स्वास्थ्य उपचार पहिले कि बार्ता ? निकास निस्केन, हेलिकप्टर उडेन

काठमाडौँ, २७ असार । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गभ्भीर भएका समाचार आइरहेका बेला सरकारले बुधबार क्याविनेट डाक्टर दिव्यासिंह शाहलाई नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पठाउने तयारी गरयो । उनलाई त्यहाँ पुगेर डा केसीको स्वास्थ्य अवस्था बुझ्ने र आवश्यकता परे तत्काल रेस्क्यु गरेर काठमाडौँ ल्याउने ‘म्याण्डेड’ दियो ।

र,सो कार्यका लागि मध्यस्थता गरिदिन र आफ्नो टोलीसंग प्रतिनिधि जुम्ला पठाइदिन नेपाल चिकित्सक संघसंग आग्रह गरयो । तर सरकारको सो आग्रहलाई चिकित्सक संघले मानेन । मध्यस्थता गर्ने प्रतिनिधिले नै इन्कार गरेपछि गरेको नेपाली सेनाको हेलिकप्टर पनि उडेन ।

क्याविनेट डाक्टर जुम्ला पठाउने दिनभरको योजना असफल भएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सक संघको भूमिकाप्रति दुख लागेको बताए । उनले भने, ‘आन्दोलनमा उत्रिएका डा. केसीको स्वास्थ्य नाजुक छ जीवनरक्षा गर्नुपरयो भन्दै दवावमुलक कार्यक्रम गर्ने एनएमएले स्वास्थ्य अवस्था बुझ्न हामीपनि जान्छौँ मध्यस्थता गरिदिनुस भन्दा परपर सरयो । यसमा ज्यादै दुख लागेको छ ।’

तर चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भने कमजोरी सरकारकै रहेको दावी गर्छन् । उनी भन्छन्, ‘सरकारले बार्ता टोली गठन गरेको भए पो हामीले मध्यस्थता गर्ने । अहिले स्वास्थ्य अवस्थाका लागि मात्रै वा उठाएर काठमाडौँ लान्छौँ भन्नका लागि मात्रै गएर बाताबरण बन्दैन् ।,

उनले शिक्षामन्त्रीलाई ‘बार्ता टोली घोषणा गरिदिए हामीले मध्यस्थता गर्छौैँ’ भनेको बताए ।

पहिले स्वास्थ्य हेर्ने कि बार्ता गर्ने ?
चिकित्सक संघले डा . केसीको बुधबार विहानको विज्ञप्तीलाई समेत आधार मान्दै सरकारले तत्काल बार्ताका लागि टोली गठन गर्नुपर्ने र समस्या समाधान गर्नुपर्ने बताएको छ ।

तर,  शिक्षा मन्त्री पोखरेलले गम्भीर स्वास्थ्य अवस्थाकाबीच बार्ता हुन नसक्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘अहिलेको मुख्य समस्या भनेको उहाँको स्वास्थ्य हो । जीवन रक्षा अहिलेको आवश्यकता हो । जटिल स्वास्थ्य अवस्थाकाबीच गरिने बार्ता औचित्यपूर्ण हुँदैन ।’

उनले विगतमा भएका अनशन र बार्ताको प्रशंग झिक्दै अनशन बस्ने र स्वास्थ्य अवस्था गम्भीर बन्ने र त्यहि परिवेशमा सम्झौँता हुने गरेको स्मरण गराए ।

डा. केसीका प्रतिनिधिसंग पनि त बार्ता गर्न सकिन्छ, भन्ने प्रश्नमा उनले सो प्रभावकारी नहुने ठोकुवा गरे । ‘प्रतिनिधिहरुसंग बार्ता भएर उहाँहरु कन्भिन्स पनि हुनुहुन्छ तर डा केसीले प्रतिनिधीको कुरा पनि मान्नुहुन्छ भन्ने छैन । उहाँले जे जे भने त्यहि मात्रै हो । त्यसैले सरकारले यसपटक डा केसीसंगै बार्ता गर्न चाहन्छ ।’

उनले त्यसैकारण सरकार पहिले डा केसीलाई स्वस्थ बनाई उनैसंग बार्ता गर्न चाहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *