नर्सिङ काउन्सिलमा रजिष्ट्रार दुई जना, विहान आठ बजे नै पुगे हाजिर हुन

बायाँबाट क्रमश : विन्दा घिमिरे, रमिला चौलागाईँ

काठमाडौँ, २३ साउन ।  सरकार र अदालतले दुई छुट्टा छुट्टै व्यक्तिलाई रजिष्ट्रारमा नियुक्ति गरिदिएपछि नेपाल नर्सिङ काउन्सिलमा अन्योलता उत्पन्न भएको छ । आधिकारिक रजिष्ट्रार आफूलाई दावी गर्ने दुबै जना आज विहान आठ बजे नै काउन्सिल पुगेका छन् ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले यसअघि निमित्त रजिष्ट्रार रहेकी विन्दा घिमिरेलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले हिजो मन्त्रालयबाट चार बर्षे कार्यकाल सहितको नियुक्ति पत्र बुझेर काउन्सिल पुगेकी थिइन । तर हिजो नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर रमिला चौलागाँई काउन्सिल पुगी रजिष्ट्रारको रुपमा हाजिर भइसकेकी छन् ।

‘म त यसअघि नै निमित्त रजिष्टारको रुपमा काम गरिरहेकी थिए । हिजो पनि विहानै देखि हाजिर भएर नियमित काम गरेकी हुँ । दिउसो मन्त्रालय पगेर चिठी लिएर आएकी हुँ,’  घिमिरेले भनिन् ।

उता आफूलाई सर्वोच्च अदालतबाट रजिष्ट्रारको रुपमा काम काज गर्नु भन्ने पत्र पाएपछि आफू हिजो नै हाजिर भई काम काज गरिरहेको चौलागाईँले बताइन ।

चौलागाईँ पूर्व स्वास्थ्य मन्त्री गगन थापाको पालामा रजिष्टारमा नियुक्त भएकी थिइन । तर पूर्व रजिष्टार लक्ष्मी राईले अदालतमा मुद्धा दायर गरेपछि उनको पक्षमा अन्तरिम आदेश आयो र उनले मुद्धाको अन्तिम किनारा नलाग्दै अवधि पुरा गरिन । अहिले सोही मुद्धामा आफ्नो पक्षमा अन्तरिम आदेश दिएको चौलागाईँको दावी छ ।

काउन्सिलकी अध्यक्ष प्राध्यापक गोमा निरौलाले अदालतको आदेशपछि आफूले चौलागाईँलाई हाजिर गराएको बताइन । उनले घिमिरेलाई रजिष्टारमा नियुक्ति गर्ने सरकारको निर्णय पत्र आफूले नपाएको बताइन । ‘मलाई जानकारी नै छैन । मलाई  पत्र आएको छैन । तर पत्र आयो रे भन्ने सुनेकी छु । अव मन्त्रालयमा गएर यसको बारेमा छलफल गर्नेछु,’निरौलाले भनिन् ।

संयोग के छ भने काउन्सिलका प्रमुख पदाधिकारी मानिने अध्यक्ष र दुबै जना रजिष्ट्रार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तरगर्तका कर्मचारी हुन् । अध्यक्ष निरौला न्याम्स अन्तरगर्त सञ्चालित वीर अस्पतालकी मेट्रोन हुन् । चौलागाईँ पनि वीर अस्पतालमै कार्यरत छन् । र घिमिरे पनि न्याम्स अन्तरतर्गतको नर्सिङ कलेजमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नर्सिङ काउन्सिलमा रजिष्ट्रार दुई जना, विहान आठ बजे नै पुगे हाजिर हुन

  1. यदि देसमा कानुनि राज छ भने सर्वोच्च अदालतको फैसला अनुसार रमिला चौंलागांईले नै रजिष्ट्रारको जिम्मेवारी सम्हाल्नु पर्छ ।

Leave a Reply to chandra gautam Cancel reply

Your email address will not be published. Required fields are marked *