छोरीलाई जन्मनै निषेध : पढेलेखेका र क्रान्तिकारी भनिएका पनि छोरा नै चाहन्छन्

काठमाडौँ, २९ साउन ।  नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ ।

विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत कारणले छोरीको जन्मदर घट्दै गएको हो ।

केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार ९०६८ को राष्ट्रिय जनगणना० एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूतिगृहको तथ्यांकमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको तथ्यांकनुसार आर्थिक वर्ष ०७३/७४ मा देशभर एक लाख ७७ हजार २ सय ५३ छोरा जन्मिए । सोही वर्ष जन्मिने छोरीको संख्या भने एक लाख ६६ हजार ३ सय २४ मात्र थियो ।

त्यस्तै, आब ०७२/७३ मा एक लाख ८६ हजार ८ सय १७ छोरा जन्मिँदा एक लाख ७३ हजार ४ सय ९६ मात्र छोरी जन्मिए । आर्थिक वर्ष ०७१/७२ मा एक लाख ४७ हजार ४ सय २४ छोरा जन्मिए भने एक लाख ४३ हजार ४ सय १६ मात्र छोरी जन्मिए ।

प्रसूतिगृहमा आर्थिक वर्ष ०७३/७४ मा १८ हजार ७ सय २० बच्चा जन्मिएका थिए । तीमध्ये १० हजार १ सय ३ छोरा र ८ हजार ६ सय १७ छोरी थिए । आब ०७२/७३ मा ९ हजार ९ सय २७ छोरा र ८ हजार ३ सय ८५ छोरी जन्मिए । त्यस्तै, ०७१/७२ मा १० हजार १ सय ९२ छोरा र ८ हजार ६ सय २१ छोरी मान्छे जन्मिए । आव ०७०/७१ मा ९ हजार ९ सय ५३ छोरा र ८ हजार ७ सय ९० छोरीको जन्म भएको अस्पताल प्रशासनले जनाएको छ ।

तथ्यांक विभागका सूचना अधिकारी प्रमोदराज रेग्मीका अनुसार नेपालमा छोरीको जन्मदर भारतमा भन्दा धेरै कम हुँदै छ । भारतमा एक सय ११ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । त्यस्तै, सिंगापुरमा एक सय ७ छोरा जन्मिँदा सय छोरी जन्मिन्छन् । यो अनुपात २५ वर्षदेखि स्थिर छ ।

डा. किरण रेग्मी 
पूर्वस्वास्थ्यसचिव


राज्यका निकायमा महिलाको प्रतिनिधित्व बढ्यो भनेर हामी गर्व गर्छौँ । तर, हामीकहाँ छोरीको बाँच्न पाउने र जन्मने अधिकार नै खोसिँदै छ भन्ने तथ्यलाई नजरअन्दाज गरिरहेका छौँ । सुरक्षित मातृत्व र सुरक्षित गर्भपतनको अधिकार दिने भनेर हामीले कानुन बनायौँ, सेवा सुरु ग-यौँ । तर, समाजमा रहेको पुरातनवादी पितृसत्तात्मक सोच बदल्न सकेनौँ । एक ठाउँमा गएर लिंग पहिचान गर्ने र अर्को ठाउँमा गएर छोराछोरी जे भए पनि मलाई पुग्यो, अनिच्छित गर्भ हो भनेर पतन गराउने परिपाटी बढ्यो । अब कानुन पनि कडा बनाउनुपर्ला । अन्यथा पछि गएर यसले सामाजिक विकृति निम्त्याउँछ ।

पढेलेखे पनि, क्रान्तिकारी भए पनि छोरा नै चाहन्छन्
डा. तारानाथ पोखरेल, 
पूर्वनिर्देशक, परिवार स्वास्थ्य महाशाखा


नेपालमा जतिसुकै पढेलेखे पनि, क्रान्तिकारी भए पनि छोरै होस् भन्ने चाहना राख्छन् । कुल जन्मदरमा छोराको संख्या धेरै छ र त्यो किन भइरहेको छ भन्नेबारे विस्तृत अध्ययन जरुरी छ । अप्राकृतिक कारण हो भने त्यसलाई कडाइका साथ रोक्नुपर्छ । कानुन कडा बनाउने विषयमा सोच्नुपर्ने वेला भइसकेको छ । जनचेतनामूलक कार्यक्रम पनि चलाउनुपर्छ । अन्यथा केही समयपछि जन्मदर अन्तरले सामाजिक समस्या निम्तिन्छन् ।

३ लाख २३  हजारले गत वर्ष गर्भपतन गराए
अघिल्लो आर्थिक वर्षमा तीन लाख २३ हजार महिलाले सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट गर्भपतन गराएका छन् । तीमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ । महाशाखाअन्तर्गत सुरक्षित मातृत्व शाखाकी प्रमुख डा. पुण्या पौडेलका अनुसार औषधि पसलबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’ गर्नेहरूको संख्या जोड्ने हो भने गर्भपतनको तथ्यांक अझ बढ्नेछ ।  ‘आफैँ औषधि किनेर गर्भपतन गर्नेहरूको संख्या थाहा छैन,’ उनले भनिन्, ‘हरेक औषधि पसलमा उपलब्ध छ, डाक्टरको प्रेस्किप्सनविना पनि बेचिरहेका छन् ।’

  • आजको नयाँ पत्रिका दैनिकमा अर्जुन पौडेलको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *