आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल

काठमाडौँ, ९ असार । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मिएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा स्थापना गर्ने सन्दर्भमा शुक्रबार यहाँ एक छलफल कार्यक्रमको आयोजना गरियो ।

भोजपुरे सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरुले भोजपुरमै जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह गर्ने र भोजपुरमै आफ्ना भक्तहरुका साथ अरुण नदीमा सामूहिक जलसमाधि लिनुहुने योगमायाको नाममा खुल्ने विश्वविद्यालय भोजपुरमै स्थापित हुनुपर्ने विचार व्यक्त गरे ।

उनीहरुले भोजपुरमा जडीबुटी प्रशस्त पाइने, हाल यातायातको सुविधा, विमानस्थल तथा सडक यातायातको सुविधा हुनाका साथै मध्यपहाडी राजमार्गबाट समेत जोडिएको हुनाले पनि विश्वविद्यालय भोजपुरमै हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका पूर्वसल्लाहकार खेमचन्द्र ढकालले सो विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनमा आफू पनि संलग्न भए पनि कहाँ स्थापना गर्ने निक्र्योल भइनसकेको र विभिन्न आधारमा भोजपुर पनि सम्भाव्य स्थान हुनसक्ने बताए ।

कार्यक्रममा पूर्वसांसदहरु जयन्ती राई,तारा राई र शान्ति अधिकारी, पूर्वसचिव वीरेन्द्रबहादुर कार्की, समाजका पूर्वसभापति दयाकृष्ण न्यौपाने, प्राध्यापक केदार न्यौपाने, प्रा डा गोविन्दमान सिंह कार्की, रोशन श्रेष्ठ, हरि राई, पत्रकार तीर्थ भट्टराईलगायतले योगमाया भोजपुरको गौरव भएकाले योगमायाको जन्मस्थल वा भोजपुर सदरमुकाम आसपास विश्वविद्यालय स्थापना हुुनुपर्ने धारणा राखे ।

सो अवसरमा यसका लागि विभिन्न निकायसँग संयोजन गर्न समाजका अध्यक्ष पासाङदोर्ची शेर्पा, सांसद सुदन राई, तारा राई, जन्यती राई, प्रा डा गोविन्दमान सिंह कार्की, डा केदार न्यौपाने, कुलप्रसाद पराजुली, रवीन्द्र अधिकारी, शर्मिला कार्की, तीर्थ भट्टराईलगायत १९ जनाको एक संयोजन समिति पनि गठन गरिएको छ ।

छलफलमा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित भोजपुरका साल्पा सिलीछोदेखि आँमचौक गाउँपालिकाका जनताका लागि आयोजनाको शेयर र क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नेबारे पनि छलफल भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *