शिक्षण अस्पतालको निर्देशन : बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुनू

काठमाडौँ, ४ साउन । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ ।

त्रिविले आज विज्ञप्ति जारी गर्दै चिकित्सकीय धर्मविपरीत नगई सधैँझैँ बिरामीको स्वास्थ्योपचार गर्न सबै चिकित्सक, प्राध्यापक, प्राविधिक– अप्राविधिक प्राध्यापक र कर्मचारीलाई आग्रह गरेको हो ।

शिक्षण अस्पताल बन्द गर्दा स्वास्थ्योपचारका लागि आउने बिरामी संविधानले प्रदान गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकबाट वञ्चित हुनुपर्ने भएकाले बिरामीको उपचारमा लाग्न तथा अस्पताल बन्द हुँदा करोडौँ रुपैयाँ हानिनोक्सानी र आर्थिक घाटा व्यहोर्नु परेकाले निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा अनशनरत प्रा डा गोविन्द केसीले राखेका मागका बारेमा वार्ता टोली गठन गरेर समाधान खोज्ने प्रयास भइरहेकाले अहिलेको अवस्थामा शिक्षण अस्पताल र केन्द्रले जनतालाई स्वास्थ्योपचारका लागि दिने सेवामा बाधा अड्चन सिर्जना गर्न खोज्ने कुनै पनि संघ, समूह वा व्यक्तिको भ्रममा नपरी संस्थाको ऐन, नियममा रहन चिकित्सक, प्राध्यापक र कर्मचारीलाई अनुरोध गरिएको छ ।

त्रिविले स्वास्थ्योपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवामा असर पार्ने गरी कुनै पनि माग राख्ने कार्य गर्नु र गर्न खोज्नु अत्यावश्यक सेवा ऐन, सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेश, विश्वविद्यालयका ऐन, नियम र विनियमको विपरीत हुनाका साथै कुनै पनि चिकित्सकको चिकित्सकीय धर्म नभएको उल्लेख गरेको छ ।

विधिको शासनलाई मान्दिन, अनुशासनमा रहँदिन भन्ने कुनै पनि शिक्षक–कर्मचारीलाई संस्थामा आबद्धता जनाई तलबभत्ता बुझ्न नैतिकता र कानूनले पनि नदिने विज्ञप्तिमा जनाइएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर, बिपी कोइराला नेत्र अध्ययन केन्द्र र आयुर्वेद शिक्षण अस्पतालले स्वास्थ्योपचार दिइरहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *