भेरी अञ्चल अस्पतालमा क्याथल्याव सेवा सञ्चालन


बाँके २ जेठ । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा मुटुरोग उपचार सेवा शुरु भएको छ । काठमाडौँमा रहेको शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रको सहयोगमा मुटुरोग उपचार सेवा शुरु भएको हो ।

गंगालालले मुटुको विशिष्टिकृत सेवा उपलव्ध गराउन भेरी अञ्चल अस्पतालमा क्याथ ल्याव स्थापना गरिदिएको छ । सोही क्याथ ल्यावबाट गत सोमबार २ जनाको एन्जिओग्राम गरी मुटुको विशिष्टिकृत सेवा शुरु गरिएको हो । सरकारी अस्पतालमा काठमाडौँ बाहिर क्याथल्याव सेवा शुरु भएको भेरी अञ्चल अस्पताल नै पहिलो हो ।

क्याथल्याव सेवा शुभारम्भ गर्न गंगालालबाट कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्मा, बरिष्ठ मुटुरोग विशेषज्ञहरु डा रवि मल्ल र डा राजिव राजभण्डारी नेपालगञ्ज पुगेका थिए । उनीहरुले अञ्चल अस्पतालमै कार्यरत मुटुरोग विशेषज्ञ कृष्ण अधिकारीलाई सहयोग पुरयाएका थिए ।

‘गंगालालको उद्धेश्यमा आफ्नो सेवा विकेन्द्रीकरण गर्ने भन्ने छ । सोही अनुसार हामीले नेपालगञ्जमा यो सेवा प्रारम्भ गरेका हौँ । अब यस्तै सेवा जनकपुरबाट पनि सुरु हुन्छ,’ गंगालालका निर्देशक डा शर्माले भने ।

गंगालालको सेवालाई विकेन्द्रीकृत गर्न तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले पहल गरेका थिए । उनैको पालामा गंगालालले भेरीअञ्चल अस्पतालसंग मिलेर मुटुरोगको विशेषज्ञ सेवा उपलव्ध गराउने सम्झौँता समेत भएको थियो । ‘तत्कालिन मन्त्री थापाकै पालामा यो काम अघि बढेको हो । उहाँले यसकामका लागि त्यतिवेला हामीलाई चाहिने सहयोग पनि गर्नुभयो,’ गंगालालका निर्देशक डा शर्माले भने ।

उनले तत्काल ठूला अप्रेसन नगरेपनि एन्जीओप्लास्टी गर्ने, इमरजेन्सी अवस्थाका विरामीलाई मुटुमा स्टेन्ट हाल्ने काम हुने बताए । यसले धेरै जनाको ज्यान बच्न सक्छ ।

आफूकहाँबाटै डीएम गरेका डा अधिकारीलाई काममा पोख्त नहुँदासम्म गंगालालले आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएको छ । ‘डा अधिकारीलाई सतप्रतिशत ढुक्क नहुँदासम्म गंगालालले व्याकप सहयोग गर्नेछ,’ डा शर्माले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *