले औषधिको मूल्य नेपाल सरकारले तोके बमोजिम हुने भन्ने उल्लेख गरेको छ भने प्रत्येक स्वास्थ्य संस्था तथा सेवा प्रदायकले औषधिको समूचित प्रयोग तथा प्रवर्धन गर्ने गरी स्तरीय उपचार पद्धतीको पालना गर्नुपर्ने समेत व्यवस्था गरेको छ ।

गरीब तथा बेवारिसेको उपचार गर्न आकस्मिक कोष स्थापना गर्ने
सो विधेयकको दफा २९ मा मन्त्रालय तथा प्रदेश सरकारले गरीब तथा विपन्न तथा घर ठेगाना पत्ता नलागेको व्यक्तिको उपचार गर्दा लागेको खर्च वेहोर्न आकस्मिक कोषको स्थापना गर्न सक्ने भन्ने उल्लेख छ ।

अहिले कतिपय अस्पतालले यस्ता विरामीको उपचार सामाजिक सेवा इकाईमार्फत गर्ने गरेका छन् । कतिपय अस्पतालहरुमा डाक्टर तथा स्वास्थ्यकर्मीहरुकै प्रयासमा कोष स्थापना गरि उपचार गरिएको उदाहरण समेत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *