सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न पूर्वखोला गाँउ पालिकाले विशेष अभियान थाल्ने

पाल्पा, ६ असार । पूर्व खोला गाँउ पालिकाले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि विशेष योजना अघि सार्ने बताएको छ । नसर्ने रोगको प्रकोप बढाउने सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न गाँउ पालिकाले विशेष योजना अघि सार्ने बताएको हो ।

सञ्जीवनी हेल्थ मिडियाले गत सोमबार सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धि कानूनबारे आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा गाँउ पालिका अध्यक्ष नुनबहादुर थापाले यस्तो बताएका हुन् ।

उनले पहिलो पुस्ता सूर्तिजन्य पदार्थको प्रयोग गर्दा हुने हानीबारे थाह नपाएरै यो कुलतमा फसेको, दोस्रो यो कुलतको प्रकोप केही नियन्त्रणमा आएको तर अहिलेको तेस्रो अर्थात नाती पुस्ताले यसलाई फेसन र शानको रुपमा अंगाल्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले धूमपान नियन्त्रण गर्न गाँउपालिकाले आउँदो बर्षको बजेटमा विशेष योजना बनाउने बताए । यसका लागि संघीय सरकारको कानूनको अलावा स्थानीय तहमा छुट्टै कानूनको व्यवस्था गर्ने समेत उनले बताए ।

गाँउपालिकाका प्रशासकिय अधिकृत हरिप्रसाद पौडेलले सूर्ति नियन्त्रण सम्वन्धि कानून आएको धेरै समय भएपनि स्थानीय तहमा त्यसको जानकारी कम भएको भन्दै पहिले सचेतना कार्यक्रम अघि बढाउने र त्यसपछि कार्वाहीको तयारी सुरु गर्ने बताए ।

‘सरकारी कार्यालय, विद्यालय, मन्दिर, चौतारो आदि सार्वजनिक स्थललाई धूमपान निषेधित क्षेत्र हुन् । यी मध्ये कतिपय स्थानमा धूमपान निषेध समेत भएको छ । तर सबै ठाँउमा निषेध भएको छैन । यस्तै गर्भवती महिला, १८ बर्ष मुनिका बालबालिका आदिलाई खरीद विग्री र प्रयोग गर्न नदिने कानूनको कडाईका साथ लागू गर्ने योजनामा छौँ,’ उनले भने ।

उद्बुद्ध कलेजका प्रमुख सुशील न्यौपानेले नयाँ पुस्ताहरुमा चुरोट र खैनीको सेवनदर बढेको पाएको भन्दै कलेज हाताभित्र आफूहरुले कडाईका साथ निषेध गरेको बताए । स्कुल तहका विद्यार्थीहरुमा चुहिले चुरोट सहित पुकार, भोला, जस्ता सूर्तिजन्य पदार्थको प्रयोग दर बढीरहेको हामीले पाएका छौँ । हामी अहिले पनि संकास्पद गतिविधी गर्नेको कक्षामा नै खान तलासी समेत लिने गर्छौ ,’  तर अव यसमा गाँउपालिकाले सक्रियता देखाउनु पर्छ ।

स्वतन्त्र विद्यार्थी युनियनको अगुवाई स्थानीय तहमा सूर्तिनियन्त्रण सम्वन्धी अभियान चलाएको स्मरण गर्दै उनले सो कार्यलाई थप सशक्त गराउन सहयोग गर्ने समेत बताए ।

उद्धबुद्ध माविका सह प्रध्यानध्यापक हरिप्रसाद न्यौपानेले भावि पुस्तालाई कुलतबाट जोगाउन सूर्ति नियन्त्रण सम्वन्धी नियम कडाईका साथ लागू हुन आवश्यक रहेको बताए । उनले यो अभियानमा अभिभावक, तथा आम सर्वसाधारणको सहयोग आवश्यक रहेको समेत जानकारी दिए ।

कार्यक्रममा नेपाली हेल्थ डटकमका पत्रकार रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थलाई नियन्त्रण गर्न संघीय सरकारले बनाएको कानूनी व्यवस्था, यसले हुने हानी र गाँउपालिकाले गर्न सक्ने कार्यको बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा अन्य जनप्रतिनिधि, कर्मचारी , शिक्षक, सामाजिक अगुवाहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *