शल्यक्रिया कक्षमा नर्सको भान्सा !

वीरगञ्ज, १० असार । पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्सहरू सुत्ने कोठा र खाना पकाउने भान्साका रूपमा ती कक्ष प्रयोग हुने गरेका छन् । अपरेसन थिएटरका पाँचैवटा कोठामा नर्सहरूले सुत्ने र खाना पकाउने भान्सा घरका रूपमा प्रयोग गरेका हुन् ।

अस्पतालमा सर्जन डाक्टर नभएका कारण, निर्माण भएको पाँच वर्षयता शल्यक्रिया विभाग सञ्चालनमा नआउँदा अपरेसन थिएटरका कोठा नर्सहरूले आवास र भान्सा घरका रूपमा प्रयोग गर्दै आएका हुन् । नर्सका लागि निर्माण गरिएको आवास भवन भने डाक्टरहरूले प्रयोग गर्दै आएका छन् ।

‘डाक्टरहरूको क्वार्टर बनिरहेको छ’, अस्पतालका निमित्त मेसु डाक्टर अनिल यादवले भने, ‘त्यसैले नर्स क्वार्टरमा डाक्टर बसेका छन् । नर्सहरूलाई भने अहिले काम चलाउका लागि मात्रै अपरेसन थिएटरमा सुत्ने र खाना पकाउने व्यवस्था मिलाइएको हो ।’

शल्यक्रिया विभाग सञ्चालनमा नरहेकाले नर्सहरूको आवासका लागि प्रयोग गरिएको र डाक्टरहरूको आवास बनिसकेपछि डाक्टरहरू त्यहाँ बस्ने र नर्सहरू उनीहरूका लागि बनाइएको अवासमा सर्ने यादवले जानकारी दिए ।

अस्पतालमा डाक्टर, नर्स, अहेब, अनमी, सिएम गरी २५ जना कार्यरत रहे पनि आवास भवन निर्माण नभएका कारण काम चलाउका रूपमा अस्पतालका विभिन्न कोठाहरू प्रयोग गर्नुपर्ने बाध्यता रहेको निमित्त मेसु यादवले बताए ।

तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई करोड ५० लाख ८८ हजार खर्च गरी २०६९ साल पुसदेखि जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गरिएको पोखरीया अस्पतालमा एकजना पनि सर्जन डाक्टर नभएकै कारण शल्यक्रिया विभाग सञ्चालनमा आउन नसकेको यादवले बताए ।

एक जना मेसुसहित तीन जना एमबीबीएस डाक्टरको स्थायी दरबन्दी रहेको अस्पतालमा हाल करारसहित ६ जना डाक्टर कार्यरत छन् । तीमध्ये एक जना पनि विशेषज्ञ डाक्टर नभएकाले बिरामीको उपचारमा समस्या भएको निमित्त मेसु यादवले बताए ।

‘अहिले कार्यरत सबै ६ जना डाक्टर जनरल फिजिसियन मात्रै हुन्’, उनले भने, ‘यी ६ जनामध्ये एक जना पनि सर्जन छैनन्, जसका कारण जटिल प्रकारका बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएको छ ।’

सर्जन डाक्टर नहुँदा सुत्केरीका लागि प्रसुति विभागमा आउने महिलालाई पनि शल्यक्रिया गर्नुपर्ने अवस्था देखियो भने अन्यत्र पठाउने गरिएको उनले बताए ।

सर्जन डाक्टरका लागि स्वास्थ्य मन्त्रालयमा पटक पटक पत्रचार गर्दा पनि कुनै सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष रामनारायण चौहानले बताए । ‘म आफै धेरै पटक मन्त्रालयमा धाइसकें’, उनले भने, ‘तर कोही पनि सर्जन डाक्टर यहाँ आउन मान्दैनन् । मन्त्रालयले पनि हाम्रो गुनासो सुनेको छैन ।’

पूर्वाधारयुक्त पोखरीया जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी बस्ने वार्ड तथा शौचालय सरसफाइ अभावमा लथालिंग जस्तै छन् ।

अस्पतालको स्टोर शाखामै बेड राखेर बिरामीको उपचार गर्ने गरिने गरिएको छ । तर स्टोर शाखाको उक्त कोठा र त्यहाँ राखिएका शैय्या ९बेड०हरू धुलो र फोहोरको रछ्यानले भरिए पनि बिरामीलाई त्यस्तै बेडमा राखेर उपचार गर्ने गरिएको स्थानीय धर्मेन्द्र चौरसियाले जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष रामनारायण चौहानले भने आफ्नो कार्यकालमा अस्पतालमा पहिलेको भन्दा व्यापक सुधार भएको दाबी गरे ।

पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले अस्पतालका समस्या आगामी दिनमा समाधान हुने बताइन् ।’

अस्पतालमा पोखरीया नगरपालिकाका साथै पर्साको ग्रामीण भेगका २० वटा गाउँका बिरामीले उपचार सेवा लिँदै आएका छन् ।

  • आजको अन्नपूर्ण पौस्ट दैनिकमा क्रान्ति साहको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *