एमएस्सी नर्सिङ अध्ययनका लागि चीनबाट प्राप्त २५ वटा छात्रबृत्ति कोटा गुम्दै

काठमाडौँ, ३१ असार । नर्सिङ विषयमा स्नातकोत्तर (एमएसस्सी नर्सिङ) अध्ययनका लागि चीन सरकारले नेपाली नर्सका लागि उपलव्ध गराएको २५ वटा छात्रबृत्ति कोटा गुम्ने भएको छ । स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारीहरुको वेवास्ताले छात्रबृत्ति कोटा गुम्ने भएको हो ।

चीन सरकारले नेपालका नर्सहरुलाई उच्च शिक्षा हासिल गर्न सहजता होस भन्दै गत वर्ष देखि स्नातकोत्तर तहको अध्ययन गर्ने पूर्ण छात्रबृत्ति उपलव्ध गराएको थियो । दुई बर्षे कोर्षको सोही छात्रबृत्तिमा गत बर्ष ३२ जना नर्स सहभागी थिए ।

गतवर्ष चिनियाँ सरकारका प्रतिनिधि, नर्सिङ कलेजका प्रतिनिधि र चीनमा रहेका नेपाली राजदुत लिलामणि पौडेलबीच बार्षिक २५ जनाका दरले ५ बर्षसम्म निर्वाध रुपमा पूर्ण छात्रबृत्ति उपलव्ध गराउने सम्झौँता भएको थियो । सोही अनुसार गतवर्ष नर्सहरुले छात्रबृत्ति पाएका हुन् ।

तर, यसपटक स्वास्थ्य मन्त्रालयले प्रक्रिया नपुगेको भन्दै टार्दै आएको छ । उसले अर्थ चिनियाँ दुतावासबाट अर्थ मन्त्रालयमा आउनुपर्ने, त्यहाँबाट स्वास्थ्यमा आउनुपर्ने ‘च्यानल’ हो भन्दै गतवर्ष स्वास्थ्यले नै च्यानल मिचेको बताउने गरेको छ ।

जुलाई महिना भित्र नाम लिष्ट पठाउनुपर्ने भन्दै नर्सका संस्थाका प्रतिनिधि मन्त्रालयमा पुग्दा अर्थ मन्त्रालयमा जानु भन्दै पठाउने गरेको छ ।

‘खासमा यो नर्सहरु माथि गरिएको विभेद हो । गतवर्ष नै नेपाली नर्सका लागि ५ बर्षसम्म स्नातकोत्तर तहको छात्रबृत्ति दिने सम्वन्धी सम्झौँता चिनियाँ सरकार र नेपाल सरकारका प्रतिनिधिबीच भएको थियो । सोही अनुसार पहिलो लटका विद्यार्थीहरु चीन गएर अध्ययन् गरिरहेका छन् । अव यसपटक विद्यार्थीको लिष्ट पठाउने बेलामा न स्वास्थ्यले चासो देखाएको छ न त अर्थले नै । दुबैले एक अर्कामा जानुस भन्दै पन्छाउने गरेका छन्’ नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले भनिन् ।

उनले गतवर्षको सम्झौँता अनुसार नै यसपटक पनि सार्वजनिक सूचना जारी गरी विद्यार्थी छनौट गर्नुहोस भन्दा स्वास्थ्यका अधिकारीहरुले बाहानबाजी गर्दै आलटाल गरिरहेको बताइन ।

‘यो छात्रबृत्ति नर्सका लागि एउटा अवसर पनि थियो । पढ्ने बस्ने खाने बाहेक केही पकेट मनि दिन्थ्यो । तर यसपटक सरकारका अधिकारीहरुले बुझ्पचाई रहेका छन् । उनीहरुले नर्सको छात्रबृत्ति कोटा गुमाईदिदै छन्,’ प्राध्यापक पोखरेलले भनिन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने यो विषयमा बोल्न चाहेनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *