दाङ : सिकलसेल नियन्त्रण गर्न स्थानीय तहको भूमिका

दाङ, १४ असार । विशेष गरी थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाको पहिचान गरी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

दंगीशरण गाउँपालिका वडा नं ३, ४ र ५ का बासिन्दालाई लक्षित गरी बुधबार भएको सिकलसेल एनिमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् ।

दाङका दशवटै स्थानीय तहले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ थियो । थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सिकलसेल एनिमिया रोगको पहिचान गरी न्यूनीकरण गर्न गाउँपालिकाले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानका सहायक डीन डा राजेश्वर अर्याल, दंगीशरण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर चौधरी, हेकुली स्वास्थ्य चौकीका इञ्चार्ज टेकबहादुर खत्री, सिएमए संघ, दाङका अध्यक्ष मुकेशकुमार बुढाथोकीलगायतले रोगको न्यूनीकरणमा सबैको भूमिका हुनुपर्ने बताएका थिए ।

हेकुली स्वास्थ्य चौकीमा भएको कार्यक्रममा वडा नम्बर ३, ४ र ५ का गरी ५० जनाको सहभागिता रहेको थियो । सिकलसेल एनिमियाको परिचय, लक्षण, परीक्षण, उपचारलगायतका विषयमा जानकारी गराइएको थियो जसको प्रशिक्षकमा डा राजेश्वर अर्याल, ल्याब टेक्निसियन विजयकुमार चौधरी, रमेश पछलदंग्या थारु रहेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *