जिल्ला अस्पतालमा ‘सिएस,’ सुत्केरीको खुशी र हाम्रो परम आनन्द

  • डा. उत्तम पच्या

    डा. उत्तम पच्या

गुल्मी । कुनै गर्भवती महिला आफूलाई विश्वास लागेको ठाँउमा सुत्केरी हुन चाहन्छिन भने त्यो उनको अधिकारको कुरा हो । चाहेकै ठाँउमा जव उनले सहज सुत्केरी भई आफ्नो शिशुलाई स्तनपान गराउन सकिन भने त्यो उनका लागि आनन्दको क्षण हो । र, आफ्नो नवजात शिशुलाई काखमा राखेर घर जान सकिन भने उनको लागि त्यो क्षण अझ परमआनन्द मानिन्छ होला ।

हो त्यस्तै परम आनन्दको अनुभव गरेकी छन् रेसुङ्गा नगरपालिका – १४ की माया पुनले ।

गत साता गुल्मी जिल्ला अस्पतालमै सिजरियन सेक्सन (अपरेशन गरी बच्चा निकाल्ने तरिका) द्धारा जुम्ल्याहा सन्तान जन्माएर घर फर्केकी छन् ।

पेटमा जुम्ल्याहा बच्चा हुर्कदै छ भन्ने परीक्षणकै क्रममा थाह पाएकी मायाले सुत्केरी हुनका लागि भन्दै बुटवल नपुगेकी होइनन् । तर, आखिर अप्रेशन गर्ने दक्ष डाक्टर त आफ्नै जिल्ला अस्पतालमा पनि छन् भन्ने सोचिन र फर्किइन ।

बुटवल पुगि सकेर पनि फर्किइ जिल्ला अस्पतालमै अप्रेशन गरी बच्चा जन्माउछु भन्ने उनको आँट कम होइन । र उनको यो आँटलाई जिल्ला अस्पतालले दरिलो विश्वास दिलाएको छ । जिल्ला अस्पतालले पनि अप्रेशन गरी बच्चा निकाल्न सक्छ र ? भन्नेहरुका लागि गतिलो उदाहरण दिएको छ ।

माया गर्भवती भएको ३८ हप्ता पुगेपछि शल्यक्रिया गर्ने योजनामा थियो हाम्रो टिम । पेटमा हुर्कदै गएको जुम्ल्याहा शिशुलाई सहज रुपमा स्वागत गर्न हामी आतुर थियौँ । तर उनको शरीरमा रगतको कमी थियो । उनको रक्त समूह पनि कम मानिसहरुमा पाइने एबी पोजेटिभ थियो ।

चुनौती

घर जाने बेलामा आफ्ना जुम्ल्याहा सन्तानसहित तस्बिर खिचाउँदै माया पुन

हामीसंगै शल्यक्रिया गराउने भन्दै बुटवलबाट फर्केकी थिइन माया । तर हाम्रो टिमलाई केही चुनौतीहरु थिए । पहिलो चुनौती उनको पेटमा जुम्ल्याहा शिशु हुर्किरहेका थिए ।

दोस्रो उनमा रक्त अल्पता थियो र उनको रक्त समूह समेत धेरै कम मानिसमा एबी पोजेटिभ थियो । हामीले सबैभन्दा पहिले रगतको जोहो गर्न थाल्यो । सबै तिर सोधखोज गर्दा सो रक्तसमूहका दुई जना मानिस भेटिए । त्यसपछि हामी अप्रेसनका लागि तयार भयौँ ।

हुन त हरेक अप्रेसनमा रगत आवश्यकता पर्छ भन्ने छैन तर चाहिन सक्छ । त्यसैले रगतको जोहो नगरीकन अप्रेशन गर्नु मुर्खता हुन्छ ।
त्यसैले हामीले एक जनाबाट १ पिन्ट रगत झिक्यौँ र एकजनालाई तयारी अवस्थामा राख्यौँ ।

गत असार २८ गते विहान भएको यो अप्रेशनमा दुबै शिशुको सकुशल जन्म भयो । दुवैको तौल २.५ केजी भन्दा बढी थियो । जुन राम्रो तौल हो । हामीले त्यसैबेला उनको र परिवारको इच्छा अनुसार स्थायी बन्ध्याकरण पनि गरिदियौँ ।

पहिले नै रक्त अल्पता त्यसमाथि अप्रेशन गर्दा रगत बगेकोले हामीले पहिले नै जम्मा गरेको रगत अप्रेशन पछि चढायौँ ।
तीन दिन अघि मात्रै उनी खुशीसाथ घर तिर लागिन ।

हामीमा पनि त्यो क्षण परमआनन्दको रहयो । नहोस पनि कसरी एउटा विरामी भनौ वा जटिल केशलाई हामी सुल्लाएर खुशी साथ घर पठाएका थियौँ ।

# डा.  पच्या गुल्मी जिल्ला अस्पतालमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *