नुवाकोट : ३५ स्वास्थ्य संस्थाको सामाजिक परीक्षण
नुवाकोट, ३१ जेठ । जिल्लाका ३५ स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरी आज प्रतिवेदन सार्वजनिक गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले सामुदायिक विकास केन्द्र ९कोडेक०मार्फत जिल्लाका स्वास्थ्य संस्थामा गरेको स्थलगत अध्ययन, भेला, प्रश्नोत्तर, सोधपुछ, तथ्यांक संकलन र विश्लेषण गरी तयार गराएको प्रतिवेदन सार्वजनिक गरिएको हो । तीस वटामा अनुगमनका रुपमा तथा पाँच वटामा पहिलो पटक सामाजिक परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन जनार्दन सिलवालले बताए ।
जिल्लाका अधिकांश स्वास्थ्य संस्थाको सेवा प्रभावकारी रुपमा सञ्चालन नभएको प्रतिवेदनमा उल्लेख छ । सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क प्रदान गर्ने भनेको ३८ थरीका औषधि र नागरिक बडापत्र नभएको, खानेपानीको समस्या, सरसफाइमा कमी, कर्मचारी अभाव, १० बजेदेखि ५ बजेसम्म सेवा दिनुपर्नेमा स्वास्थ्य संस्था अपराह्न २ बजे नै बन्द गर्नेजस्ता समस्या देखिएको सामुदायिक विकास केन्द्रका सामाजिक परीक्षक अमित गजुरेलले जानकारी दिए ।
सामाजिक परीक्षणका क्रममा तलाखु स्वास्थ्य संस्थाको सेवा सबैभन्दा प्रभावकारी रहेको पाइएको जनाइएको छ । प्रतिवेदनमा स्वास्थ्य संस्थाको सामाजिक परीक्षणपछि केही स्वास्थ्य संस्थामा सुधार भएको समेत उल्लेख गरिएको छ । तुप्चे स्वास्थ्यचौकी र समुद्रटार स्वास्थ्यचौकीमा सामाजिक परीक्षणका क्रममा गरिएको भेलामा कर्मचारी अभावको आवाज उठेकामा त्यहाँ एक एक कर्मचारी पठाइएको, ककनीमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको, प्रयोगशाला सञ्चालनमा ल्याइएको र सामरीमा १० देखि ५ बजेसम्म सेवा प्रवाह शुरु भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रसूति सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरण पर्याप्त रुपमा व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले स्वास्थ्य संस्थाको सामाजिक परीक्षणबाट आएको प्रतिवेदनअनुसार राम्रो स्वास्थ्य संस्थाको प्रचार र नराम्राको सुधार गर्नुपर्ने बताए ।
तीन महिनासम्म सञ्चालन भएको कार्यक्रममा खरानीटार, देउराली र ककनी प्राथमिक स्वास्थ्य केन्द्र, दाङसिङ, गोस्र्याङ, तारुका, काहुले, रातमाटे, दुईपीपल, कुमरी, गेर्खु, फिकुरी, काहुले, बागेश्वरी, सुन्दरादेवी, घ्याङ्फेदी, शिखरबेंसी, समुद्रटार, कविलास, भद्रुटार, थानसिङ, थानापति, किम्ताङ, साल्मे, जिलिङ, तलाखु, खड्गभञ्ज्याङ, कल्याणपुर, सामरी, लच्याङ, गणेशस्थान, तुप्चे, ओखरपौवालगायत स्वास्थ्य संस्थामा सामाजिक परीक्षण गरिएको थियो । रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com