‘चिकित्सा शिक्षा विधेयक खारेज गरौँ, स्वास्थ्य विज्ञान विधेयक ल्याँउ’

– प्राध्यापक तारा पोखरेल

चिकित्सा शिक्षा विधेयक फेरि एकपटक चर्चामा आएको छ । यसलाई यथास्थितिमा पास गर्ने कि सच्याएर पास गर्ने भन्ने सन्दर्भमा ।

यहि,  विधेयककै विषयलाई डा.  गोविन्द केसीले दुई साता अघि देखिको अनशन अहिले पनि जारी राख्नु भएको छ । उहाँको अनशनले फेरी पनि विधेयकका केही विषयहरु सच्चिन पनि सक्छ ।

तर,  हामी भने यो विधेयकलाई ‘चिकित्सा शिक्षा’  होइन ‘चिकित्सक शिक्षा विधेयक’ हो भन्ने गरेका छौँ । किनभने यसको सार चिकित्सकहरुमै मात्रै केन्द्रीत छ ।

एमडी एमएस निशुल्क, एमबीबीएस विडिएसमा ७५ प्रतिशत छात्रबृत्ति आदिका कुरा गरिएको छ । चिकित्सा शिक्षा आयोगको प्रमुखमा समेत चिकित्सक नै हुनुपर्ने उल्लेख छ ।

तर, अस्पतालमा चौविसैघण्टा विरामीको सेवामा खटिने नर्सको बारेमा केही बोलेको छैन । अरु प्यारामेडिक्सको बारेमा पनि मौन छ । के चिकित्सा शिक्षा भनेको डाक्टरहरुका लागि मात्रै हो ? त्यसैले हामीले भनेका छौँ चिकित्सा शिक्षा विधेयकको कि नाम सच्याउ, कि त भित्रको ‘कन्टेन’ सबै सच्याउ ।

एउटा डाक्टरले मात्रै अस्पताल चलाउन सक्दैन । अस्पतालमा नर्सको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । प्यारामेडिक्सहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । तर राज्यले चिकित्सा भनेको केही हजार डाक्टरलाई मात्रे बुझेको रहेछ ।

देशमा भएका ८१ हजार नर्सको बारेमा बारेमा नबोल्ने यो विधेयक कसरी चिकित्सा शिक्षा विधेयक भयो ? हजारौ अरु प्यारामेडिक्सहरुको बारेमा प्रशंगै उल्लेख नभएको यो विधेयक कसरी चिकित्सा शिक्षा विधेयक भयो ? त्यसैले यसको नाम नै गलत छ, यसलाई सच्याउनु जरुरी छ ।

अबको आवश्यकता स्वास्थ्य विज्ञान विधेयक
चिकित्सा शिक्षालाई व्यवस्थित गर्न भन्दै माथेमा आयोगले जो सुझाव दियो । त्यसैको आधारमा विधेयक तयार भयो । तर त्यसमा नर्सलाई समेटिएन । नर्सहरुले चर्को विरोध गरेपछि आयोग सदस्यमा राखिएको त भनियो तर एउटा पनि बैठकमा सहभागी गराइएन । त्यसैले यो आयोगको सुझाव अनुसारको विधेयक अपूर्ण छ र गलत नै छ ।

चिकित्सा शिक्षा भनेको डाक्टर मात्रै होइन । नर्स हो , प्यारामेडिक्स हो, ल्याव हो , फार्मेसी हो आदि आदि । चिकित्सा शिक्षा विधेयकले यी कुरालाई समेटन सकेन । त्यसैले हाम्रो माग अब स्वास्थ्य विज्ञान विधेयक बनाउन पर्छ भन्ने हो ।

जसमा सबैको विषयबस्तु समावेश गर्न सकियोस । नत्र देशभरका नर्स तथा प्यारामेडिक्सहरु विरोधमा उत्रनुको विकल्प छैन ।

डा. केसीको स्वास्थ्य प्रति सम्वेदनशील हौँ

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पन्ध्रौ पटक अनशन बस्नु भएका डा गोविन्द केसीको स्वास्थ्य अवस्था यतिवेला निकै कमजोर बनेको बुझिएको छ ।

राज्यले कत्ति पनि ढिला नगरी उहाँको उपचारको व्यवस्था गर्नुपर्छ । उहाँलाई बचाउनु पर्छ । उहाँलाई मात्रै होइन बीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई पनि बचाउनुपर्छ ।

नेपाल नर्सिङ संघ डा केसी र अधिकारीको जीवनरक्षाका लागि जोडदार माग गर्दछ ।

# प्राध्यापक पोखरेल नेपाल नर्सिङ संघकी अध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *