वीर अस्पतालमा आयो कलेजो जाँच्ने ‘फाइब्रो स्क्यान’ मेसिन

काठमाडौँ, १९ जेठ । वीर अस्पतालमा कलेजोको कडापन जाँच्ने अत्याधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ मेसिन सञ्चालनमा आउने भएको छ ।

रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ काठमाडौं मेट्रोले खरीद गरी अस्पताललाई ले सो मेसिन अस्पताललाई हस्तान्तरण गरेपछि सञ्चालनमा आउने भएको हो ।

अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भारत चेन्नाईबाट आएका रोटरीयन सुशिल गुप्ताले मेसिन हस्तान्तरण गरेका थिए ।

सो मेसिनले कलेजोमा हुने कडापनलाई सहजै पत्ता लगाउने जनाइएको छ । चिकित्सकहरूका अनुसार सरकारी अस्पतालमध्ये ‘फाइब्रो स्क्यान’ मेसिन सञ्चालन गर्ने वीर अस्पताल पहिलो हो । तर, केही निजी स्वास्थ्य संस्थाले भने यो मेसिन सञ्चालनमा ल्याएको डा. दिलीप शर्माले बताए ।

वीर अस्पताल लिभर युनिटका विभागीय प्रमुख डा. अनिलकुमार मिश्रका अनुसार हेपटाइटिस ‘बी’ र ‘सी’ रोग चिकित्सकीय क्षेत्रमा चुनौती बन्दै जान थालेको छ । जसका कारण धेरै नागरिकको कलेजो बिग्रिएको छ । ‘फाइब्रो स्क्यान’ मेसिनबाट कलेजो बिग्रिएकाहरूका लागि शल्यक्रियाविनै कलेजोको कडापन थाहा पाउन सकिन्छ ।

डा.  मिश्रका अनुसार स्वस्थ कलेजोले हरेक सेकेन्ड पाँच हजार प्रकारका काम गरिरहेको हुन्छ । तर, हेपटाइटिस ‘बी’ र ‘सी’, धुम्रपान तथा मद्यपानका कारण कलेजो क्रमिक मात्रामा कडा हुँदै जान्छ । जसका कारण कलेजोले काम गर्न छाड्छ ।

कलेजो कडा भएमा पेटमा पानी जमेर फुल्ने, रगत बान्ता हुने, बेहोस हुने र हातखुट्टा सुन्निनेजस्ता समस्या देखा पर्छन् । डा.  मिश्रका अनुसार धेरै चिल्लो, मधुमेह, हेपटाइटिस बी र सीका कारण कलेजो कडा बन्छ । कलेजो रोग विशेषज्ञ डा. शर्माका अनुसार वीर अस्पतालमा मात्रै कलेजोको समस्या भएका बिरामी हरेक दिन १५ जनासम्म आउने गरेका छन् ।

नौ वटा हेमोडाइलाइसिस मेसिन हस्तान्तरण

यसैबीच शुक्रबार आयोजित सोही कार्यक्रममा रोटरी क्लबले वीर अस्पताललाई ९ वटा हेमोडायलाइसिस मेसिन पनि हस्तान्तरण गरेको छ । मिर्गौला फेल भएका बिरामीको उपचार सहज बनाउन डायलाइसिस मेसिन दिएको अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *