भरतपुर क्यान्सर अस्पताललाई एमसिएच, डिएम अध्ययन् केन्द्र बनाउन मन्त्रालय सकारात्मक

चितवन, २७ साउन। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरी गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

उनले बिरामीको सेवामा ढिलासुस्ती नगरी सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । उपप्रधानमन्त्री यादवले चितवनको क्यान्सर अस्पताललाई अन्कोलोजीको विषयमा एमसिएच र डिएम अध्ययनका लागि प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।

अस्पतालको सेवालाई पूर्व क्षेत्रमा समेत लैजानुपर्ने आवश्यकता औँल्याउँदै उनले अस्पताललाई सुविधायुक्त बनाउन आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिए । क्यान्सरको उपचारमा उत्कृष्ट संस्था बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत उनको भनाइ थियो ।

मन्त्री यादवले हिजो  अस्पतालको रेडियो थेरापी, डाइग्नोसिस, प्याथोलोजी, डेकेयर, हस्पीस वार्ड र नवनिर्मित २०० श्ययाको भवनको स्थलगत निरीक्षण गरेको अस्पतालका कानूनी अधिकृत गोकर्ण सापकोटाले जानकारी दिए ।

सो क्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक निर्मल लामिछानेले अस्पतालका योजना र गतिविधिका बारेमा जानकारी गराएका थिए । हाल क्यान्सर अस्पताल २२५ श्ययामा सञ्चालित छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *