सगरमाथा अञ्चल अस्पताललाई प्रतिष्ठानको ‘बेस’ बनाउन उच्चस्तरीय कार्यदलको सुझाव

काठमाडौँ, २३ साउन । सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले राजविराजस्थित सगरमाथा अञ्चल अस्पताललाई दुई नम्बर प्रदेशको चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा अपग्रेड गर्न सुझाव दिएको छ । यद्धपी कार्यदलले जनकपुरमा रहेको जनकपुर अञ्चल अस्पताल र वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाई समेत सोही प्रतिष्ठान अन्तरगर्त समेटेर लैजान भनेको छ ।

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दुई नम्बर प्रदेशमा चिकित्सा विज्ञान प्रतिष्ठान खोल्न सम्भाव्यता अध्ययन गरी सुझाव दिन मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए । गत असारको दोस्रो साता गठन गरिएको उक्त कार्यदलमा स्वास्थ्य सेवा विभागका डा विवेकलाल कर्ण, भोगेन्द्रराज डोटेल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डा सतिश देव र कानुनविज्ञको रुपमा मिथिलेस यादव थिए ।

उक्त कमिटिले करीब एक महिना लामो अध्ययन पछि गत आइतबार स्वास्थ्य मन्त्री यादवलाई सो प्रतिवेदन बुझाएको हो ।

कार्यदलका सदस्य डा देवका अनुसार प्रतिवेदनमा सप्तरीको राजविराजमा रहेको सगरमाथा अञ्चल अस्पताललाई बेस मान्ने र अरु दुई ठूला अस्पतालहरुलाई समेटने कुरा उल्लेख छ ।

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को मोडल भन्दा हुन्छ होला,’ डा. देवले अगाडी थपे, ‘जसरी न्याम्सले वीर, ट्रमा, कान्ति, प्रसूति, मानसिक अस्पताललाई समेटेको छ । त्यसैगरी सगरमाथा अञ्चल अस्पतालमा वेस रहने प्रतिष्ठानले त्यो सहित जनकपुर अञ्चल अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताललाई समेटन सक्छ ।’

उनले यी तीन वटा अस्पताल रहँदा पीजी कोर्षमा भर्ना हुन जाने विद्यार्थीहरुलाई एक अर्को अस्पतालमा बाँढिने र यसले समग्र दुईनम्बर प्रदेशलाई नै समेटिने बताए ।

प्रतिवेदन दिएपछि अब के गर्छ सरकारले ?
कार्यदलको प्रतिवेदन अनुसार अब स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रतिवेदनलाई मन्त्रिपरिषदमा लैजानुपर्छ । मन्त्रिपरिषद्ले अनुमोदन गरेमा सोही अनुसार ऐन तथा नियमावली बनाउनु भनेर स्वास्थ्यलाई निर्देशन दिन्छ । त्यसलगत्तै स्वास्थ्यले कानूनलाई सो जानकारी गराउँछ र कानूनबाट पास भएपछि प्रतिष्ठान गठन हुने र पदाधिकारी चयन हुने बताइएको छ ।

तर त्यसअघि केही सरकारले केही प्राविधिक कामहरु गर्न बाँकी नै छ । प्रतिष्ठान खोल्नु अघि कम्तिमा तीन सय बेडको अस्पताल सञ्चालन गर्नुपर्ने भएकोले पहिलो चरणमा ती क्षेत्रका तीनवटै अस्पताललाई तीन सय बेडमा अपग्रेड गर्नु जरुरी छ । अहिले सगरमाथा अञ्चल अस्पताल डेढ सय बेड र जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल दुई सय बेडमा सञ्चालन भएको बताइएको छ ।

तर पनि यो काम छिटो नै हुन्छ होला । डा देवले भने, ‘अहिले स्वास्थ्य मन्त्रालयको नेतृत्व २ नम्बर प्रदेशमा सकेसम्म छिटो प्रतिष्ठान खोल्ने योजनामा लागेको छ ।’

गत १५ जेठमा प्रस्तुत भएको यस आर्थिक बर्षको बजेटमा हरेक प्रदेशमा कम्तीमा एउटा चिकित्सा विज्ञान प्रतिष्ठान बनाउने कुरा उल्लेख छ । सोही अनुसार दुई नम्बरमा प्रतिष्ठान स्थानपनाको लागि प्रक्रिया अघि बढेको हो ।

नेपालका सातवटा प्रदेशमध्ये प्रदेश नं २ र ७ प्रतिष्ठान विहीन छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *