डा. केसीको समर्थनमा कर्णालीका डाक्टरद्धारा ओपिडी बहिस्कार

जुम्ला १९ असार । चार दिन देखि आमरण अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै कर्णाली प्रदेश अन्तरगर्तका ५ वटा जिल्लाका डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघ कर्णाली शाखाको आवहानमा ती जिल्लाहरुमा ओपिडी सेवा ठप्प पारेका हुन् ।

सेवा ठप्प हुने जिल्लाहरुमा जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट रहेका छन् । बाँकी ५ वटा जिल्लाहरु जाजरकोट, दैलेख, सल्यान, रुकुम पश्चिम र सुर्खेत मध्ये केहीमा आजै देखि र केहीमा भोलिबाट सेवा ठप्प हुने बुझिएको छ ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै गत शुक्रबार जुम्ला पुगेका डा केसीलाई स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न रोक लगाएको थियो । त्यसका बाबजुत डा केसीले अनशन शुरु गरेपछि प्रशासनले जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा लगेर राखिदिएको छ ।

चिकित्सकहरुले कवर्डहलको चिसो छिडीमा राख्दा डा केसीको जीवन खतरा पर्ने भन्दै तत्काल प्रतिष्ठानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनसंग माग गरेका थिए । प्रशासनले सो मागको सुनुवाई नगरेपछि सेवा ठप्प पारेका हुन् ।

प्रतिष्ठानका डाक्टर भुमेश काफ्लेले प्रतिष्ठानसहित कर्णालीका चार जिल्लामा विहानै देखि ओपिडी सेवा ठप्प भएको बताए । उनले अरु जिल्लाबाट समेत ऐकेवद्धता आएको जानकारी दिए । अहिले प्रतिष्ठानबाट डाक्टर नर्स सहितको टोली अनशनस्थल तर्फ अघि बढ्दै छ ।

यता स्थानीय प्रशासनले भने अत्यावश्यक ऐन अन्तरगर्त अस्पतालमा अनशन बस्न नपाइने स्पष्ट पारेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले आज सूचना जारी गर्दै चिकित्सकहरुलाई सेवामा खटाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र पठाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *