अस्तव्यस्त भयो जानकी मेडिकल कलेज, त्रिविद्धारा सम्वन्धन खारेजीको चेतावनी

काठमाडौँ, २८ जेठ । उत्कृष्ट मेडिकल कलेजका रूपमा छनोट गरिएको एक वर्ष नपुग्दै जानकी मेडिकल कलेजले कर्मचारीलाई तलब खुवाउन र एमबीबीएसको परीक्षा सञ्चालन गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेजको चेतावनी दिएको छ।

त्रिविसँग सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजले कर्मचारीलाई १४ महिनादेखि तलब खुवाउन सकेको छैन। तलब र सञ्चय कोष रकम माग्दै कर्मचारी एक महिनादेखि आन्दोलनमा छन्।

परीक्षासमेत सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको जानकी मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी प्रयोगात्मक परीक्षा दिनबाट वञ्चित भएका छन्। एमबीबीएस अन्तिम वर्षमा ६५ विद्यार्थी अध्ययनरत छन्। कलेजमा विभिन्न वर्षमा करिब ३ सय ६० विद्यार्थी अध्ययनरत छन्।

त्रिवि उपकुलपति डा. तीर्थराज खनियाँका अनुसार गत वर्ष उत्कृष्ट कलेजका रूपमा लिँदै जानकीको एमबीबीएस कोटा घटाइएको थिएन। ‘कलेजको अवस्था नाजुक रहेछ। न पठनपाठन भएको छ, न परीक्षा सञ्चालन हुन सकेको छ’, उनले भने, ‘विद्यार्थीको भविष्य अलपत्र पार्ने कलेजको सम्बन्धन खारेज गर्छौं।’

डेढ महिनादेखि कर्मचारी आन्दोलित

जेठ १९ देखि असोज ३ गतेसम्म तोकिएको एमबीबीएस प्रयोगात्मक परीक्षा कर्मचारी आन्दोलनका कारण प्रभावित भएको छ। कर्मचारी र कलेज सञ्चालकबीचको टकरावका कारण आफूहरूको भविष्य बिग्रन लागेको भन्दै एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी चिन्तित छन्। एक विद्यार्थीले भने, ‘कलेज व्यवस्थापकको लापरवाहीले भविष्य अन्धकार बनिसक्यो।’

तलब माग्दै कर्मचारीले पटकपटक आन्दोलन गर्दा ४० प्रतिशत पनि पढाइ भएको छैन। कलेज सञ्चालकको लापरवाहीले विद्यार्थीहरू परीक्षा दिन नपाएको कर्मचारी हकहित संघर्ष समितिका संयोजक उमेश यादवले बताए। ‘विद्यार्थीको भविष्य बनाउने कर्मचारीको कर्तव्य हो। परीक्षाका लागि अस्पताल सञ्चालन गर्न तयार छौं’, उनले भने, ‘तर कलेज सञ्चालक सम्पर्कमा आउनुप¥यो।’

कलेज सञ्चालक सम्पर्कविहीन

कलेजका सञ्चालकहरू दुई साता अघिदेखि सम्पर्कविहीन छन्। कर्मचारी आन्दोलनले गर्दा कलेजका क्यान्टिनसमेत बन्द छ। होस्टलमा खाना खान पनि समस्या भएपछि विद्यार्थी घर गएका छन्। प्रयोगात्मक परीक्षाका लागि जेठ १८ मा विद्यार्थी कलेज फर्किएका थिए।

प्रयोगात्मक परीक्षा नभएपछि पुनः उनीहरू घर फर्किएका छन्। केही विद्यार्थी अझै होस्टलमा छन्। उनीहरू आफैं खाना पकाएर खान बाध्य छन्। कलेजका प्रबन्ध निर्देशक राजेश थापा सम्पर्कविहीन छन्। जेठ १२ गतेदेखि कलेजका अध्यक्ष डिल्लीराज पौडेल, प्रबन्ध निर्देशक थापा र अस्पताल निर्देशक प्राडा। परशुराम मिश्रा सम्पर्कविहीन छन्।

अध्यक्ष पौडेल पहिलेदेखि नै काठमाडौंमै बस्थे। प्रबन्ध निर्देशक थापा र अस्पताल निर्देशक मि श्रा कलेज हातामै बस्थे। तर उनीहरू जेठ १२ गते राति एकाएक गायब भएको कर्मचारी संघर्ष समितिका संयोजक यादवले दाबी गरे। अधिकांश कर्मचारी अध्यक्ष पौडेललाई चिन्दैनन्। अध्यक्ष भएपछि पौडेल एक पटक मात्र कलेज आएका थिए।

  • आजको अन्नपूर्ण पोष्टमा दिनेश गौतम र सन्तोष यादवले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *