त्रिवि शिक्षण अस्पतालमा ५०६ जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ, २३ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले १० वर्षको अवधीमा ५०६ जनामा मिर्गौला प्रत्यारोपण गरेको छ । सो अस्पतालले नेपालमै पहिलोपटक २४ साउन २०६५ मा मिर्गौला प्रत्यारोपण गरेको थियो ।

प्रत्यारोपण कार्यको नेतृत्व डा दिव्यासिंह शाहले गरेकी थिइन । उनलाई अष्ट्रेलियाली प्रा डा डेभिड फ्रान्सिसले सहयोग गरेका थिए ।
प्रत्यारोपण भएको दश बर्ष पुगेको अवसरमा शिक्षण अस्पतालद्धारा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।

सो कार्यक्रममा बोल्दै प्रत्यारोपणविज्ञ डा उत्तम शर्माले प्रत्यारोपण भएकामध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला भएको जानकारी दिए । उनले १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या आठ जना रहेको बताए ।

हप्तामा दुईवटा प्रत्यारोपण कार्य शुरु गरेको यस अस्पतालले अहिले पनि यसलाई यसलाई निरन्तरता दिँदै आएको जनाएको छ । प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको छ ।

प्रत्यारोपणको दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालद्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पताललाई प्रत्यारोपणका लागि आवश्यक पर्ने आर्थिक एवं उपकरण सहयोग गर्ने जानकारी दिए ।

सरकारी अस्पतालमा राज्यको ठूलो लगानी रहेको तर स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताउँदै उनले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध छ भने ।

मन्त्री यादवले भने, “जनताको घर आँगनमा आधारभूतसहित विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउनु सरकारको पहिलो कर्तव्य हो, यस कार्यमा म जुटिरहेको छु, सहयोग गर्न आग्रह गर्छु ।”

सरकारी अस्पतालमा जडान भएका उपकरण चाँडै बिग्रने र त्यस्तै उपकरण निजीमा हतपत किन बिग्रदैछ भन्ने प्रश्न गर्दै मन्त्री यादवले देश ग्रामीण भेगले बनेको छ, चिकित्सक शहरमा बस्दछन् अब समन्वय जरुरी छ भने ।

सो अवसरमा पहिलोपटक मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान पु¥याएका चिकित्सक तथा नर्सलाई सम्मान गरियो । सम्मानित हुनेमा प्रा डा भोलाराज जोशी, प्रा डा महेश खकुरेल, प्रा डा कनकबहादुर रावत, प्रा डा गुणकुमार श्रेष्ठ, प्रा डा दिव्यासिंह शाह, प्रा डा प्रेमराज ज्ञवाली, प्रा डा उत्तमकुमार शर्मा, प्रा डा लोकराज मरहठ्ठा, प्रा डा डेभिड फ्रान्सिस र उपप्रशासक कृष्णदेव पन्त हुनुहुन्थ्यो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँले आगामी दिनमा चिकित्सा अध्ययन संस्थानको क्षमता बढाउन सहयोग थप्दै जाने बताए । मिर्गौैला रोग विशेषज्ञ प्रा डा शाहले अध्ययन संस्थानले मिर्गौला प्रत्यारोपण गरी नयाँ युगको शुरुआत गरेको भन्दै आगामी दिनमा यसको क्षमता बढाउन आवश्यक रहेको बताए । उनले भने, “प्रत्यारोपणको दिनसम्म आइपुग्न विभिन्न कठिनाइ आइप¥यो, यसलाई सहजतापूर्वक समाधान गर्दै नयाँ इतिहास बनाउने काम गरियो ।”

सम्मानित प्रा डा फ्रान्सिसले पहिलो प्रत्यारोपण कार्य अन्तर्राष्ट्रिय मापदण्डभन्दा उच्च रहेको स्मरण गर्दै नेपाली चिकित्सकका ज्ञान, सीपको उच्च प्रशंसा गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *