मेडिसिटी अस्पतालद्धारा एक्मो प्रविधि सञ्चालनमा

काठमाडौँ, ७ असार । मुटु तथा फोक्सोको जटिल अवस्थाको आकस्मिक उपचारलाई थप प्रभावकारी बनाउन नेपाल मेडिसिटी अस्पतालले एक्ट्राकोरपोरियल मेम्ब्रान अक्सीजीनेशन (एक्मो) प्रविधि सञ्चालनमा ल्याएको छ । यो प्रविधि सञ्चालनमा ल्याउने आफू पहिलो निजी अस्पताल भएको मेडिसिटीको दावी छ ।

सरकारी तर्फका बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले भने यस अघि नै यो प्रविधि सञ्चालनमा ल्याइसकेका छन् ।

मेडिसिटीद्धारा आज आयोजित पत्रकार सम्मेलनमा कार्डियाक सर्जन डा विजय राजवंशीले एक्मो प्रविधि भित्र्याउने मेडिसिटी पहिलो मल्टीस्पेश्यालिटी अस्पताल भएको दावी गरे । उनले भने, ‘गंगालाल र मनमोहनमा यो प्रविधि आएको भएपनि ती निश्चित रोगको उपचारका लागि कहलिएका अस्पताल हुन् । हामी मल्टीस्प्येश्यालिटी हौँ र एक्मो प्रविधिको प्रभावकारी प्रयोग हामीकहाँ हुनसक्छ ।’

केही दिन अघि मात्रै मेडिसिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरुले एक्मोको प्रविधिको प्रयोग गरी एलुमिनियम फोस्पाइड विष सेवन गरेकी एक महिलाको ज्यान बचाएका थिए । यो विषादी प्रयोग गरेका विरामीको मृत्युदर लगभग ९६ प्रतिशत हुन्छ तर एक्मोको सहायतमा मृत्युदरलाई ३६ प्रतिशतमा घटाउन सकिने चिकित्सकहरु बताउछन् ।

अस्पतालका मेसु डा राज राणाले नेपालमा प्रारम्भिक चरणमै रहेको यो उपचार पद्धतीलाई मेडिसिटीले सशक्त ढंगले उपयोग गर्ने बताउँदै गुणस्तरी सेवा प्रदान गर्न आफूहरु कटिवद्ध रहेको दोहोरयाए ।

असम्भव जस्तै मानिने जटिल न्युमोनिया, स्वाइनफ्लु, वर्ड फ्लुका साथै पानीमा डुवेकाहरुको आकस्मिक उपचारमा अरु देशमा एक्मो सहायताका माध्यमबाट उपचार हुने गरेको चिकित्सकहरु बताउँछन् ।

के हो एक्मो प्रविधि ?
एक्मो प्रविधिले विशेष उपचारमा रहेका विरामीहरुको हृदय र फोक्सोका कार्यहरु आकस्मिक रुपमा अस्थायी सहयोग समर्थन प्रदान गर्दछ । यस प्रविधिले बाहिरी पम्पहरु र ओक्सीजनेटरको सहायताले रगतबाट कार्वन डाइअक्साइड हटाई यसलाई अक्सिजनको मात्रा बढाएर रक्तसंचार सहि बनाउन मद्धत गर्दछ । यो उपकरणले मुटु, फोक्सो वा दुवै अंगहरुलाई सहयोग पुरयाउन सक्षम छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *