जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

जाजरकोट, २९ असार । पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।

लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन् ।

जिल्ला अस्पतालका प्रमुख डा राजेन्द्र लामाले तलब निकासा हुने निश्चित भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी काममा फर्किएको बताए।

भेरी नगरपालिकाले अर्थमन्त्रालयबाट तलब निकासा दिन स्वीकृति दिएको जानकारी गराएपछि आन्दोलन फिर्ता लिन आग्रह भएको हो । नगरपालिकाले तलब र भत्ता गरी रु एक करोड ३२ लाख माग गरेकामा हाललाई रु ९५ लाख स्वीकृति भएको नगरप्रमुख घर्तीले बताए ।

अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलनका कारण सयौबिरामीले सास्ती खेपेका थिए । कैयौँ बिरामी उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *