स्वास्थ्यकर्मीको तलव समस्या सुल्झिदै,अभाव भएको ५३ करोड रुपैयाँ अर्थद्धारा निकासा

काठमाडौँ, २५ जेठ । स्थानीय निकायमा कार्यरत स्वास्थ्यकर्मीको तलव समस्या सुल्झिने भएको छ । अर्थ मन्त्रालयले अपुग भएको भनिएको तलव बापतको ५३ करोड रुपैयाँ हिजो निकासा दिएपछि यो समस्या सुल्झिने भएको हो ।

स्वास्थ्य मन्त्रालयका नीति योजना शाखाका उपसचिव भक्तराज जोशीले स्वास्थ्यकर्मीकै तलवका लागि अभाव भएको ५३ करोड रुपैयाँ अर्थले निकासा गरेपछि असारसम्मकै लागि तलवको समस्या नहुने बताए ।

समायोजन पछि स्थानीय निकाय अन्तरगर्त रहेका स्वास्थ्यकर्मीले तलव नपाएपछि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा पुष्पा चौधरी लगायतको ध्यानाकर्षण गराउँदै आएका थिए । कतिपय स्थानमा स्वास्थ्यकर्मीहरु धर्ना बस्न समेत थालेका थिए ।
मन्त्रालयका उपसचिव जोशीका अनुसार स्थानीय निकायमा कार्यरत स्वास्थ्यकर्मीको तलवको लागि मात्रै ९ अर्व अनुमान गरिएको थियो । त्यसमध्ये स्वास्थ्यले ६ अर्व रुपैयाँ शुरुमै पठाएको थियो । त्यस लगत्तै पहिलो किस्ता २२ करोड र पछि ५८ करोड गरी ८० करोड रुपैयाँ थप पठाएको थियो । ‘पछिल्लो पटक ५३ करोड रुपैयाँ नपुग जस्तो देखियो । त्यो पनि हामीले हिजो निकासा पाएका छौँ । सम्भवत एक दुई दिन भित्र स्थानीय निकायको खातामा गैहाल्छ,’ जोशीले भने । 

उनले स्थानीय निकायहरुले पहिलो पटक स्वास्थ्यको संयन्त्र परिचालन गरेकोले केही समस्या देखिएको बताए । कतिपय स्थानमा स्वास्थ्यका सामान्य बजेट विकास निर्माणमा खर्च गरेकाले पनि समस्या आएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *