असल चिकित्सकको ‘ब्ल्याकमेल’

  • अच्युत शाली घिमिरे

    achyut shali ghimire
    अच्युत शाली घिमिरे

म भगवान् होइन
बिन्ति मलाई भगवान् नबनाउ
म त एउटा साधरण भक्त हुँ,
एउटा असल चिकित्सक हुँ !

भगवान खोज्न श्रावणको महिना पशुपतिनाथ धाउने आस्तिक प्राणीहरुको भीडमा
म त्यस्तो एउटा भक्त हुँ,
जो साक्षात् भगवानको दर्शन गर्न भौतारिरहेको हुन्छु,
सेतो वस्त्रधारी एप्रोन लगाएर
रुद्राक्ष रुपी स्तेथेस्कोप भिरेर
अञ्जुली भरी ओखतीका भेटी लिएर
विभिन्न उपचार पद्धतिका मन्त्र पढेर
आफ्नो अस्पतालका
ईमेरजेन्सी , ओपिडि र वार्डहरुमा !

किन कि,
मेरो भगवान त मेरो बिरामी हुन्
म त उनकै भक्त हुँ
उनकै सेवा गर्न धर्तीमा पठाईएको एउटा मनुष्य हुँ
बिन्ति मलाई भगवान नबनाउ !!!

म अपराधी होईन
बिन्ति मलाई अपराधी नबनाउ !

म त बिरामीको सारथी हुँ
एउटा असल चिकित्सक हुँ !

एक एक बूँद बूँदमा, एक एक सागर
बनेर अनन्त वेदना व्यक्त हुन्छ,

हरेक दिन,
आफुलाई जन्मदिने आमाको कसम खाएर,
म मेरो बिरामीको ज्यान बचाउन प्रयासरत रहन्छु,
तर माफियाको ऐठन परेको सरकार
मेरो स्वच्छ प्रयासलाई लापरवाही ठहर्छ भने,
मैले मेरै सारथी (बिरामी)को ज्यान लिएको अभियोगमा ५ वर्ष जेल हाल्छ भने,
बिरामीको ओठमा गुलाफ फुलाउने यी मालीका हातहरुमा हत्कडी लगाउछ भने,
धैर्य गर सरकार !

एकदिन सूर्यले मुख अध्यारो बनाउने छ
र यो वेदनाले पत्थरको छाती पगाल्नेछ !!!

म व्यापारी होईन
बिन्ति मलाई व्यापारी नबनाउ१
म त सत्यको पुजारी हुँ
म असल चिकित्सक हुँ !

मेरो उपचारमा शंका गर्दै
मेरो नियतलाई बद्नियत भन्नेहरु,
बुझ्ने गर मेरो जीवन –
एक गास रोटी र गुन्द्रीको निद्रामा
चिकित्सक बन्ने सपना बोकेर
किताबका पानाहरुमा टासिएर
गाँउबाट शहर पसेको हुँ म !

शहरको झिलिमिली भुलेर
टुकी बत्तीमा बिरामी देशको शल्यक्रिया गर्ने अभिलाषा बोकेर
उभिएको छु यो स्थानमा,
जुन स्थान आज गर्विलो भन्दा बोझिलो बन्दै छ,
वरदान भन्दा अभिषाप बन्दै छ,

कतै सरकार !
असल चिकित्सकको ‘ब्ल्याकमेल’
गरेर गुण्डागर्दी त मच्चाउदै छैनौ ???

 

# घिमिरे त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)का जुनियर इन्टर्न हुन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *