स्वास्थ्य चौकीको शौचालय बाहिर कण्डम बक्स राखेपछि ….

पाल्पा, ७ असार । पूर्वखोला गाँउपालिका – ५, स्थित बीरकोट स्वास्थ्य चौकीले परिवार नियोजनको अस्थायी साधन कण्डम बक्स शौचालय भित्र राखेको छ । स्वास्थ्य चौकी आउने पुरुषहरुले मुल गेट बाहिर राखिएको कण्डम बक्सबाट कण्डम झिक्न लजाउने गरेपछि भित्र पट्टी रहेको शौचालयमा कण्डम बक्स झुण्ड्याइ दिएको छ ।

शौचालयमा कण्डमबक्स राखिदिएपछि कण्डम लैजाने दर बढ्न थालेको गाँउपालिकाका स्वास्थ्य सह इन्चार्ज मोहन ढकालले बताए ।

‘खासमा पहिले हामीले स्वास्थ्य चौकी छिर्दा छिर्दै सबैले देख्ने ठाँउमा निशुल्क रुपमा वितरण गरिएको कण्डम बक्स राखेका थियौँ । तर सबैले देख्ने सो ठाँउबाट कण्डम झिक्न पुरुषहरु लजाएको पाइयो । अहिले हामीले शौचालय भित्र सो बाकस राखिदिएका छौँ । अब लजाउने पुरुषहरुका लागि कण्डम झिक्न निकै सहज भएको छ । कण्डम लैजाने दर समेत बढेको छ,’ ढकालले भने ।

त्यसो त पूर्वखोला गाँउपालिकाले स्वास्थ्यमा यसअघि पनि नयाँ नयाँ पद्धतीको शुरुवात गर्दै आएको छ ।

यो गाँउपालिका ८० बर्ष माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मात्रै होइन सबै वडाहरुमा बर्थिङ सेन्टर पुर्उने समेत जिल्लाकै पहिलो गाँउपालिका हो ।

‘अबको हाम्रो योजना गर्भवती जाँच गर्न आउने महिलाहरुलाई हरेक पटक २ वटा अण्डा र फलफुल वितरण गर्ने रहेको छ । बर्षमा एक पटक जाँच गरिने गरिएको ८० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण ६ ६ महिनामा गर्ने योजना गरिएको छ । नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिनेछ,’ सीअहेव समेत रहेका सह संयोजक ढकालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *