ट्रकोमा निवारण गरेको भन्दै विश्व स्वास्थ्य संगठनले गर्‍यो नेपाललाई सम्मान

जेनेभा, ७ जेठ । आँखामा लाग्ने खस्रे रोग (ट्रकोमा) निवारण गरेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई प्रमाणपत्र सहित सम्मान गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुसले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई उक्त प्रमाणपत्र प्रदान गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनको ७१औं महासभामा भाग लिन जेनेभा आएको नेपाली प्रतिनिधिमण्डल र विश्व स्वास्थ्य संगठनको उच्च अधिकारीहरु बीच दुर्र्इ पक्षीय छलफलकाबीच सो प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा आएकी राज्यमन्त्री अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच विगतमा नेपालमा भएका स्वास्थ्यसंग सम्बन्धित सफल अभ्यास, उपलब्धी र योजनाहरुका विषयमा छलफल सम्पन्न भयो । सो क्रममा नेपालले हासिल गरेको उपलब्धी र यसमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका बारेमा मन्त्री अर्यालले स्मरण गराइन ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको जेनेरल प्रोग्राम अफ वर्क (जीपीडव्लु) र नेपालमा समवृद्धिको सपना सहित अगाडी बढेको सरकारको योजना एक साथ आएको हुँदा स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने कुरामा मन्त्री अर्यालले जोड दिइन ।

नेपाल संघियता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको नीति र पद्दति विकासमा विशेष प्राविधिक सहायोग प्रदान गर्न र नेपाली विज्ञहरुको अर्थपूर्ण सहभागितामा विश्व स्वास्थ्य संगठनका नीति, योजना र कार्यक्रमहरु जारी गर्न साथै विज्ञहरुलाई जिम्मेवारी दिन समेत मन्त्री अर्यालले आग्रह गरिन ।

सो छलफलमा बोल्दै महानिर्देशकले नेपालले ट्रकोमा निवारणमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफुलाई खुशी लागेको र यसै गरी छिटै प्रमाण पत्र प्रदान गर्न पाउने कुरामा आफूविश्वस्त रहेको बताए । स्वास्थ्य क्षेत्रको संस्थागत विकास र सम्वृद्धिमा सहयात्री बन्न गरेको आग्रहले आफू निकै उत्साहित भएको उनले बताए ।

सो छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याल सहित नेपालको जेनेभास्थित स्थायी नियोगका स्थायी प्रतिनिधि दीपक धिताल, स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठ, नायब स्थायी प्रतिनिधि, तीर्थराज वाग्ले, सहित ९ जना र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस, दक्षिण पूर्वी एसिया प्रमुख डा. पूनम क्षेत्रपाल सिंह सहित डव्लुएचओ मुख्यालयका ७ जना प्रतिनिधिहरु सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *