सेवा केन्द्रीय स्तरको भएपछि हैसियत दिँदा के हुन्छ र ?

युवा डाक्टर रविन खड्काले भरतपुर अस्पतालको मेडिकल सुपरीटेन्डेन (मेसु)को रुपमा कार्यभार सम्हालेको दुई महिना पुगेको छ । यसबीचमा उनले अस्पताल सुधारका लागि अल्पकालिन र दीर्घकालिन महत्वको केही कामहरु अघि बढाउने प्रयास शुरु गरिसकेका छन् । कार्यभार सम्हालेको यो छोटो अवधीमा उनले के के गरे र के के गर्ने प्रयासमा छन् ? नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले यसै सन्दर्भमा डा .खड्कासंग कुराकानी गरेका थिए । हेरौँ कुराकानीको सारसंक्षेप:

भरतपुर अस्पतालको निर्देशक भएर जानु भएको छ ? कस्तो पाउनु भएको छ अस्पताल ?
भरतपुर अस्पताल पहिले जिल्ला अस्पतालको रुपमा स्थापना गरिएको हो । तर अहिले यो अस्पताललाई केन्द्रीय अस्पताल भन्न सुहाँउछ ।
यस अस्पतालमा म करीब १० वर्ष पहिले पनि आएको थिएँ । तर त्यस बेला र यसबेला धेरै परिवर्तन भएको छ । भरतपुर अस्पतालको स्तर निकै माथि भएको मैले पाएको छु ।  ‘स्टाटस’ जिल्ला अस्पतालको रुपमा भएपनि यो मध्य क्षेत्रको ‘रिफरल’ अस्पताल हो भन्दा फरक पर्दैन । यहाँको सेवा र जनशक्ति हेर्दा जिल्ला अस्पताल भन्दा निकै माथिल्लो स्तरको रहेको छ ।

कति बेडको अस्पताल ?
नेपाल सरकारको ३०० बेड र अस्पताल विकास समितिको ३०० गरी छ सय बेड सञ्चालनमा आएको छ । त्यसैले यसलाई हामी जिल्ला होइन केन्द्रीय स्तरकै अस्पताल हो भनेर भन्न सक्छौँ । किनभने जिल्ला अस्पतालको हैसियत शुरुमा १५ बेडको हो, पछि बढाएर २५ बेड पुरयाइयो । अहिले कतिपय अस्पताल ५० बेडसम्म अपग्रेड गरिएको अवस्था छ । तर २०१३ सालमा स्थापित भरतपुर अस्पताल २०६७ सालमा ४१५ बेडमा स्तरोन्नती भई अहिले ६ सय बेडमा पुगेको छ ।  यद्धपी यसको नाम चाहि भरतपुर अस्पताल नै छ तर हैसियत केन्द्रीय स्तरकै छ ।

अस्पतालमा विरामीको फ्लो कस्तो छ ?

मध्ये तराईमा छ । यस अस्पतालले वरपरका झण्डै २२ जिल्लाका करीब ४० लाख जनतालाई कभर गर्ने भएकोले दैनिक ओपिडीमा १ हजार देखि १५ सयसम्म विरामी आउँछन् । इन प्यासेन्ट अर्थात भर्ना भएको विरामीको कुरा गर्ने हो भने ८० देखि ८५ प्रतिशत बेड भरिन्छ । अझ प्रसूति वार्डमा त बेड कहिले खाली नै हुँदैन । कहिलेकाँही त भुईमा राखेर सुत्केरी गराउनुपर्ने बाध्यता हुन्छ ।

भुईमा राखेर सुत्केरी गराउनुपर्ने बाध्यता भन्नु भयो, प्रसूतिका लागि कति बेड छ ?

कुल मिलाएर १०० बेड जति प्रसूतिका लागि छुट्याएका छौँ । तपाईँलाई यो पनि भनौँ, काठमाडौँको थापाथलीमा रहेको प्रसूतिगृह अस्पताल पछि सबैभन्दा बढी प्रसूति सेवा भरतपुर अस्पतालमा हुन्छ । हाम्रो अस्पतालमा बार्षिक झण्डै १४ हजार बढी प्रसूति हुने गर्दछन् । त्यसमध्ये करीब ४ हजार जति केश शल्यक्रिया अर्थात सिएस गरेर हुन गरेको छ । यति धेरै प्रसूतिका लागि आउनुको कारण हामीकहाँ सेवा सर्वसुलभ, गुणस्तरीय मात्रै होइन जति जटिल केश समेत ह्याण्डील गर्ने भएकोले हो । फेरी यो पूर्व पश्चिम राजमार्गसंग जोडिएकोले पनि रिफर भएर पूर्व पश्चिमबाट यहाँ आउने गर्दछन् ।

भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्नुपर्छ भनेर अभियान शुरु गर्नु भएको छ ? कस्तो छ योजना ?

यो धेरै पहिले देखि नै उठेको कुरा हो । अस्पतालको गुरुयोजना २०६३ सालमा नै बनाइएको थियो । २०७२ साल २२ जेठका दिन यस अस्पतालको १० बर्षे गुरुयोजना स्वास्थ्य मन्त्रालयबाट स्वीकृति समेत पाइसकेको छ । उक्त गुरु योजनामा १० बर्ष भित्र अस्पताललाई एक हजार बेडको अति विशिष्ट सेवा सहितको अस्पताल र शैक्षिक प्रतिष्ठान (नेपाल सरकारको मेडिकल कलेज) समेत बनाइने लक्ष्य रहेको छ ।
यसमा अस्पतालको आवास क्षेत्र, अस्पताल र शैक्षिक क्षेत्रहरु अलग अलग रहने छन् । उक्त स्वीकृृत गुरु योजना अनुसार नै अस्पतालको सी व्लक भवनको टेन्डर समेत पुरा भई निर्माण कार्य शुरु भएको छ । अब अबको सबै निर्माण कार्य यसै गुरुयोजना अनुसार चल्नेछ ।
यति काम अघि बढदै गर्दा हामीकहाँ केही समस्या अहिले पनि उस्तै छ ।

विसं २०७२ सालमा किताव खानामा पनि केन्द्रीय लेभलको अस्पताल भनेर दर्ता भएको रहेछ । तर पछि ओएनएम सर्भे गर्दा केन्द्रीय बनाएको छैन । मैले अघि भने अस्पतालको ६ सय बेडमध्ये ३ सय बेड विकास समितिको छ । अझ त्यसमा पनि जनशक्ति डेढ सय बेडको लागि मात्रै स्विकृत भएको अवस्था रहेछ ।

स्थायी कर्मचारी १७५ जनाको मात्रै दरबन्दी स्विकृत भएको अवस्था रहेछ । त्यसमध्ये करीब करीब डेढ सय दरबन्दीले पूर्णता पाएको छ । अरु बाँकी रिक्त छ । त्यसैले अहिले समिति र अरु अस्थायी तथा करार गरी कर्मचारी व्यवस्थापन गरिएको छ ।

विकास समिति त सरकारले खारेज गरयो अव के हुन्छ ?
हो हामीले पनि थाह पायौँ । गत ३२ असारमा बसेको मन्त्रिपरिषद्ले अस्पताल विकास समिति खारेज गर्ने निर्णय गरेको रहेछ । त्यो खारेज भएपनि हामीकहाँ अर्को आदेश आएको छैन । त्यसैले झन् अन्योलको स्थिति छ । मन्त्रालयले हालसम्म पनि कुनै परिपत्र गरेको छैन् । त्यसैले अहिले चाहि संक्रमणकालिन अवस्था जस्तै छ भन्दा हुन्छ । के गर्ने भन्ने स्पष्ट निर्देशन पनि भइसकेको छैन ।

अस्पताल सुधारका लागि प्रमुखको रुपमा तपाँईको योजना के के छन् ?
मैले त्यहाँ जाने वित्तिकै समस्याहरु केलाउने काम गरेँ । पहिलो समस्या भनेकै अस्प्तालको स्तर निर्धारण र जनशक्ति व्यवस्थापन गर्नु हो भन्ने लाग्छ । किनभने काठमाडौँ पछिका अस्पतालहरुमध्ये सबैभन्दा धेरै सेवा दिने सरकारी अस्पताल त हामी नै हौँ । हामीले १४ वटा विभाग मार्फत विभिन्न विशिष्टीकृत सेवाहरु दिइरहेका छौँ ।

न्युरो सर्जरी देखि आर्थोस्कोपिक, हिप रिप्लेसमेन्ट देखि लिएर सबै जसो शल्यक्रिया हामी कहाँ हुन्छ । मिर्गौला फेल भएकाहरुलाई डायालासिस, बच्चाका लागि एनआईसियू, आइसियू, लगायतका सबै सेवाहरु छन् । तपाईँलाई था छ ? सरकारी अस्पतालमा २० बेडको आइसियू चलेको भनेको भरतपुर अस्पताल मात्रै हो । १२ बेडको एनआईसियू छ । १२ वटा डायलाइसिस मेसिन छ । यो भनेको सरकारी अस्पतालले दिने सेवा मध्येको राम्रो सेवा हो ।

समस्याको विश्लेषण गर्दा सबैभन्दा समस्या जनशक्तिको हो । अर्को चाहि स्तर निर्धारण हो । स्तर निर्धारण हुन नसक्दा कसरी चलाउने भन्ने केही योजना नै छैन । अर्को हामीले देखिएको पक्ष भनेको आकस्मिक कक्षका लागि बेड र स्पेश कम भएको अवस्था छ । डेढ सय बेडको अस्पताल हुँदा बनाइएको १५ बेडको आकस्मिक कक्ष छ । त्यो पनि साँघुरो र अप्ठेरो ठाँउमा ।

अर्को समस्या भनेको ढल निकासको समस्या हो । होचो भागमा रहेको हुनाले ठूलो पानी पर्दा जम्ने समस्या देखिन्छ । स्थायी रुपमा फोहरमैला व्यवस्थापन गर्ने व्यवस्था नभएको अवस्था रहेछ । प्रसूति व्लकको छुट्टै आवश्कता छ । ल्याव सर्भिसलाई छुट्टै बनाउनुपर्ने छ । ल्यावमा पनि एकदिनमा करीब करीब ६ सय स्याम्पल कलेक्सन हुन्छ । म्यानपावर भने जम्मा छ जना मात्रै छ । त्यसले सेवा प्रभावमा समस्या परेको छ । यी सबै समस्याहरुको निराकरण गर्ने र अस्पताललाई अझ स्तरीय ढंगबाट अघि बढाउने मेरो योजना छ ।

केन्द्रीय स्तरको अस्पताल बनाउन किन आत्तिएको ?
सेवा केन्द्रीय स्तरको भएपछि केन्द्रीय हैसियत दिँदा के हुन्छ र ?  अर्को कुरा हाम्रो अस्पताललाई केन्द्रीय हैसियत मात्रै दिइयो भने अस्पतालका लागि त्यहि किसिमले जनशक्ति थपिन्छ । जनशक्ति थपिएपछि सेवा प्रभाहमा सहजता आउँछ । त्यस्तै अहिले चलेको अनुदान बजेटको पनि सुनिश्चिता हुने भयो । अर्को कुरा प्रतिष्ठान लेभल बनाउने कुरा पनि मिल्छ । अब यो अस्पतालसंघ मातहतमा रहँदा अहिले चलेको अनुदान बजेटको पनि सुनिश्चिता हुने भयो ।

तपाईँहरुले अहिले नै पनि शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्नु भएको छ हैन ?
हो, हामीले नर्सिङ कार्यक्रम चलाइरहेका छौँ । पीसीएल र वीएन कोर्ष चलिरहेको छ । यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसंग समन्वय गरेर एमडीएमएस कार्यक्रम सञ्चालन गरेका छौँ । अहिले पनि हामीकहाँ २४ जना रेजिडेन्टस पोष्टिङ हुनुभएको छ । हाम्रो फेकल्टीका लागि प्रोफेसर, एसोसिएट प्रोफेसर हामीलाई न्याम्सले दिएको छ । त्यसैले पनि यसलाई प्रतिष्ठान बनाउने भन्ने कुरा भएको हो ।

केन्द्रसंग के कुरा भइरहेको छ त ?
अहिलेको टीमले मात्रै होइन, पहिलेको टीमले समेत यस विषयमा धेरै पटक छलफल गरेको रहेछ । अहिले हामीले पनि शीर्षस्थ नेताहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सहित सरकारका अधिकारीहरुलाई भेटेका छौँ दवाव दिएका छौँ । उहाँहरु सकारात्मक हुनुहन्छ । तर अहिले देश संघीयतामा जान लागेको र भविस्यमा कसरी अघि बढ्ने भन्ने स्पष्ट खाका नभएकोले हामीले निर्णय लिइ नसकेको हो भन्नु भएको छ । माननीय मन्त्रीज्यूलाई भ्रमणको पनि निम्तो दिएको छौँ । सम्भवत उहाँ यसै हप्ता आउनुहुन्छ होला । फेरी हामीसंग जग्गा छ । पूर्वाधार पनि छ । सेवा पनि छ र विरामीको चाप पनि छ । त्यसैले हाम्रो माग पुरा हुन्छ भन्ने मलाई विश्वास छ ।

भरतपुर अस्पतालको जग्गा विवादले पनि बेला बखत चर्चा पाउने गरेको छ ? के हो त्यो जग्गा विवाद ?
विसं २०१३ सालमा भरतपुर अस्पताल स्थापना गर्दै गर्दा अमेरिकी सरकार र राप्तीदुन उपत्यका विकास समिति भन्ने रहेछ त्यसबेला । त्यसबेला यस अस्पताललाई ३१ विघा जग्गा छुट्याइएको रहेछ । २०२० सालमा महेन्द्र आदर्श चिकित्सालयको रुपमा नामाकरण भएको रहेछ । त्यसैबेला उसले सरकारी तथा गैरसरकारी संस्थालाई अति न्युन शुल्कमा जग्गा वितरण गर्दै आएको रहेछ ।  हाम्रो त्यहाँ भएको ३१ विघामध्ये अहिले ११ विघा जग्गा मात्रै अस्पतालले चर्चेको छ । वाँकी जग्गा अरु छ सात वटा संंस्थालाई भाडामा दिएको अवस्था रहेछ । सबैभन्दा धेरै अर्थात ९ विघा जग्गा पुरानो मेडिकल कलेजलाई बार्षिक भाडा लिने गरी दिइएको रहेछ । ७ विघा जग्गा बार्षिक भाडा नतिर्ने गरी स्कुल अफ हेल्थ साइन्स सिटिइभिटीले लिएको रहेछ । यस्तै जिल्ला जनस्वास्थ्य, भरतपुर आँखा अस्पताल, नेपाल रेडक्रस, स्वास्थ्य सहकारी संस्था लिमिटेड , जिल्ला जनस्वास्थ्य सबै हाम्रो हो । यद्धपी सर्त अनुसार सेवालाई निरन्तरता दिइरहेको छ ।

भावि योजना के के छन् ?

भविस्यको योजना यस्तो छ, मिर्गौला प्रत्यारोपण यसअघि नै पनि प्रयास गरिएको हो । ट्रमा सेन्टर जुन छ मदन भण्डारी मेमोरियल यसलाई हामी अर्थो वार्डको रुपमा सञ्चालन गरेका छौँ । त्यसलाई हामी छुट्टै व्लक बनाएर ट्रमा सेन्टरकै रुपमा विकास गर्ने योजनामा छौँ ।
आकस्मिक भवन तत्काल बनाउने भन्ने योजनामा छ । ढल निकासको अहिले अस्थायी समाधान छ । यसलाई स्थायी गर्ने योजना छ । फोहर मैला व्यवस्थापन । महानगरसंग कुरा गरेर यसको व्यवस्थापन गर्दैछौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *