धादिङ : पचास प्रतिशत महिलामा पाठघेरको समस्या

 कल्पना पौडेल

धादिङ, १९ जेठ । कान्छीमाया गुरुङले दश वर्षअघिदेखि पाठेघरको समस्या बोकिरहेकी छन् ।

निकै समस्या भएपछि पाठेघरभित्र राख्न रिङ लगाएकी उनले गाउँ समाजको डरले शल्यक्रिया पनि गराएकी छैनन् । उनले घरमा समस्याबारे जानकारी भएपनि छरछिमेकमा थाहा नभएको बताइन् ।

“आम्मै कसरी यस्तो कुरा भन्नु, गाउँमा भने त बसिनसक्नु हुन्छ, यस्तो भएको त गाउँमा निकै नराम्रो मान्छन्, उपचार गर्न आउँदा पनि लुकेर आउनुपर्छ,” उनले गुनासो गरिन्।

बहत्तर वर्षीया शान्ति ढकाल पाठेघर खसेपछि काम गर्न उनलाई निकै समस्या भयो । मजदुरी, खेतीकिसानी गर्ने शान्तिले एउटा चुरामा कपडा बेरेर यौनाङ्गभित्र राखिन ।

गजुरीको प्राथमिक स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा जाँचको क्रममा उहाँको यौनाङ्गमा चुराका कारण संक्रमण पाइएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा आरती शाहले बताइन्।

“हामीले कपडा बेरिएको चुरा निकालेर नयाँ रिङ राखिदिएका छौँ, अहिले पनि समाजमा पाठघेर खसेपछि अस्पताल गएर उपचार गराउने परिपाटी कम छ,” उनले भनिन्।

धादिङको गजुरी वरपर क्षेत्रका अधिकांश महिलामा पाठेघर खस्ने, यौनाङ्गमा संक्रमण देखिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बढ्दै गएको पाठेघरको मुखको क्यान्सर रोगबारे धादिङको गजुरीमा राखेको दुईदिने स्वास्थ्य शिविरमा आएका ५० प्रतिशतभन्दा बढी महिलामा यस्तो समस्या देखिएको छ ।

“अधिकांश महिलाको पाठेघर खस्ने, संक्रमण, तल्लो पेट दुख्नेसमस्या देखिएको छ, हामी पाठेघरको क्यान्सर छ कि छैन भनेर पाठेघरको मुखको पानी जाँच गर्न नमुना संकलन गरेका छौँ,” वीर अस्पतालक क्यान्सर रोग विशेषज्ञ सहप्रध्यापक डा सन्ध्या चापागाइँले भनिन् ।

कति महिलामा धेरै समयदेखि समस्या देखिएको भएपनि उपचार नगर्दा अन्य समस्या पनि देखिन थालेको उनको भनाइ छ । धेरै सन्तान जन्माएका, शारीरिकरुपमा बढी परिश्रम गर्ने, भारी बोक्ने, उकालीओराली गर्ने महिलामा पाठेघर खस्ने समस्या देखिएको छ ।

वर्षौदेखि पाठेघर खसेको समस्या झेलेर बसेका महिलाले घरछिमेकमा लाज हुने डरले समस्या लुकाउने गरेको चिकित्सकको भनाइ छ ।

क्यान्सरका बिरामी बढ्न थालेपछि वीरको क्यान्सर विभागले स्थानीय तहमै पुगेर यो रोगको परीक्षण गर्ने, जानकारी र उपचार सेवा दिन विभिन्न शिविरहरू आयोजना गर्ने कार्यक्रमअनुसार गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने शिविर राखेको थियो ।

शिविरमा ५०० बढी महिलाको पाठेघरको मुखको पानीको नमुना संकलन गरिनुका साथै स्तनको परीक्षण जाँच गरिएका छ ।

गजुरी गाउँपालिकाका आठवटा वडा र वरपरका गाउँपालिकाका महिलाको पाठेघर परीक्षण गरिएको हो ।

स्थानीय तहमै पाठेघरको परीक्षण गर्नसकेमा क्यान्सर हुने सम्भावनाबारे थाहा पाउन सकिने भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञको टोलीले धादिङका विभिन्न स्थानका स्वास्थ्य संस्था कार्यरत ३० स्वास्थ्यकर्मीलाई क्यान्सर रोगबारे अभिमुखीकरण तालिम पनि दिएका थिए ।

अहिले पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिने भिआइए परीक्षण, पाठेघरको पानीको जाँच प्याप स्मेयर परीक्षण सेवा स्थानीय तहमै उपलब्ध नहुँदा धेरै महिला क्यान्सरको अन्तिम अवस्थामा मात्र अस्पतालमा उपचारका लागि पुग्ने गरेको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले जानकारी दिए ।

महिलालाई घरमै स्तनको जाँच गर्ने तरिका, बिरामीसँग कसरी परामर्श गर्ने भन्ने विषयमा अभिमुखीकरण पनि दिइएको थियो ।

नेपालमा जनचेतनाको कमीले क्यान्सर रोग अन्तिम अवस्थामा पत्ता लाग्ने कारण यसबाट हुने मृत्यु बढ्दै गएको छ । क्यान्सरबाट हुने मृत्युमध्ये पाठेघर मुख क्यान्सर र स्तन क्यान्सरबाट हुने मृत्युदर उच्च छ ।

पछिल्लो समय नसर्ने रोग र त्यसबाट हुने मृत्युदरमा क्यान्सर पहिलो स्थान छ । त्यसमा पनि क्यान्सरबाट हुने महिलाको मृत्युमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर प्रमुख हुन् ।

क्यान्सरको रोग परीक्षणबारे स्थानीय स्वास्थ्यकर्मीलाई पनि जानकारी होस् र शुरुवाती अवस्थामै रोग पत्ता लगाई उपचारमा सहजता होस् भन्ने उद्देश्य स्वास्थ्य मन्त्रालयले नै वीरमा बजेट विनियोजन भएकाले वीर अस्पतालले देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर र अभिमुखीकरण गर्दै आएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा गणेशबहादुर गुरुङले जानकारी दिए।

शिविरमा लागि वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेल, आरती शाह, सन्ध्या चापागाइँ, डा अमुजसहित नर्सिङ स्टाफसहितको टोली सहभागी थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *