पर्वत : अस्पतालको शवगृहको गन्धले वातावरण प्रदूषित

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, २० असार । जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध पैmलिने गरेको छ ।

पूर्वाधार बिनाको शवगृहमा शवलाई केही दिन सुरक्षित गरेर नबिग्रने र गन्ध नआउने किसिमले राख्न नसक्दा दुर्गन्धबाहेकका अरु समस्या पनि देखिएका छन् । गर्मी बढेसँगै जिल्ला अस्पताल, कुश्मा, पर्वतको बाटो हुँदै हिँड्ने र अस्पतालको छेउमा रहेको शवगृहको आसपासमा रहेका स्थानीयलाई समेत बस्न नै असहज भएको छ ।

अस्पतालमा शवलाई व्यवस्थित गरेर राख्ने कुनै पनि पूर्वाधार नहुँदा खुला चौरमा राखेझैँ गरी घाम र पानी ओत्ने मात्र छाप्रोमा शव राखिने गरिएको छ । कतिपय शवको पहिचान नहुने वा ढिलो गरी हुने कारण शवगृहमा नै शव कुहिने र दुर्गन्ध आउने कारण अस्पतालको वायु नै दूषित बनेको छ ।

अस्पताल छेवैमा बस्दै आएका रामबहादुर नेपाली भन्नुहुन्छ “लासको गन्ध सिधै भान्छामा आउँछ, मुखमा गाँस हालेको बेला त आन्द्रा नै फर्किएलाजस्तो हुन्छ । झन् गर्मी लाए’सी त बसिसक्नु छैन । बाटो हिँड्दा नि गन्हाउँछ । बस्ती र लासघर एकै ठाउँमा छन्, पूरै कुहिएको गन्ध घरभित्रै पस्छ, बस्नै गाह्रो भएको छ ।”

कतिपय शव बेवारिसे अवस्थामा भेटिन्छन् र पहिचान र परीक्षणका लागि धेरै दिनसम्म शवगृहमा नै रहन्छन् । तर, अवस्था यस्तो छ कि पहिचान हुने अवस्थामा भेटिएका शव पनि शवगृहमा ल्याएपछि हाड र मासु छुट्टिने गरी सड्छन् अनि भेटिएको अवस्थामा भन्दा झनै पहिचानै गर्न नसक्ने बन्छन् ।

जिल्ला अस्पताल, पर्वतमा कार्यरत प्रहरी जवान पूर्णबहादुर भण्डारीका अनुसार अस्पतालमा ओपिडीमा उपचारका लागि जाने बिरामी पनि दुर्गन्धले आजित छन् । भण्डारी भन्छन्“औषधि केही छैन, फ्रिजिङको सिस्टम पनि छैन । फिनेल छर्केर मात्र काम गरिन्छ । बेवारिसे शव भेटियो भने त झन् पाँच÷सात दिनसम्म राख्दा ल्याउँदा चिनिने शव पनि पूरै बिग्रेर डढेकोजस्तो हुन्छ । धेरै लासमा किरा पर्दा पनि मैले मास्क र पञ्जा लगाएर फिनेल छर्केको भरमा परीक्षणमा जाने गरेको छु ।”

जिल्ला अस्पतालमा शवलाई जोगाएर राख्ने चिस्यान प्रविधि निर्माणका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन । यद्यपि आफूले भने अस्पतालमा डिफ्रिजिङको व्यवस्था गर्न बारम्बार पहल गरिरहेको र नगर प्रमुखसँग कुरा गरिरहेको बताउछन् अस्पताल विकास समितिकी अध्यक्ष राधाकुमारी कुँवर क्षेत्री । शवगृहको व्यवस्थापनका लागि आफूले निरन्तर पहल गरिरहेको र नगरपालिकामा पनि यस विषयमा आफूले माग गरिरहेको उनको दाबी छ ।

कुश्मा नगरपालिकाले हालै मात्रै पारित गरेको नीति तथा कार्यक्रममा जिल्ला अस्पताललाई ५० श्ययाको बनाउने भनेको भए पनि शवगृह व्यवस्थापनका लागि कुनै सम्बोधन गरिएको छैन । तर, नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछानेले अस्पतालको विकासका लागि श्यया मात्र नभएर शवगृहसहित अन्य व्यवस्थापन पनि नगरपालिकाले गर्ने बताइन।

उनले भनिन्, “अस्पताललाई ५० श्ययाको बनाउँदैमा अस्पतालको व्यवस्थापन हुँदैन । श्यया थपसँंगै अन्य सबै कुराको व्यवस्थापन गरिन्छ । नगरपालिकाको नीति तथा कार्यक्रममा शवगृह व्यवस्थापन भन्ने शीर्षक नै राख्नुपर्छ भन्ने होइन, त्यो काम हामी गर्छौं ।”

जिल्ला अस्पतालमा शवगृहको प्रविधिमात्र नभएर बेवारिसे शवको व्यवस्थापनका लागि पनि अन्यौल देखिने गरेको छ । अस्पताल प्रशासनले प्रहरीले शव व्यवस्थापन गर्छ भन्ने मनसाय राखेर शवसम्बन्धी काममा त्यति धेरै वास्ता गर्दैन भने प्रहरीको जिम्मेवारी शवलाई सुरक्षा दिनु हो ।

बेवारिसे शवको व्यवस्थापनको मुख्य जिम्मेवारी नगरपालिकाको भएका कारण नगरपालिकाले यस विषयमा विशेष चासो राख्नुपर्ने प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *