सर्वोच्चको आदेश विपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण

काठमाडौं, १९ असार । कान्ति बाल अस्पतालमा उपचाररत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाइरसविरुद्धको खोप परीक्षण भइररहेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले झाडापखालको उपचारका लागि अस्पतालमा ल्याइएका बालबालिकामा झन्डै दुई वर्षदेखि उक्त भ्याक्सिन परीक्षण गर्दै आएको छ ।

तर, भ्याक्सिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केही जानकारी छैन । कानुनतः अस्पतालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपूर्ण औषधिको परीक्षण गर्न पाइन्छ ।

सर्वोच्च अदालतले गत बिहिबार मात्रै परीक्षण नगरिएका खोप तथा औषधि प्रयोग नगर्न सरकारको नाममा आदेश जारी गरेको थियो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश जारी गरेको हो । सरकारलाई नागरिकको स्वास्थ्यमा गम्भीर हुनुका साथै संवेदनशील विषयमा प्रमाणित भएका र अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका औषधि मात्रै प्रयोग गर्न सर्वोच्चले निर्देशन दिएको थियो ।

कान्ति अस्पतालका निर्देशक डा. गणेशकुमार राइले रोटो भाइरसविरुद्धको भ्याक्सिन ‘ट्रायल’ भइरहे पनि औपचारिक रुपमा थाहा नभएको बताए । ‘पूर्वनिर्देशक डा. अजित रायमाझीको पालामा सुरु भएको हो । मलाई त कसैले यसबारे औपचारिक जानकारी पनि दिएको छैन, हल्ला सुनेको मात्रै हो । कति बालबालिकामा परीक्षण गरे, कस्तो परिणाम आयो भन्नेबारे रायमाझीसँगै बुझ्नू’, उनले भने ।

कान्तिका अनुसन्धान विभाग प्रमुख डा. कैलाश शाह पनि ट्रायलबारे थाहा नभएको बताए । ‘अनुसन्धान विभाग प्रमुख भए पनि मलाई भ्याक्सिन ट्रायलबारे कसैले जानकारी गराएको छैन । कम्तीमा निर्देशकलाई त थाहा दिनुपर्ने हो । उहाँलाई पनि थाहा दिइएको रहेनछ’, उनले भने ।

भ्याक्सिनले बटार्छ बालबालिकाको आन्द्रा
रोटा भाइरसविरुद्धको खोपले साना केटाकेटीको आन्द्रा बटार्ने चिकित्सकहरूले बताएका छन् । भ्याक्सिनको साइड इफेक्टबाट आन्द्रा बटारिए तत्काल अप्रेसन गर्नुपर्ने र अप्रेसन गर्न नसके आन्द्रा नै कुहिएर बच्चाको मृत्यु हुन सक्ने कान्ति अस्पतालका निर्देशक डा. गणेश राईले बताए । तर, उनका अनुसार आन्द्रा बटारिने समस्या थोरै बालबालिकामा मात्रै देखिएको छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा अर्जुन पौडेल, अर्जुन अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *