छ हप्ते सुत्केरी बिदापछि काममा फर्किइन प्रधानमन्त्री

बीबीसी । न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न छ हप्ते सुत्केरी बिदापछि काममा फर्किएकी छन्।  ३८ वर्षकी जसिन्डाले गएको जुन २१ (असार ७ गते) पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् ।। उच्च राजनीतिक पदमा हुँदा बच्चा जन्माउने उनी दोस्री नेत्री हुन्।

बिदामा बस्दा उनले विन्स्टन पिटर्सलाई कार्यवाहक प्रधानमन्त्रीको उत्तरदायित्व हस्तान्तरण गरेकी थिइन्। उनले सो अवधिलाई ‘मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता’ भन्दै आफू काममा फर्कन तयार रहेको बताएकी छन्।

टीभीएनजेडसँग कुरा गर्दै आर्डर्नले देशका जनता, आफ्नो टोली र कार्यवाहक प्रधानमन्त्रीको सदाशयता र सहयोगले गर्दा आफू छोरीसँग बस्न पाएकोमा प्रसन्नता व्यक्त गरेकी छन्।

पिताले स्याहार गर्ने
‘यो विशेष परिस्थिति हो र म काममा फर्किन धेरै उत्सुक छु,’  उनले भनिन्। छोरी निभ जन्मेपछि केही हप्ता सपरिवार उनी अक्ल्यान्डमा बसिन्। यही शनिवार उनी देशको संसद् पनि रहेको राजधानी वेलिङ्टन फर्किँदै छिन्।

आर्डर्नलाई आफ्नो राजनीतिक उत्तरदायित्व निर्वाह गर्न सहज होस् भनेर उनका प्रेमी तथा टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डले घरमै बसेर छोरीको स्याहारसुसार गर्नेछन्।

आर्डर्नले यस्तो सौभाग्य धेरै महिलाले नपाएको तर आफूले पाएको टिप्पणी गरेकी छन्। ‘म धेरै नै भाग्यमानी छु,’ उनले रेडिओ एनजेडलाई बताइन्।

आफ्ना प्रेमी सहयोगी भएको र पिताका रूपमा छोरी हुर्काउन उनले संयुक्त जिम्मेदारी स्वीकारेको भन्दै उनले गेफोर्डको प्रशंसा गरिन्।

प्रथम महिला हैन
आर्डर्न गत अक्टोबरमा प्रधानमन्त्री पदमा निर्वाचित भएकी हुन्। केही महिनापछि जनवरीमा उनले आफू गर्भवती भएको घोषणा गरेकी थिइन्।

उनले त्यति बेला भनेकी थिइन्, ‘विविध काम गर्ने म प्रथम महिला हैन। म काम गर्ने र बच्चा पाउने प्रथम महिला पनि हैन। पहिला पनि धेरै महिलाले यो गरिसकेका छन्।’

सुत्केरी बिदामा हुँदा पनि उनी मन्त्रिपरिषद्को कागजपत्रको अध्ययन गर्ने गर्थिन् र महत्त्वपूर्ण विषयहरूमा उनीसँग परामर्श गर्ने गरिन्थ्यो। उनी न्यूजिल्यान्डमा सन् १८५६ पछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेकी व्यक्ति हुन्।

गत हप्ता सार्वजनिक भएको एउटा भिडिओमा उनलाई कागजपत्रहरूको खातनजिकै बसेर छोरीको कोक्रो हल्लाउँदै गरेको देखिएको थियो।सन् १९९० मा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले पनि पदासीन हुँदा नै बच्चा जन्माएकी थिइन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *