यी हुन् ‘चुरोट नखाउ’ भन्दै जनता समक्ष प्रार्थना गर्ने नेपालका प्रधानमन्त्री

काठमाडौँ, २२ असार । गत बर्ष स्वास्थ्य मन्त्री भएका बेला गगन थापाले ‘म मेरो स्वास्थ्य प्रति जिम्मेवाररहन्छु’ भन्दै ५ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका थिए । त्यसको पहिलो नम्बर बुँदामा थियो ‘म रक्सी चुरोट र सूर्तिजन्य पदार्थ खान्न ।’

त्यसको निरन्तरता अहिलेको सरकारका स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पनि गरेकी छन् ।

तर,  यस्तै अभियान ७२ वर्ष अघि पनि सरकारी तवरबाट भएको पाइएको छ ।

विसं २००३ सालमा छापिएको गोरखापत्र दैनिकमा त्यतिवेलाका शक्तिशाली प्रधानमन्त्री श्री ३ पद्म शम्मेशरले जंगबहादुर राणाले देशवासीका नाममा चुरोट नखान सन्देश प्रकाशित गरेका रहेछन् । भलै उनको सन्देशमा चुरोट छाडेर बरु तम्माखु खान जनतालाई सल्लाह दिइएको छ ।

गोरखापत्रको पहिलो पृष्टमा त्यसबेला छापिएको प्रधानमन्त्रीको सो सन्देशमा नेपालमा बार्षिक रुपमा ५० देखि ६० लाखको चुरोट आयात हुने र यसले देशको अर्थतन्त्रलाई समेत धक्का दिएको उल्लेख छ ।

सन्देशमा आफूले पनि तीन बर्ष अघिसम्म दैनिक ५०/६० वटा चुरोट खाने तर अहिले छाडेको भन्दै जनतालाई समेत छाड्न आग्रह गरेका छन् ।

उनले सन्देशमा अगाडी भनेका छन्, ‘स्वास्थ्यलाई समेत हानी गर्ने चुरोट खानु बहुतै खराब अम्मल हो । यो अम्मललाई सकेसम्म एकै दिनमा छोडनु बेस हो नसके अलि अलि घटाउँदै लगेर छोडेपनि हुन्छ । जसरी हुन्छ यो खराब लतलाई सबैले छोडनमा नै बेस हुन्छ । यो मेरो प्रार्थनालाई बिचार गरेर तिमिहरुले पनि चुरोट छोड्ने चेष्टा गर्नेछौ भन्ने आशा गर्दछु ।’

उनको यो सन्देशले राणा सरकार समेत सूर्तिजन्य पदार्थको प्रयोगले स्वास्थ्य र अर्थतन्त्रलाई नराम्ररी असर पार्छ भन्ने बारेमा सचेत रहेको बुझ्न सकिन्छ ।

तर, यतिवेलाका मन्त्री तथा प्रधानमन्त्रीहरु भने सूर्तिजन्य पदार्थको प्रयोगले भइरहेको जनधनको क्षतिप्रति खासै गम्भीर भएको पाइएको छैन ।

नत्र,  बार्षिक करीब २५ हजार बढी नेपालीको ज्यान लैजाने सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कानून बनाए पनि त्यसको पूर्ण कार्यान्वनय गर्न  किन आलटाल गरिरहेका छन ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *