डा. केसीको अनशन र विधेयकबारे नेकपाले लियो विज्ञ डाक्टरसंग परामर्श

काठमाडौँ, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले डा गोविन्द केसीको अनशन र विवादमा परेको चिकित्सा शिक्षा विधेयकको विषयमा विज्ञ डाक्टरसंग छलफल गरेको छ । नेकपाका नेता नारायणकाजी श्रेष्ठको अगुवाईमा आज विहान बुद्धनगरस्थित एक कार्यालयमा भएको छलफलमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल समेत सहभागि थिए ।

छलफलमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरत यादव, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा, काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्मा, पूर्वराजदूत डा महेश मास्के, बरिष्ठ डाक्टर सरोज धिताल, डा कृष्ण अधिकारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी लगायत सहभागी थिए ।

बैठकमा सहभागी एक डाक्टरका अनुसार डा गोविन्द केसीको अनशन, उनको जीवन रक्षाका विषय साथै विषय चर्चामा रहेको चिकित्सा शिक्षा विधेयक, चिकित्सा शिक्षा आयोगको विषयमा मिहिन ढंगले छलफल भएको थियो ।

उनका अनुसार अधिकांश सहभागीहरुले डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारलाई पार्टी मार्फत सरकारलाई सुझाव दिएका थिए । ‘डा केसीको ज्यानको सुरक्षा पहिलो प्राथमिकता हो । तर उनले उठाएका मुद्धाको विषय अर्को कुरा हो । त्यसैले केसीलाई पहिले जोगाऔँ र विधेयकको विषयमा विवादरहित ढंगले हल गर्ने प्रयास गरौँ भन्ने अधिकांशको धारणा रहयो,’  उनले भने ।

चिकित्सा शिक्षा आयोगकै विषयमा प्रश्न
छलफलमा सहभागी अधिकांश डाक्टरहरुले विश्वविद्यालयको महत्व नबुझिकन आयोगको अवधारणा ल्याइएको भन्दै आलोचना समेत गरेका थिए ।

‘नयाँ संस्था खडा गर्दैमा सुधार हुने होइन । व्यक्ति राम्रो भयो भने मात्रै सुधार हुने हो । त्यसको ज्वलन्त उदाहरण नेपाल मेडिकल काउन्सिल पहिले र अहिले हेरे पुग्छ,’ छलफलमा उठेको प्रशंग निकाल्दै उनले भने, ‘कसैको माग पुरा गर्नकै लागि आवश्यकता र औचित्य नै नहेरी नयाँ संस्था गठन गर्नुको कुनै मतलव हुँदैन । यसलाई सच्याउनुपर्छ,’ छलफलको कुरालाई उदृत गर्दै उनले भने ।

विज्ञहरुको कुरा सुनेपछि नेता श्रेष्ठले सरकारलाई सोही अनुसार सल्लाह दिने बताएका थिए । छलफल विहान साढे ८ देखि साढे १० बजेसम्म चलेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *