नेशनल बाथरोग सेन्टरले मनायो पाँचौँ बार्षिकोत्सव

काठमाडौँ, २३ जेठ । नेशनल बाथरोग सेन्टरले आगामी पाँच बर्ष भित्र बाथरोग सम्वन्धी केन्द्रीय अस्पताल सञ्चालनमा ल्याउने बताएको छ । उसले सोही अवधीमा बुटवल, नेपालगञ्ज र विराटनगरमा शाखा विस्तार गर्ने जनाएको छ ।

प्रत्येक जिल्लामा शाखा विस्तार गर्ने योजनासाथ अघि बढेको यस सेन्टरको अहिलेसम्म काठमाडौँ, भक्तपुर ललितपुर र पोखरा गरी चारवटा जिल्लामा शाखा विस्तार भइसकेको छ ।

रातोपुलस्थित बाथरोग सेन्टर पाँचौँ बर्ष पुगेको अवसरमा मंगलबार आयोजित विशेष समारोहमा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले अहिलेसम्मको प्रगति र आगामी पाँच बर्षका मुख्य योजना सार्वजनिक गरेका थिए ।

सो अवसरमा उनले सेन्टरले अहिलेसम्म ७५ हजार २७५ जना बाथका विरामीलाई सेवा दिएको तथ्यांक प्रस्तुत गरे । विश्व स्वास्थ्य संगठनले कुल जनसंख्याको करीब १० प्रतिशतलाई बाथ रोग हुने अनुमान गरेको छ । ‘त्यस हिसावले हामीले अहिलेसम्म २.४२ प्रतिशत विरामीलाई मात्रै सेवा दिन सफल भएका छौँ । त्यसैले यसको विस्तार जरुरी छ । हाम्रो सेवा धेरै भन्दा धेरै विरामीको पहुँचमा पुग्न जरुरी छ,’ प्रवन्ध निर्देशक कक्षपतिले भने ।

कार्यक्रममा प्रमुख अतिथि बनेका पूर्व स्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारीले बाथरोगको निदान तथा उपचारमा सेन्टरले खेलेको भूमिकाको सराहाना गरे । ‘अहिले पनि दुर दराजमा धेरै व्यक्ति रोग पहिचान गर्न र उपचार गर्न समेत नपाएर बन्चित भएको अवस्था छ । सेन्टरले अहिले जसरी दुर दराजमा पुगेर सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यसलाई स्यालुट गर्न चाहन्छु,’ अधिकारीले भने ।

सेन्टरका अध्यक्ष एवं बाथरोग विशेषज्ञ डा विनित बैद्यले आफूहरु उपचार, अनुसन्धान र जनचेतना विस्तारमा संगसंगै अघि बढेको बताए । हामी सेन्टरका अलावा समुदायमा गएर निशुल्क शिविरहरु गरिरहेका छौँ । ‘समुदायमा आधारित अनुसन्धान गरिरहेका छौँ र संगसंगै जनचेतनाको पाटोलाई अघि बढाई रहेका छौँ,’ बैद्यले भने ।

उनले बाथरोगको उपचारका लागि आवश्यक जनशक्ति कम हुँदा आफ्नै बलवुताले जनशक्ति निर्माण गरी सेवा पुरयाएको बताए । उनले सेन्टरले बायोलोजिकल एजेन्ट, एनएफसी र इएनए लगायत प्रविधि पनि सेन्टरले भित्र्याएको वैद्यले बताए ।

हाल अछामको बयलापाटा, लमजुङ र धादिङमा टेलिमेडिसिन सेवा उपलव्ध गराएको सेन्टरले आगामी बर्षहरुमा थप जिल्लाहरुमा सेवा विस्तार गर्ने योजना अघि सारेको छ । त्यस्तै विभिन्न जिल्लाहरुमा वेभ बेस्ड ट्रेनिंगलाई विस्तार गर्ने, विरामीसंग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।

२०६९ सालमा फार्मेसीको रुपमा सुरु भएको संस्थाले २०७० यता बाथरोग सेन्टरका रुपमा सेवा दिइरहेको छ । सेन्टरले काठमाडौ बाहेक रामेछाप, चितवन, बुटवल लगायत १६ वटा स्थानमा तालिम कार्यक्रम चलाएको छ ।

प्रबन्ध निर्देशक कक्षपतिले पाँच वर्षको अवधीमा काठमाडौँका १ सय ८० स्थान, पोखराका २१ स्थान सहित हेटौडा, चौतारा, बाह्रविसे, मेलम्ची , चितवन, बुटवल, बेनी, रामेछाप, नेपालगञ्ज, दाङ, बाग्लङ, सिन्धुली लगायत २८ स्थानमा निशुल्क स्वास्थ्य शिविर चलाएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *