एक युवा डाक्टरको दैनिकी : ‘बिरामीसंग यसरी बित्दछ मेरो बाह्र घण्टा’

– डा. अनिमेश जोशी, अर्थोपेडिक सर्जन

पेशाले म अर्थोपेडिक सर्जन । पुल्चोकस्थित निदान अस्पतालमा ‘फुलटाइमर’ । तर विहान बेलुका म अरु तीनवटा अस्पतालमा पनि बिरामीलाई सेवा दिन पुग्दछु । यी तीन वटा अस्पतालको समेत कार्य समय जोडदा म हरेक दिन १२/ १३ घण्टा बिरामीकै सेवामा तल्लिन हुन्छु । कहिलेकाँही अप्रेशन लम्विदा यो समय अझ बढी पर्न जान्छ ।

र,  यो पनि भनिहालौँ, मेरो जस्तै दैनिकी शहरी क्षेत्रमा क्रियाशिल अधिकाशं युवा डाक्टर र नाम चलेका डाक्टरको हुने गरेको छ ।

मेरो दैनिकी यसरी शुरु हुन्छ

बिरामी हेर्दै गर्दा हामीले कतिपय बेला भन्ने गर्दछौँ । ‘तनाव कम लिनुहोला ! धेरै धपेडी नगर्नु होला !’

तर,  कहिलेकाँही लाग्छ यहि कुरा हामी आफूले आफ्नो जीवनमा कति लागू गरेका छौँ ? खैर यी कुरा पर छाडौँ । आज मेरो आफ्नो दैनिकी सुनाउँछु :

मेरो घर सिनामंगल । म हरेक विहान ६ – ६ :३० बजे तिर उठ्छु । उठे पछिका नियमित कर्म पछि आमाले बनाएको कफि पिउँछु । एउटा अण्डा पनि खान्छु । त्यसपछि घर नजिकैको नोवेल अस्पताल सिनामंगल जान्छु ।

सिनामंगलमा मेरो समय साढे ८ देखि ९ बजेसम्म हो । त्यसपछि म ड्राइभ गर्दै निदान तिर हुईकिन्छु । मेरो दिउसोको डिउटी अर्थात विहान १० देखि साढे २ बजेसम्म म निदानमा हुन्छु । निदानमै रहँदा मैले टाइम मिलाएर लन्च पनि  लिन्छु ।

निदानबाट दिउसो साढे दुई बजे तिर निस्केर म गोदाबरी जान्छु । त्यहाँ भर्खरै खुलेको हस्पिटल छ मिडसिटी भन्ने । त्यहाँ विरामीको चापको आधारमा रहन्छु र फुर्सद मिल्यो भने म पुन नोवेल हस्पिटल सिनामंगल नै पुग्छु ।

यतिवेलासम्म अपरान्ह ५ बजिसकेको हुन्छ । त्यसपछि म त्यहाँबाट निस्कन्छु र धापाखेलस्थित सुमेरु अस्पताल जान्छु । सुमेरुका लागि मैले बेलुका साढे ५ देखि ७ बजेसम्मको समय छुट्याएको छु । तर घर आइपुग्दा प्राय ८ साढे आठ बज्दछ । मैले बेलुकाको खाना घरमै खाएर ११ बजेतिर निदाइसक्छु ।

शुक्रबार सुमेरु जान्न । हरेक साताको शनिबार मेरो विदा हो । तर निदान र नोवेलमा म ‘अनकल डिउटी’मा समेत रहेकोले सधै विदा हुन्छ भन्ने हुन्न । जुनसुकै बेला जुनसुकै दिन पनि इमरजेन्सी परयो भने डिउटीमा कुद्नुपर्छ ।

चारवटै अस्पतालमा गरेर मेरो दैनिक विरामी औषत ३५ – ४० जना हुनुहुन्छ । यसबाहेक म हप्तामा दुर्ईपटक जस्तो शल्यक्रियामा समेत सहभागी हुनुपर्छ । शल्यक्रियाका वेला भने मेरो डिउटी १२ – १३ घण्टा भन्दा बढी पनि लम्बिन सक्छ ।

परिवारलाई समय :

३२ बर्षको भएँ । विवाहित हुँ । घरमा बुबा आमा श्रीमतीसहितका परिवारका सदस्यहरु हुनुहुन्छ । कहिलेकाँही घरका सदस्य तथा आफन्तहरुले मेरो हतारो र बेफुर्सदलाई कम गर्न भन्नुहुन्छ । उहाँहरुको इच्छा भनाई र इच्छा स्वभाविक पनि हो, मैले राम्ररी बुझेको पनि छु ।

तर यो उमेरमा नगरे कहिले गर्ने ? अव त बानी मात्रै होइन परिस्थितिले पनि बेफुर्सद हुने बनायो जस्तो लाग्छ । त्यसैले मैले उहाँहरुको भनाईलाई आत्मसात गर्दै आफ्नो ‘कन्भिन्सिङ पावर’ प्रयोग गरी आफ्नो उही डिउटीलाई नियमित गर्दै आएको छु । यद्धपी कहिलेकाँही विदा निकालेर परिवार तथा श्रीमतीसंग घुमघाममा निस्कन्छु ।

मेरो मान्यता : डाक्टर विरामी सम्वन्ध पहिलो प्राथमिकता !

डाक्टरको लापरबाही भन्दै विरामीका आफन्तद्धारा नाराबाजी, अस्पताल घेराउँ, चिकित्सक तथा स्वास्थ्यकर्मी माथि दुव्र्यहार यस्ता शीर्षकका समाचारहरु प्राय हरेक दिन पढ्न पाइन्छ ।

यसले डाक्टर विरामी सम्बन्धलाई अलि धुमिल पारेको हो कि जस्तो लाग्छ मलाई । तर मेरो मान्यता भने डाक्टर विरामी सम्वन्ध राम्रो हुनुपर्छ भन्ने छ । मैले त्यो प्रयास गरेको छु र अहिलेसम्म सफल नै भएको छु ।

मैले नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेँ । त्यहिबाट एमएस सक्काएँ । त्यसपछि थाइल्याण्ड र अमेरिकामा गएर थप तालिम पनि लिएर आएँ । त्यहाँ सिकेको शीप र अनुभवबाट उत्कृष्ठ उपचार सेवा प्रदान गर्छु भन्ने विश्वास त छँदैछ । त्यसबाहेक विरामीसंगको सम्वन्धलाई महत्व दिएर काम सुरु गर्छु ।

मेरो बिचारमा डाक्टरसंग निको हुने आस गरेर आएका विरामी र तिनका आफन्तलाई केशको बारेमा राम्ररी परिक्षण गरी बताइदिएमा पछि लफडा हुने सम्भावना कम हुन्छ ।

कतिपय ठाँउमा केशको बारेमा विरामी पक्षलाई जानकारी नहुँदा लफडा हुने गरेको पाइएको पनि छ । त्यसैले मैले मेरा विरामीलाई राम्ररी हिस्ट्री लिएर । त्यसको असर, उपचार आदिका बारेमा बताइदिने गर्दछु ।

त्यति मात्रै होइन मैले आफ्ना विरामीलाई आवश्यकता परेमा सम्पर्क गर्न भनेर फोन नम्बर समेत दिने गरेकोछु । तर फोन नम्बर दिदैँ गर्दा विहानको समयमा सकेसम्म फोन नगरिदिनु भन्ने गरेको छु । यसले डाक्टर बिरामीबीचको घनिष्टता, आत्मियता बढ्छ जस्तो लाग्छ । त्यसैले त म यति धेरै अस्पतालबाट सहज ढंगले काम गरिरहेको छु ।

बिरामीसंग कहिले रिसाउँदिन

सुन्ने गरेको छु,  कतिपय डाक्टरहरु बिरामीको व्यवहारबाट हैरान हुने गर्छन । त्यस्तै कतिपय बिरामी र तिनका आफन्तहरु डाक्टर तथा नर्सका व्यवहारबाट हैरान छन्, तर म त्यस मानेमा आफूलाई अपवाद ठान्छु ।

म न त विरामीसंग रिसाउँछु । नत विरामी र तिनका आफन्तहरु म संग रिसाएको रेकर्ड छ । हो मानिसको स्वभाव फरक फरक हुन्छ । रिसाउने वा नरिसाउने भन्ने कुरा त्यसले पनि निर्णय गर्ला वा भनौ कतिपय बेला परिस्थितिले निर्धारण गर्ला । तर म जुनकुरै स्वभाव वा परिरिस्थितिका बीच बिरामीसंग रिसाउँदिन । बरु उहाँहरुलाई तर्क गरेर कन्भिन्स गर्ने कोशिष गर्छु ।

कहिलेकाँही बुझाईमा पर्ने फरकले समेत समस्या निम्त्याउँछ । त्यसलाई पनि म सहज ढंगले निकास निकाल्ने प्रयास गर्दछु । यसले विरामी र चिकित्सकबीच चिसिन सक्ने वा चिसिएको सम्वन्धमा सुधार हुन्छ भन्ने छ ।

दौडधुपलाई तनाव होइन रिल्याक्स मान्छु

विहान देखि बेलुकासम्म तीन चारवटा अस्पताल कुद्नुपर्ने दैनिकी देखेर कतिपयले मलाई धेरै तनाव छ जस्तो महसुस गर्दछन् । तर होइन म यसैमा रिल्याक्स फिल गर्छु । एकै ठाँउमा बसेर काम गर्दा बरु उकुसमुकुस हुन्छ ।

नयाँ नयाँ ठाँउमा जाँदा नयाँ व्यक्ति नयाँ परिवेश बुझ्न पाइन्छ । गाडी ड्राइभ गर्दै निदान पुग्दा, निदानबाट गोदावरी पुग्दा वा गोदाबरीबाट सिनामंगल वा सुमेरु हान्निदा झनै मज्जा पो हुन्छ । तनाव हुँदैन ।

आफूलाई असजिलो महसुस हुने गरी विरामी हेर्दिन

कतिपय अस्पतालमा चिकित्सकहरुले सकि नसकी धेरै विरामीहरु हेर्ने गरेको भन्ने सुनेको छु । तर मैले धेरै विरामी हेर्दिन । जति हेर्छु ध्यान पुूर्वक विस्तृत रुपमा हेर्छु यसले पनि विरामीले म प्रतिको विश्वास बढाएको हुनुपर्छ । मलाई विरामी हेर्दा असजिलो महसुस भयो भने विरामी हेर्दिन भनेर पहिले नै खबर गरिदिन्छु । यसले विरामीले विकल्प छान्न सक्ने भए ।

लिफ्टमा होइन भर्याङ प्रयोग गर्छु, भात बाहेक अरु चिज रुचाउँछु

यो उमेर भनेको केही बढी काम गर्न सक्ने उमेर हो । यहि बेला हामीले आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनु जरुरी छ । विहान बेलुका एक्ससाइज गर्ने भन्ने पनि फुर्सद खासै हुन्न । त्यसैले मैले अस्पतालहरुमा प्राय हिड्छु । लिफ्टको प्रयोग गर्दिन । यसले मेरो दिनभरीका लागि चाहिने व्यायम पुगेको छ । खानामा मेरो यहि नै हो भन्ने छैन । तर भात म एकदमै कम खाने गर्दछु । खान्न नै भनेपनि हुन्छ । त्यसका अलावा फलफुल रेसादार सलाद मलाई मनपर्छ ।

मेरो समय पहिले बिरामीलाई त्यसपछि श्रीमतीलाई

चिकित्सा सेवामा मेरो प्यासन छ । हर हालतमा विरामीको उपचार गर्ने निको बनाउने । कहिलेकाँही श्रीमतीसंग सपिङ, फिल्म हेर्न निस्कँदै गर्दा अस्पतालबाट इमरजेन्सी केस भएको खबर आइदिन्छ ।

श्रीमतीसंगको पूर्व निर्धारित कार्यक्रम तत्काल स्थगित गरी हस्पिटल तिर कुदिहाल्छु । त्यसबेला कहिलेकाँही श्रीमती रिसाउथिन पनि । तर म पछि आएर सम्झाउने गर्दथेँ । तर अहिले उनी मेरो बाध्यता बुझ्ने भइसकेकी छन् । घर परिवारमा पनि मेरो दैनिकी र डिउटी सबैले बुझ्नु हुन्छ । यसमा खुशी छु ।

(कुराकानीमा आधारित )

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *