पर्वत : तीनसय महिलाको पाठेघर परीक्षण

पर्वत, २९ जेठ । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी महिलाको पाठेघर परीक्षण गरिएको छ ।

ग्रामीण भेगका महिलालाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश नं ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका हुन् । स्थानीय माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा मल्लाज स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा महिलाको पाठेघरसम्बन्धी समस्याको पहिचान गरिनुका साथै उपचार गरिएको हो ।

शिविरमा चेकजाँचको क्रममा डेढ दर्जनभन्दा बढी महिलालाई शल्यक्रियाका लागि रिफर गरिएको मल्लाज स्वास्थ्यचौकीले जनाएको छ ।

उक्त शिविरमा महिलाको पाठेघरको उपचार, औषधि वितरण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो । शिविरको उद्घाटन गर्दै जलजला–३ का वडाध्यक्ष देवेन्द्र भण्डारीले महिलामा लाग्ने रोगको कारण पत्ता लगाउनुपर्ने बताए । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा टीकाकुमारी गुरुङले महिलालाई रोग लुकाएर एवं लाज मानेर नबस्न आग्रह गरिन् ।

उनले संसारमा महिलाको मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर दोस्रो ठूलो रोग रहेको भन्दै पाठेघरमा हुने क्यान्सरको समयमै उपचार गरेमा रोग निको हुने बताइन्।

पब्लिक हेल्थ नर्स कल्पना गुरुङले महिलामा हुने पाठेघर खस्ने समस्याको पहिचान गरेर उपचार गर्ने उद्देश्यसहित शिविर आयोजना गरिएको जानकारी दिइन्।

प्रदेश नं ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनको विशेष पहलमा सञ्चालन भएको शिविरमा जलजला गाउँपालिकाको विभिन्न वडाका महिलाले सेवा लिएका थिए । गाउँमै निःशुल्करुपमा उपचार गर्न पाएपछि विपन्न, दलित तथा जनजाति समुदायका महिला हर्षित बनेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *