सुत्केरी अवस्थामा हुने डिप्रेसन के हो र कसरी समाधान गर्ने ?

ममता भट्टराई, मनोविमर्शकर्ता
  • ममता भट्टराई

कतिपय महिलाहरुमा सुत्केरी अवस्थामा विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्या देखापर्न सक्दछ । सुत्केरी अवस्थाका महिलाहरुलाई छ महिना भित्र देखिने डिप्रेसनलाई सुत्केरी अवस्थामा हुने डिप्रेसन (Post Partum Depression) भनिन्छ ।

सुत्केरी भएका १० देखि २० प्रतिशत महिलाहरुमा यो समस्या भएको पाइएको छ ।

यस समस्यामा प्रभावित महिलाहरुको शरीरमा एक्कासी इस्ट्रोजेन हर्मोनको कमी हुन गई मस्तिष्कमा पाइने आवश्यक रसायनिक तत्वहरुमा गडबडी हुन जान्छ । फलस्वरुप प्रभावित महिलाहरुको मस्तिष्कमा असर पर्न गई Post Partum Depression हुने गर्दछ ।

 डिप्रेसन हुनुका प्रमुख कारणः

  • आफूले इच्छाएको भन्दा फरक बच्चा जन्मिएमा अर्थात् इच्छा विपरीत छोरा वा छोरीको जन्महुँदा,
  • सुत्केरी अवस्थामा घर परिवारको पर्याप्त माया–ममता, साथ–सहयोग नपाएमा,
  • पटक–पटक गर्भपतन गराएमा,
  • अपाङ्गता भएको बच्चा जन्मिएमा,
  • पेट भित्र बच्चाको मृत्यु भएमा महिलाहरुलाई यो समस्या देखिन सक्दछ ।

लक्षणहरुः
यस समस्याबाट प्रभावित महिलाहरुमा

  • प्रायजसो बच्चा जन्मेको दुई हप्ता पछि आलस्यता बढ्दै जाने,
  • केही कुरामा जाँगर नहुने,
  • अधिकांश समय उदास हुने,
  • स–साना कुराहरुमा पनि दिक्दारी लाग्ने,
  • नकारात्मक सोच आउने, अनावश्यक रोइरहने,
  • बढी रिसाउने, निन्द्रा नलाग्ने,
  • खानामा अरुची हुने, आत्महत्याको सोच आउने,
  • आफ्नो शिशुलाई हानीहुने कार्य गर्ने जस्ता लक्षणहरु देखिन्छन् ।

यस अवस्थामा परेका कतिपय महिलाहरुले आफ्नो नवजात शिशुको हत्या गरेको उदाहरण समेत पाइन्छ । यस्तो अवस्थामा आफ्नो बच्चालाई दुध ख्वाउन मन नगर्दा दूध जमेर स्तन संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ ।

सुत्केरी अवस्थामाहुने डिप्रेसन सम्बन्धी समस्याको अवधि बढीमा दुई वर्षसम्म रहने गर्दछ । यस अवधिमा आमाएवं शिशु दुवै जोखिममा रहेका हुन्छन् । यस्तो अवस्थामा प्रभावित महिलालाई सकेसम्म चाँडै उपचारका लागि मनोचिकित्सक कहाँ लैजानु पर्दछ भने मनोविमर्श सेवा (Counseling) पनि यस समस्याको समाधानमा प्रभावकारी हुने गर्दछ ।

यो समस्या एक पटक भइसकेपछि पुन : सुत्केरी हुँदा बल्झिन सक्ने सम्भावना रहने भएको हुँदा यसको रोक थामका लागि गर्भावस्था देखि नै मनोविमर्श एवं उचित उपचार गराउनु आवश्यक हुन्छ ।

घरपरिवारका सदस्यले तनाव रहित वातावरण, सकारात्मक सोच, साथ–सहयोग एवं व्यवहार प्रदान गरेको खण्डमा यस अवस्थाबाट बाहिर आउन मद्धत पुग्दछ ।

# मनोविमर्शकर्ता भट्टराई कोशिस नेपालमा आवद्ध छिन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *