‘सर्च कमिटिलाई डा. केसीको चेतावनी, ‘बरिष्ठताका आधारमा नाम सिफारिस नभए अमान्य’

काठमाडौँ, ३० साउन ।  डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक बरिष्ठताको आधारमा हुनुपर्ने बताएका छन् । उनले आज विज्ञप्ती जारी गर्दै ‘कनिष्ठ र पार्टी कार्यकर्ता’लाई पदाधिकारीमा नियुक्ति गरिए आफूलाई मान्य नहुने चेतावनी दिएका छन् ।

विज्ञप्तीमा उनले आफू ‘फलाना’लाई निर्देशक बनाउनुपर्छ भनेर कहिल्यै नलागेको समेत उल्लेख गरेका छन् तर उनले तोकेको मापदण्डले भने निश्चित व्यक्ति बाहेक अरुले ‘चान्स’ नपाउने निश्चित जस्तै देखिएको छ ।

त्रिवि ऐनमा शिक्षण अस्पतालको निर्देशक योग्यता सह प्राध्यापक वा सो भन्दा माथिल्लो पदका व्यक्ति भन्ने छ । तर चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवाल संयोजक रहेको सर्च कमिटिले चार बर्ष कार्यकाल रहेका प्राध्यापकहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने नियम बसाएको थियो ।

त्यस अनुसार ६ जनाले मात्रै दरखास्त हालेका थिए । डा. केसीले अहिलेको सर्च कमिटिले बरिष्ठता र योग्यताको आधारमा नभई दलीय वफादारी र भागवण्डाको आधारमा नियुक्तिका लागि नामहरु सिफारिस गर्ने प्रयास भइरहेको बुझिएको बताएका छन् ।

डा. केसीको संकेत र सम्भावित नामहरु
डा. केसीले आफू यो वा त्यो व्यक्तिलाई निर्देशक बनाउनुपर्छ भनेर नलागेको बताए पनि उनको सर्तले निश्चित व्यक्तिलाई सिफारिस गर्नुपर्ने र निश्चित व्यक्तिलाई गर्नै नहुने भन्ने देखाएको छ ।

पहिलो नम्बरमा प्राडा वाइपी सिंह रहेको बताइन्छ ।  उनलाई निर्देशक बनाउनु पर्छ भन्नेमा डा. केसीसंगै डा. अग्रवाल समेत रहेको बुझिएको छ ।  तर डा. सिंहले यसअघि सम्हालेको सुरेश वाग्ले स्मृति क्यान्सर युनिट, अनुसन्धान केन्द्र आदिमा आफ्नो नेतृत्वदायी कौशलता प्रदर्शन गर्न नसकेको भन्ने आरोप लाग्दै आएको छ । यद्धपी छ जना मध्ये उनको नाम सिफारिसमा पर्ने निश्चित छ । सर्च कमिटिका केही सदस्यबीच उनको नाम एक नम्बरमा पठाउने कि दुई नम्बरमा पठाउने भन्नेमा मतभेद रहेको बताइएको छ ।

सिफारिसमा पर्ने सम्भावित अर्को नाम प्राडा ईश्वर लोहनी हो । प्राडा भगवान कोइराला निर्देशक रहँदा ‘उप’को जिम्मेवारी सम्हालेका डा लोहनीको पक्षमा पूर्व निर्देशकहरु ‘सर्पोट’ छ । डा. केसी पनि  वाइपीको सट्टामा लोहनी निर्देशक भएपनि खुलेर विरोध गर्ने भई हालेपनि खुलेरै विरोध गर्ने पक्षमा नरहेको स्रोतले बतायो । त्यसैले पनि सर्च कमिटि  सदस्यहरुबीच लोहनीलाई पहिलो नम्बरमा राखेर सिफारिस गर्ने कि  डा. सिंहलाई  भन्नेमा मतभेद भएको बताइन्छ ।

सिफारिस पर्ने अर्को सम्भावित नाम प्राडा दिनेश काफ्ले हुन् । उनीसंग पनि उपको जिम्मेवारी सम्हालेको अनुभव छ । उनलाई नेकपा समर्थक मानिने चिकित्सकहरुको साथ छ । डा. केसीले आजको विज्ञप्तीमा पार्टीको कार्यकर्ता र कनिष्ठ भनेर दिएको संकेत उनै डा. काफ्ले प्रति लक्षित हो भन्छन् त्रिविका प्राध्यापकहरु । स्रोतका अनुसार सर्च कमिटिलाई डा. काफ्लेको नाम सिफारिस नै गर्नु हुँदैन भन्ने एउटा समूह र सिफारिस गर्नुपर्छ भन्ने अर्को समूहको चर्को दवाव छ ।

‘आज हुने भनिएको सिफारिस दुई चार दिन पर सरयो’
सर्च कमिटिले सम्भावित तीन जनाको नाम आज सिफारिस गर्ने तयारीमा थियो । तर नामका बारेमा परेको विवादले सो सम्भावना केही दिनका लागि पर सरेको छ । अब डा केसीको विज्ञप्ती आइसक्यो कम्तिमा तीन चार दिन सिफारिस हुँदैन । डीन अग्रवालले सो को जनाउ दिइसकेका छन् । त्रिविका एक प्राध्यापकले बताए ।

‘नाम मात्रैको सिफारिस समिति’
‘जति नियम बनाएपनि डीन अग्रवालले नाम छनौटको निर्णय गर्नु भन्दा अघि डा केसीलाई नै सोध्ने गर्दछन् । र उनको निर्देशन अनुसार चल्न खोज्दछन् । अहिलेको इस्यु पनि त्यहि हो । आफूले भने बमोजिम नाम सिफारिस नभए डा केसी अनसनमा बस्छन भन्ने डरले यसलाई स्थगित गरिएको हो,’ एक जना सदस्यले भने ।

‘त्रिविको नियम भन्दा पनि डा केसीको अरन खटनमा चल्ने हो भने सर्च कमिटि किन चाहियो ? त्यसैले यो नाम मात्रकै कमिटि बनेको छ । यसले आफ्नो विवेक हेर्दैन । डा केसीको धारणा के छ भन्ने तिर मात्रै ध्यान दिन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *