नेपालको सबै ‘मेडिकल डिग्री’लाई भारतले मान्यता दिने

काठमाडौँ, २ जेठ । अब  नेपालका मेडिकल कलेजहरुले उपलव्ध गराउने सबै विषयका मेडिकल डिग्रीलाई भारतीय मेडिकल काउन्सिलले अनुमोदन (एप्रुभ) गर्ने भएको छ ।

अहिलेसम्म नेपालका मेडिकल कलेजहरुले उपलव्ध गराउने सबै विषयमा मेडिकल डिग्रीलाई भारतीय मेडिकल काउन्सिलले अनुमोदन गर्ने गरेको छैन । नेपाल मेडिकल काउन्सिलले भने भारतीय मेडिकल काउन्सिलले अनुमोदन गरेका सबै भारतीय मेडिकल कलेजका डिग्रीलाई अनुमोदन गर्दै आएको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले गत शुक्रबार नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत यस विषयमा चासो राखेको भन्दै सकारात्मक नतिजा आउने संकेत गरेको बताए ।

‘हामीले यो विषय भारतीय मेडिकल काउन्सिललाई पत्र मार्फत पठाइसकेका छौँ । त्यसबाहेक परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय र स्वयं प्रधानमन्त्री ज्यूलाई समेत जानकारी गराएका थियौँ । प्रधानमन्त्रीले अस्तिको द्धीपक्षीय भेटमा सो कुरा राख्नु भएको छ । र मोदी ज्यूले सकारात्मक रुपमा लिएको कुरा आएको छ,’ डा बास्कोटाले भने ।

नेपालका मेडिकल कलेजका सबै डिग्रीहरुलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिने गरेको छ । तर भारतको मेडिकल काउन्सिलले कतिपय कलेजका एमबीबीएस र स्नातकोत्तर तहको डिग्रीको अनुमोदन गरेको छैन ।

‘तिमीहरुको डिग्रीलाई हामीले मान्यता दिएपछि हाम्रोलाई पनि तिमीहरुले मान्यता दिनुपर्छ भन्ने हाम्रो माग थियो । त्यो कुरा सकारात्मक रुपमा अघि बढेको छ,’ डा बास्कोटाले भने ।

भारतको मेडिकल काउन्सिलले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उपलव्ध गराउने केही विषयका डिग्रीलाई मात्रै अप्रुभ गर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *