चिकित्सा विधेयकबारे नयाँ सहमतिमा पुग्नुपर्छः मन्त्री पोखरेल

काठमाडौँ, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारले ल्याउन लागेको विधेयकमा नयाँ सहमतिमा पुग्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि माथेमा प्रतिवेदनका आधारमा नै विधेयक आउने छ भने ।

उनले कार्यदलले दिएको सुझावका आधारमा चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवाका लागि विधेयकमा नयाँ आयोग गठनको परिकल्पना गरेको सदनलाई जानकारी दिँदै आयोगले नै चिकित्सा शिक्षालाई व्यवस्थित गर्ने उल्लेख गरे।

मन्त्री पोखरलले दश वर्षभित्र काठमाडाँै उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न दिने की नदिने भन्ने कुरा आयोगले नै निर्धारण गर्ने जानकारी दिँदै अघिल्लो सरकारले जारी गरेको अध्यादेश कार्यान्वनमा आई काम अगाडि बढिसकेको छ भने । उनले भने, “चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि जारी भएको अध्यादेशमा साझा सहमति थिएन ।”

मन्त्री पोखरेल अध्यादेशका भावना हुबहु नयाँ विधेयक आउन नसक्ने स्पष्ट पारे । जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गर्दै उनले सबैले सार्वभौम संसद्लाई सम्मान गर्नुपर्दछ भने ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा प्रस्तुत चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याई अनशनरत प्रा डा केसीको जीवन रक्षा गर्न पेश गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल भएको थियो ।

सो पार्टीका सांसद दीलेन्द्रप्रसाद बडूद्वारा प्रस्तुत सो प्रस्तावलाई सांसद अतहर मुसलमान र पार्वती डिसी चौधरीले समर्थन गरेका थिए । सो सार्वजानिक महत्वको प्रस्ताव माथि ४९ सांसदले भाग लिएका थिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *