तीनवटा रोगका बिरामीलाई दिन शुरु गरिएको ‘जीवन निर्वाह भत्ता’ बन्द !

काठमाडौँ १० जेठ । मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई दिइने भनिएको मासिक ५ हजार भत्ता रोकिएको छ । अर्थ मन्त्रालयले आवश्यक बजेट उपलव्ध नगराएपछि चार महिना अघि शुरु भएको भत्ता वितरणको कार्यक्रम रोकिएको हो ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गत ११ माघमा राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाईसिस भएका २९ जना विरामीलाई पाँच हजार रुपैयाँका दरले चेक उपलव्ध गराउँदै जिविकोपार्जन भत्ता वितरण शुरु भएको घोषणा गरेका थिए ।

त्यसपछि स्वास्थ्य सेवा विभाग र अस्पतालहरुमा ती तीनवटा रोगबाट पिडीत विरामीहरुको भीड लागेको थियो ।

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले बिरामीका लागि दिन शुरु गरिएको भत्ताका लागि आवश्यक पर्ने बजेटका विषयमा अर्थ मन्त्रालयले थप छलफल गर्न चाहेकोले हालका लागि वितरण कार्य स्थगित भएको बताइन ।उनले भविस्यमा यो कार्यक्रमले निरन्तरता पाउने वा नपाउने भन्नेबारेमा एकीन भइनसकेको समेत जानकारी दिइन ।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा स्रोतले भने भत्ता वितरणको कार्यक्रम बन्द भएको दावी गरेका छन् । ‘त्यो अघिल्लो सरकारले छाडने बेलामा हतार हतार ल्याएको कार्यक्रम थियो । ‘त्यतिवेला न आर्थिक भार हेरियो न दीर्घकालिन रुपमा कसरी टिकाउने भन्ने सोचियो । नयाँ सरकारले त्यो भन्दा पुराना कार्यक्रमको दायित्वहरु नै टुंग्याउन सकेको छैन । यो कार्यक्रम किन हेथ्र्यो,’ स्रोतले भन्यो ।

वीर अस्पताल उपलव्ध गराएको थियो ५ हजारको चेक

तत्कालिन देउवा सरकारले तीन वटा रोगका विरामीलाई मासिक पाँच हजार रुपैयाँका दरले जीवीकोपार्जन भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा गत ११ माघमा ट्रमा सेन्टर पुगेर चेक वितरण गरेका थिए ।

त्यतिवेला १२ जना क्यान्सर, ११ जना मिर्गौला र ६ जना स्पाइनल इन्जुरी पछि प्यारालाइसिस भएका विरामीलाई चेक वितरण गरिएको थियो । उनीहरुलाई वितरण गरिएको ५ हजार दरका २९ वटा चेक भने त्यतिवेला वीर अस्पतालले उपलव्ध गराएको थियो ।

पछि सोधभर्ना गर्ने गरी त्यतिवेला उपलव्ध गराएको सो चेकको हिसावकिताव अहिलेसम्म भएको छैन । अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेत भन्छन्, ‘पछि सोधभर्ना गर्ने गरी त्यतिवेला हाम्रै खाताको चेक काटियो तर अहिलेसम्म सोधभर्ना भएको छैन । सोध भर्ना त पछि होला नि ।’

भत्ता वितरण सुचारु गर्न भन्दै स्वास्थ्य सचिवको ध्यानाकर्षण

यसैबीच स्पाइनल कर्ड इन्जुरी सर्घष समितिले अघिल्लो सरकारले कार्यान्वयनमा ल्याएको जीवन निर्वाह भत्ता (मासिक ५ हजार) कार्यक्रम यथावत रुपमा सूचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विहीबार स्वास्थ्य मन्त्रालयमा पुगी उनीहरुले स्वास्थ्य सचिव मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले आफ्ना मागहरु २४ घण्टा भित्र सम्वोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *