नुवाकोट : सूर्यगढी खुला दिसामुक्त र पूर्ण खोपयुक्त

नुवाकोट, १ असार । यहाँको सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ ।

वडा नं २ स्थित चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सूर्यगढी गाउँपालिकालाई जिल्लाको दशौँ स्थानीयतहको रुपमा खुला दिसामुक्त क्षेत्र र चौथो पूर्णखोपयुक्त भएको घोषणा गर्नुभएको हो ।

साविकका चार गाविस लच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान समावेश गरी बनेको सूर्यगढी गाउँपालिकाभित्रका चार हजार ४२ घरधुरीमध्ये ९९ प्रतिशतले पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा सरसफाइको एक हिस्साका रुपमा रहेको खुला दिसामुक्त क्षेत्र घोषणा भएको पूर्व अर्थमन्त्री महतले घोषणा गरे ।

काँग्रेसका केन्द्रीय सदस्य महतले सरसफाइ र स्वास्थ्यप्रति जागरुक हुँदै भूकम्पले क्षति पुगेका आवास पुनःनिर्माण हुन अझै बाँकी रहँदा पक्की शौचालय निर्माण गरी सभ्य समाजका रुपमा देखिएको चेतनाले आर्थिक समृद्धि तथा विकासको गतिमा अघि बढ्न प्रेरणा पुग्ने विश्वास व्यक्त गरे ।

कार्र्र्यक्रममा गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले गाउँपालिकामार्फत प्रवाह हुने सेवामा स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट तथा कार्यक्रम ल्याइने बताए ।

यहाँका बाह्र स्थानीय तहमध्ये अब ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका मात्र खुला दिसामुक्त क्षेत्र हुन बाँकी रहेको जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ ।

यस्तै, गाउँपालिकाभित्र खोपको पहुँचमा आउनुपर्ने १६ देखि २३ महिनासम्मका २०६ जना बालबालिका सबैले तोकिएको ११ प्रकारका खोप लिएकाले जिल्लाको चौथो स्थानीयतहको रुपमा सूर्यगढीलाई पूर्ण खोपयुक्त भएको घोषणा पनि गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोपयुक्त घोषणा गर्न अझै आठ स्थानीयतह बाँकी रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *