जसले श्रीमानको दीर्घायूको लागि आफ्नै कलेजो दान गरिन…..

अस्पतालबाट डिस्चार्ज हुनु अघि चिकित्सकसंग फोटो खिचाउँदै बद्री (मास्कवाला)

काठमाडौँ, १६ साउन । श्रावणको महिना, हिन्दु नारीहरु आफ्ना श्रीमानको दीर्घायूको कामना गर्दै पुजापाठ गर्न शिवालयहरु धाइरहेका छन् । ब्रत बसिरहेका छन् । कोही बोलबम बोलबम भन्दै गेरु बस्त्रमा सजिएर जल चडाउन कुँदिरहेका छन् । त्यसरी कुँदनुको पछाडी पतिको सु स्वास्थ्य र दीर्घायूको कामना । 

तर काठमडौँ कपनकी रुषा खड्का (३९) यतिवेला श्रीमानको दीर्घायूको कामना गर्न मन्दिर शिवालय धाएकी छैनन् । गेरु बस्त्र पनि लाएकी छैनन् ।

तर,  पनि खुशी छिन् उनी भगवानसंग । उनलाई लाग्छ भगवानले ढिलै भएपनि बर्षौ अघि देखिको आफ्नो पुकारा सुनिदिए । आस मारि सकेको उनका श्रीमान् बद्री खड्का (४३) रोगलाई जितेर फर्किएका छन् र उनीसंगै मुस्कुराई रहेका छन् ।

हो !  रुषाले त्यतिवेला देखिनै भगवानसंग आफ्नो श्रीमानको जीवनको याचना गरिरहेकी थिइन । धूमपान मध्यपान कहिल्यै नगर्ने शाकहारी आफ्नो श्रीमानलाई कलेजोको जटिल समस्याले घेर्न थाले देखिनै उनी भगवानसंग पुकारा गर्न थालेकी हुन् । ‘त्यसरी पुकारा गर्न थालेको अहिले ठ्याक्कै १४ बर्ष पुग्यो,’ एक छोरा र छोरीकी आमा रुषाले भनिन् ।

श्रीमान बद्रीको साथमा रुषा

कसरी लाग्यो रोग ?
२०६१ साल तिरको कुरा । मार्सल आर्टका खेलाडी बद्री बिरामी पर्न थाले । शुरुमा नजिकैको क्लिनिक तिर लगेर देखाइन । निको नभएपछि वीर अस्पतालमा लगिन । त् केही निजी क्लिनिकतिर पनि दौडाइन । ओम, नर्भिक, केएमसी जस्ता नाम चलेका निजी अस्पतालहरुमा देखाइन् । अहँ,  निको हुने छाँट देखिएन ।

समस्या बल्झिदै गयो । रोगको प्रकृति फेरिदै गयो । पछि थाह भयो,  बद्रीलाई कलेजोको जटिल अवस्था ‘लिभर सिरोसिस’ भइसकेको रहेछ ।
पछि डाक्टरले बद्रीको रोग निको पार्ने एक मात्रै उपाय कलेजो प्रत्यारोपण  हो भन्न थाले ।

‘नेपालमा कलेजो प्रत्यारोपण त भएकै छैन् भारतमा गएर गर्न सकिन्छ तर कम्तीमा एक करोड रुपैयाँ लाग्छ,’   त्यतिवेला रुषालाई कोही डाक्टरले सुझाए ।

रुषा सम्झिन्छिन्, ‘ मध्यम बर्गीय हाम्रो परिवारले भन्ने वित्तिकै एक करोड रुपैयाँ कसरी जुटाउन सक्थ्यो र ? तर पनि मैले मनमनमा अठोट गरेकै थिएँ कि, श्रीमान्को उपचार जसरी पनि गराएरै छाड्छु ।’

प्रत्यारोपणका लागि पैसाको जोहो गर्दै जाँदा करीब दुई बर्ष अघि उनले फेरी डाक्टरकै मुखबाट सुनिन् कलेजो प्रत्यारोपण त अब नेपालमै हुँदैछ ।

सुनेको केही समय पछि नै भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा कलेजोको पहिलो पटक प्रत्यारोपण भयो । त्यसको केही महिना पछि सो केन्द्रले अर्को पनि सफल प्रत्यारोपण गरयो ।

रुषामा थप साहस आयो । बद्रीको स्वास्थ्य उपचार गर्दै आएका डाक्टरहरुले पनि उनलाई नेपालमै प्रत्यारोपण गराउन सुझाव दिन थाले । उनी श्रीमान्लाई लिएर केन्द्रमा पुगिन । डाक्टरहरुसंग परामर्श लिइन । सबैले यहि प्रत्यारोपण गर्नुपर्छ भने ।

‘तै पनि मनमा कता कता चिसो त पस्दो रहेछ । मैले प्रत्यारोपण गराइएका दुबै विरामी र तिनका परिवारलाई भेटने निधो गरेँ । गएँ र भेटेँ पनि । प्रत्यारोपणको सेवाको बारेमा बुझेँ । उहाँहरुले मलाई चित्त बुझाउनु भयो । त्यसपछि नेपालमै प्रत्यारोपण गर्ने निर्णयमा पुगेँ ‘ रुषाले भनिन् ।

 छोरा छोरीको विचल्ली होला भन्ने श्रीमानलाई  डर
प्रत्यारोपण गर्ने कुरा त भयो । ‘तर डोनर को ?’  भन्ने कुरा उठ्यो । ‘भन्नलाई सजिलो भए पनि अंग काटेर दिन सबैलाई गाह्रो नै लाग्थ्यो । तर मैले भने पहिले नै तय गरेकी थिएँ यदि म्याचिङ भयो भने श्रीमानलाई म आफ्नै कलेजो काटेर दिन्छु भनेर । सोँचे जस्तै भयो । मेरो मिल्यो ।
तर श्रीमानले मान्नु भएन । म रोगी मान्छे, मेरो केही ठेगान छैन् । तिमी आफ्नो जीवनमा किन खतरा मोल्छौँ । म त जान्छु जान्छु तिमिलाई समेत केही भयो भने यी छोरा छोरीको विचल्ली हुन्छ । तिमीले दिने हो भने मैले प्रत्यारोपण गर्दिन भन्न थाल्नुभो । तर मैले उहाँलाई भने, मेरो लागि र छोरा छोरीका लागि पनि तपाईँ बाँच्नु पर्छ । तपाईँ विनाको जीवन हाम्रा लागि अपुरो हुन्छ । त्यसैले मैले दिन्छु र दुबै स्वस्थ भएर बाँच्ने हो । मैले यसरी कन्भिन्स गरेँ,’ रुषाले भनिन् ।

पछि उनको श्रीमानलाई डाक्टरले समेत ‘कन्भिन्स’ गरे ।

कसरी भयो प्रत्यारोपण ?
दोस्रो प्रत्यारोपण भएको एक बर्ष पुग्न ७ दिन बाँकी छँदा केन्द्रले गत १० असारका दिन तेस्रो पटक कलेजो प्रत्यारोपण गरेको थियो । त्यो तेस्रो प्रत्यारोपणको केश उनै बद्री खड्काको थियो ।

भारतको दिल्लीस्थित म्याक्स अस्पतालका प्राडा सुवाष गुप्ताको नेतृत्वमा आएको टोलीको सहयोगमा उनीहरुको प्रत्यारोपणको काम भइरहेको थियो । विहान सबैरै देखि राती अवेरसम्म करीब १५ घण्टा लगातार अप्रेशन भयो रे । रुषाले अगाडी थपिन, ‘मेरो कलेजो ६० प्रतिशत काटेर उहाँमा प्रत्यारोपण गरिएको छ ।’

आफ्नो कलेजो श्रीमानलाई दान गरेकी रुषा त्यसपछि दिन अस्पताल बसिन । श्रीमान् भने त्यसपछि एक महिनासम्म बसे । उनी गत शुक्रबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उत्कृष्ठ डाक्टर उत्कृष्ठ सेवा
‘खासमा हाम्रो केशलाई पहिले देखि नै कलेजोरोग विशेषज्ञ डा सुधांशु केसीले हेर्नु भएको थियो । पछि केएमएसी हस्पिटलमा डा.  छेतेनसंग भेट भो । उहाँहरुले नै केन्द्रमा प्रत्यारोपण गर्नुपर्छ भनेर पहिलो रिफर गर्नु भएको हो,’ रुषाले भनिन् ।

भक्तपुर पुगेपछि अस्पतालका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ देखि अरु थुप्रै डाक्टरले गरेको सेवा र सहयोग अहिले पनि उनमा ताजै छ । ‘डा. पुकार, मेडिकल डाइरेक्टर जस्तो मान्छे कामका लागि कति हलुका, कति सहयोगी, कस्तो कुरा बुझ्ने मनकारी । यस्तै डा.  दिपेश उहाँले धेरै नै राम्रोसंग कन्भिन्स गर्नुभयो । हाम्रो समस्या बुझ्नु भयो र बुझाउनुभयो । यस्तै डा ललित, डा प्रविन, डा कर्ण, आरती सहित अरु धेरै डाक्टर तथा नर्सहरु मेरो मनमा बस्नु भएको छ,’ रुषाले भनिन् ।

उनले आफूले केन्द्रमा उपचार गर्दा अपेक्षा गरे भन्दा निकै बढी सहयोग र सदभाव सौहार्दता पाएको बताइन ।

‘सरकारी अस्पताल, सर्भिस कस्तो होला? डाक्टर कस्तो होला भन्ने थियो तर त्यहाँ ती सबै भ्रम मेटियो । सबै डाक्टरहरुको निरन्तर निगरानी, विरामीको अवस्था र समस्या बुझ्ने । अस्पतालका निर्देशक देखि डाक्टरसम्म तथा नर्स देखि प्यारामेडिक्सहरु उत्तिकै खटिने । मलाई साच्चिकै राम्रो लाग्यो,’ उनले भनिन् ।

श्रीमानको प्रत्यारोपणका लागि उनले लगभग अहिलेसम्म ३५ लाख खर्च भएको बताइन । २० लाख अस्पतालमा डिपोजिट नै लाग्दो रहेछ । अरु बाहिरी परिक्षण पनि महंगो हुँदो रहेछ त्यसमा करीब १५ लाख जति लाग्यो ।

भारतमा १ करोड तिर्नुपर्ने सुनेकी उनले नेपालमा त्यो शुल्कमा त्यो सुविधा सहितको उपचार सेवा आफ्नो लागि अमूल्य भएको बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *