डा. गोविन्द केसीको उपचारका लागि टिचिङ अस्पतालका चार जना विशेषज्ञ जुम्ला जाँदै

काठमाडौँ, २७ असार । जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रँदै जाँदा सरकारले थप चार जना विशेषज्ञ चिकित्सकको टोली जुम्ला पठाउने भएको छ । शिक्षा मन्त्रालयको निर्देशनमा त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)ले त्रिवि शिक्षण अस्पतालका ३ सहित ४ जना विशेषज्ञ टोली जुम्ला खटाउने निर्णय गरेको हो ।

जुम्ला जाने टोलीमा एनेस्थसियोलोजिष्ट, उपप्राध्यापक डा. प्रमेश सुन्दर श्रेष्ठ, चेष्ट फिजिसियन उपप्राध्यापक डा. पंकज पन्त, नेफ्रोलोजिष्ट उपप्राध्यापक डा. रविन नेपाली र कार्डियोलोजिष्ट उपप्राध्यापक डा. सूर्य देवकोटा रहेका छन् ।

डा. देवकोटा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत हुन् । अस्पतालले चार सदस्यीय टोलीको संयोजक डा. श्रेष्ठलाई तोकेको छ ।

डा. केसीको स्वास्थ्यको बारेमा सदन र सडकबाट गभ्भीर चिन्ता हुन थालेपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विशेषज्ञ टोली खटाउन आइओएमलाई निर्देशन दिएका थिए । उनले टोलीमा मुटु, छाती, मिर्गौला तथा आइसियू सबैको व्यवस्थापन गरेर मिलाउन भनेका थिए । सोही अनुसार आइओएमले त्रिवि शिक्षण अस्पताललाई टोली बनाउन निर्देशन दिएका थिए ।

शिक्षण अस्पतालका उपप्रशासक  कृष्णदेव पन्तले डीन कार्यालयको निर्देशन अनुसार टोली गठन गरेको र उनीहरुलाई ‘स्टाण्टबाई’ बस्न भनिएको जानकारी दिए ।

अस्पतालका निर्देशक डा. दीपक महराले डीन कार्यालयको निर्देशन अनुसार ४ सदस्यीय टोली गठन गरिएको बताए ।

उता डीन कार्यालयले मन्त्रालयको अनुसार टोली गठन गरेको जानकारी दिदै परिचालनका लागि थप निर्देशन पर्खेको जनाएको छ ।
‘हामी लिष्ट त पठाईसक्यौँ । अव त्यो टोली कहिले कसरी जाने भन्ने बारेमा मन्त्रालयसंग समन्वय गरेर निर्णय गर्नेछौँ,’ डीन प्राडा जगदीश अग्रवालले भने ।

यसअघि स्वास्थ्य उपचारमा सघाउन भन्दै स्वास्थ्य मन्त्रालयले बीर अस्पतालका दुई जना डाक्टरलाई जुम्ला पठाएको थियो । तर डा. केसीले भने सरकारले पठाएको टोलीसंग उपचार नगराउने भनेपछि सो टोली बाहिरबाटै केसीको स्वास्थ्य अवस्थाको ‘अब्जरभेसन’ गरी बसेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *