जब रातको सवा १२ बजे मोवाइलमा घण्टी बज्यो…..

- नेपाली हेल्थ
डा. उत्तम पच्या
  • डा. उत्तम पच्या

दश महिना कोखमा हुर्काएको सन्तान धर्तीमा पदारोपण हुँदै गर्दा बीच बाटोमै अड्किन्छ, अनि त्यसैको कारणले आफ्नो ज्यान नै जोखिम हुन थाल्छ, एउटी आमाको मनमा के होला ? नयाँ सन्तानको स्वागत गर्न आतुर त्यो परिवार र आफन्तको मनमा के होला ?

हामी कल्पना मात्रै गर्न सक्छौँ ।

तीन साता अघि यस्तै भयो गुल्मी जिल्ला अस्पतालमा ।

जिल्लाको पश्चिमभेगको एक गाँउ पालिकाकी १९ बर्षीय नीता (नाम परिवर्तन) लाई परिवार र आफन्तले त्यहि अवस्थामा अस्पताल ल्याइ पुरयाए ।

गर्भवती भएको ४० हप्ता नाघिसकेको उनलाई जव घरमा व्यथा लाग्यो परिवार र आफन्तले अस्पताल ल्याउने तयारी गर्नै भ्याएनन् । व्यथा यति कडा लाग्यो कि घरबाट निकाल्न नपाउँदै सुत्केरी भई हाल्छिन् कि जस्तो । सुत्केरी हुने प्रक्रिया पनि शुरु भयो तर शिशुको टाउको आउनुपर्नेमा हात पो पहिले निस्किएछ ।

हात नै अगाडी आइसकेपछि सुत्केरी गराउन खटिएका स्थानीय महिलाहरु आत्तिए । तत्कालै निस्कर्ष निकालेछन् , ‘अब घरमै सुत्केरी हुन गाह्रो हुन्छ । अस्पताल नलगी हुँदैन’ भनेर ।

नीतालाई रातारात अस्पतालतिर दौडाए ।

रातको करीव सवा १२ बजेको हुँदो हो । मलाई अस्पतालबाट फोन आयो,  “डाक्टर …….!  ह्याण्ड प्रोल्याप्स ( बन्चा जन्माउने बाटोबाट बच्चाको हात बाहिर आउनु )को केस आयो,  हजुर छिट्टो आउनु परयो’ भनेर !

म हस्याङ फस्याङ गर्दै अस्पताल तिर झरेँ ।

केश हेरेँ । बच्चाको हात बाहिर निस्केको थियो र सुन्निएको पनि थियो ।

कतै टाउको पनि संगै पो आको छ कि भनेर तत्कालै जाँच गरिहालेँ  । टाउको भेटिएन बरु नाल पो भेटियो । नालमा धड्कन थियो ।

यो अवस्था भनेको बच्चा र आमा दुबैका लागि अत्यन्तै खतरा अवस्था हो । कुनै पनि बेला बच्चाको हातले नाल च्यापिएर दुबैको मृत्यु हुन सक्थ्यो ।

मैले बिरामी तथा उनका आफन्तलाई तत्काल परामर्श दिएँ । विकल्प सुझाएँ र भनेँ यसको एउटै विकल्प अप्रेशन हो । उहाँहरु तत्कालै राजी हुनुभयो ।

यस्तो अवस्थामा धेरै जसो बिरामी तथा उनका आफन्तहरु अलमलमा पर्छन यही सेवा लिने कि माथिल्लो स्तरको अस्पतालमा जाने भन्नेमा ।
तत्कालै अप्रेशन योजना बनाइयो । टोली तुरुन्तै भेला भै आ – आफ्नो काम कर्तव्यमा लाग्यौँ ।

केही बेरको प्रयासपछि बच्चा पेटबाट निकाल्यौँ । बच्चा लुलो थियो । लुत्रुक्क परेको र धड्कन पनि केही मात्रामा थियो तर स्वास थिएन । बच्चा ग्रहण गर्ने डाक्टर देवराज कंडेल अनि नर्सिङ स्टाफ पवु हमालको टीले बच्चाको रिसस्टीटेसन(स्वासप्रस्वास वा धड्कन कम वा नभएको नवजात शिशुलाई अन्तिम अवस्थामा गरिने उपचार विधि ) गर्नु भयो ।

शिशुको धडकनसंगै स्वासप्रस्वास पनि आयो । शिशुलाई तत्कालै अक्सिजनमा राखियो । साथै बच्चालाई चाहिने खानेकुरा रक्तनलीबाटै दियौँ ।

हामीलाई पनि बिश्वास थिएन हात निस्किएको त्यति लामो समय पछि अप्रेशन गरि निकालिएको शिशु जिवित हुन्छ भनेर तर प्रयास गरियो र सफल पनि भयो ।

अप्रेशसनमा डा. अर्जुन केसी, स्टाफ नर्स दुर्गा पातलीले मलाई साथ दिनु भएको थियो । एनेस्थेसियामा एनेस्थेसिया असिस्टेन्ट सुनिता तार्मांङ हुनुहुन्थ्यो । ल्याबका साथीहरु सधै झैँ तत्पर थिए त्यो रात पनि ।

शिशुलाई तेस्रो दिन जन्डिस देखियो जसलाई सामान्य उपचारले राम्रो भयो । तर आमालाई तेस्रो दिन घाउ पाक्यो । अविच्छिन रुपमा घाउको हेरचाह गर्दा पन्ध्र दिन लाग्यो । गतहप्ता सुत्केरीलाई लिएर परिवार खुशी साथ घर फर्कियो ।

यो घटनाले एकापसमा विश्वास भए समस्याको समाधान पक्कै हुन्छ भन्ने सिकाउँछ । तर यहाँ त आजको भोलि नै ठिक हुनु पर्छ देखिन्छ । अझ कतिपयले उपचारमा ग्यारेन्टी नै खोज्ने गर्दछन् ।

हामीलाई लाग्छ सेवाग्राही र सेवा प्रदायक बीचको घनिष्ठ सम्बन्ध र बिश्वासले यो जटिल समस्या समधान हुन पुगेको हो । हिजो आज सेवाग्राही र सेवा प्रदायक बीचको विश्वासमा ठुलो खाडल छ्र त्यो बिश्वास को डोरी दुवै तर्फबाट कस्नु जरुरी छ न कि एकातर्फबाट मात्रै ।

# डा.  पच्या गुल्मी जिल्ला अस्पतालमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *