थाइराइड के हो ? कसरी जोगिने ?

डा. प्रिया दर्शनी योन्जन

थाइराइड के हो ?
कतिपयले थाइराइड रोग भन्छन् तर थाइराइड रोग होइन । थाइराइड शरीरमा हुने एक प्रकारको ग्रन्थी हो । यो हाम्रो शरीरको घाटीमा हुन्छ । यो ग्रन्थीले थाइराइड हर्मोन बनाउँछ ।

एक प्रकारको थाइराइड रसायन बनाउँछ टी थ्री र टी फोर भन्ने । यो टी थ्री र टी फोर भन्ने रसायन शरीरको सबै कोशिकाहरु मार्फत अगंगहरुमा गएर तागत दिने काम गर्छ । जसलाई हामी मेटाबोलिजम भन्दछौँ ।

थाइराइड समस्या कसरी हुन्छ ?
थाइराइग्रन्थीमा मुख्य त दुई थरी समस्या देखिन सक्छ । एउटा हर्मोन कमीको समस्या जसलाई हामी ‘हाइपो थाइराइडिजम’ भन्दछौँ । अर्को भनेको हर्मोन बढीको समस्या जसलाई ‘हाइपर थाइराइडिजम’ भन्दछौँ ।

हर्मोन कमी अर्थात हाइपो थाइराडिजिमको समस्या पहिले पहिले आयोडिनको कमीले हुन्थ्यो । अहिले अटो इम्युनको कारणले हुने गर्छ । यो भनेको भित्रबाट नै ग्रन्थी भत्केर जाने अवस्था अर्थात ग्रन्थी हर्मोन उत्पादन गर्ने काम गर्न छाडने अवस्था ।

हर्मोन बढी समस्या अर्थात हाइपर थाइराइडिजमको समस्या पनि अटो इम्युनको कारणले पनि हुन्छ र कहिलेकाँही भाइरल संक्रमणहरुको कारणले पनि हुन्छ, जसलाई हामीले थाइराटाइटिस भन्छौँ ।

कुनै कुनै औषधिहरुले पनि थाइराइड हर्मोनमा गडबडी गराउन सक्छ । अप्रेसन पछि पनि थाइराइड हर्मोनमा गडबडी हुनसक्छ । त्यसैले कारणहरु विभिन्न हुनसक्छन् ।

थाइराइडको समस्या महिलामा बढी देखिन्छ कि पुरुषमा ?
यो पुरुषको तुलनामा महिलामा केही बढी देखिन्छ । किनभने थाइराइड गडबढ हुने नम्बर एक कारण भनेको अटो इम्युनिटी हो । अटो इम्युनिटी भनेको शरीरको इम्युन सिस्टम गडबढ भएर हुने समस्या हो । र अटोइम्युनको समस्या बढी महिलाहरुमा नै हुन्छ । त्यसैले पनि यो समस्या महिलामा बढी देखिने हो ।

प्रतिशतको हिसाव गर्दा हर्मोनमा हुने कमी पुरुषको तुलनामा ४ देखि ५ प्रतिशतले कमी देखिन्छ । हर्मोन बढीको समस्या पनि लगभग ७ देखि ८ प्रतिशतले बढी देखिन्छ ।

स्वास्थ्यका लागि हर्मोन कम हुँदा खतरा कि बढी हुँदा खतरा ?
हर्मोन कम हुने समस्या र हर्मोन बढी हुने समस्याबीच तुलना गर्ने हो भने निश्चय नै हाम्रो स्वास्थ्यलाई हर्मोन बढी हुने समस्याले बढी जटिलता सिर्जना गर्छ । हर्मोन बढी भयो भने मुटुमा अलि बढी नराम्रो असर गर्छ ।

कस्तो कस्तो समस्या निम्त्याउँछ ?
मैले अघि पनि भनिसके, यो शरीरलाई तागत दिने हर्मोन हो । शरीरमा हर्मोन कमी भयो भने हाइपोथाइराइडिजम भएमा खासै त्यस्तो जटिल समस्या त आउँदैन तर असर गरिराख्छ । जस्तै : काम गर्न अल्छि लाग्ने , निन्द्रा बढी लाग्ने , थकाई लाग्ने हातखुटा गल्ने कपाल झर्ने आदि ।

यस्तै हर्मोन बढी हुँदा गर्मी लाग्ने, तौल घट्दै जाने, मुटुको धड्कन बढने हातखुटा काप्ने पसिना आउने जस्ता लक्षण हुन्छ । यो आफै रोग नभएपनि यसका कारणले अरु रोगलाई बढावा दिन सक्रिय भूमिका खेल्छ ।

हर्मोन कम भयो भने मेटावोलिजम नै ढिला भैदिन्छ । यसले मुटुको धडकन कम हुने, छाला फुस्रो हुने, शक्तिहीन महसुस हुने जस्ता समस्या हुन्छ ।

हर्मोन बढी भयो भने मेटाबोलिजम नै बढी गराई दिन्छ, त्यसले शरीरका अंगले पनि छिटो काम गर्छ । यसले शरीरमा थकान देखा पर्छ । पसिना चिट चिट आउने पनि हुन्छ ।

सतर्क हुने कहिले देखि ?
थाइराइडको समस्या जुनसुकै उमेरमा देखिनसक्छ । तर हाइपटरथाइराइडिजम बढी जसो यस्तो समस्या १९ – २० बर्षका किशोर किशोरीमा देखापर्छ । हाइपोथाइराइजिम प्रौड महिलाहरुमा बढी देखापर्छ । अर्थात ४०- ५० बर्ष पुगेपछि यस्तो समस्या देखिन सक्छ ।

यस्तो सतर्कताका लागि के गर्ने ?
यो थाइराइडको लक्षणहरु अलि बृहत हुनसक्छ । तर पनि एउटा दुईटा लक्षणहरु हेरेर स्क्रिनिङ गर्ने गरिन्छ । जस्तै : गर्भवती हुनुहुन्छ वा हुन लाग्नु भएको छ भने थाइराइडको परीक्षण गरेको राम्रो । मधुमेह, तथा बाथको समस्या छ भने पनि एक पटक थाइराइड जचाँए राम्रो ।

परिवारमा अरु कसैलाई थाइराइडको समस्या छ भने पनि थाइराइड परीक्षण गरेको राम्रो । घाटीको समस्या सुनिन सक्छ । घाटी सुन्निएको छ भने एक पटक जाँच गराएको राम्रो ।

र, थाइराइडबारे यस्ता खाले भ्रम पनि छन ……
थाइराइड बारे हाम्रो समाजमा विभिन्न खालका भ्रमहरु पनि छन् । जस्तै थाइराइडलाई एकदमै डरलाग्दो रोग हो, थाइराइड भएमा निसन्तान हुन्छ आदि आदि । तर बास्तविकता के हो भने यो दुईवटै कुरा सत्य होइन । अर्थात थाइराइड नियन्त्रणमा आयो भने त्यो समस्या आफसेआफ हराएर जान्छ ।

हामीकहाँ हर्मोन कम भएमा हर्मोन बढाउने औषधि पाइन्छ । हर्मोन बढी भएर घटाउन परेमा पनि औषधि पाइन्छ । चिकित्सकको सल्लाहमा खाँदा बेस हुन्छ । पहिले पहिले यसको पनि अप्रेसन नै हुन्थ्यो । तर अहिले औषधिले नै यसलाई नियन्त्रणमा लिन समेत सकिन्छ ।

# थाइराइड तथा मधुमेहरोग विशेषज्ञ डा. योन्जन काठमाडौँ डाइविटिज एण्ड थाइराइड सेन्टर जाउलाखेलमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *