आयुर्वेदिक औषधिको रुपमा यसरी प्रयोग गर्न सकिन्छ तुलसी

डा. राजेन्द्र गिरी

तुलसी चिकित्साका दृष्टिकोणले महत्वपूर्ण हुनुका साथै हिन्दू धर्मावलम्बीहरूले विभिन्न चाडपर्वमा यसको पूजा गर्ने हुँदा धार्मिक क्षेत्रमा पनि उत्तिकै महत्वपूर्र्ण मानिन्छ ।

चिकित्साका दृष्टिकोणले यसको वर्णन आयुर्वेदका विभिन्न ग्रन्थहरूमा पाइन्छ । विशेषतः यसलाई चिसोबाट उत्पन्न साधारण रुघाखोकी, ज्वरो आदिमा निकै प्रभावकारी जडीबुटी मानिन्छ ।

के हो यो जडीबुटीे ?
वनस्पति कुल लेबियट अन्तर्गत पर्ने तुलसीको वैज्ञानिक नाम ओसिमम सान्कुम हो । यसलाई संस्कृतमा ग्राम्या (गाँउघरमा पाइने), बहुमञ्जरी (लामो धेरै फलहरू हुने) आदि नामले पनि चिनिन्छ । त्रिभुवन कीर्तिरस, तुलसीपत्र मिश्रित कफ सिरप र तुलसी चियाको रूपमा बजारमा तयारी औषधिको रूपमा समेत पाइन्छ ।

तुलसी २ देखि ४ फिटसम्म अग्लो हुने थुप्रै हाँगा बिगायुक्त बैजनी रंगको डाँठयुक्त बिरुवा हो । यसका पात लामो, अण्डाकार, दुवैपट्टि हल्का झुसयुक्त हुन्छ ।

पातलाई मिच्दा एक प्रकारको सुगन्ध पनि निस्कन्छ । यसको फूल हाँगाको टुप्पामा अत्यन्त साना प्याजी वा बैजनी रंगका ३–८ इन्च लामो हुन्छ । यसको सम्पूर्ण बिरुवाबाट विशेष प्रकारको ल्वाङको झैँ गन्ध निस्कन्छ ।

तुलसी नेपालको प्रायः सबै ठाउँमा विशेषगरी समुद्र सतहदेखि ६ हजार फिटसम्मको उचाइमा पाइन्छ । नेपालका विभिन्न ठाउँमा यसको व्यापारिक दृष्टिकोणले खेती पनि गरिएको पाइन्छ ।

यसमा के–के तत्व पाइन्छ ?

  • यसको पात तथा फूलमा उडनशील तेल हुन्छ, जसमा फिनोल ४५.७६ प्रतिशत तथा अल्डिहाडड १५.२५ प्रतिशत पाइन्छ ।
  • बीजमा १७.८ प्रतिशत स्थिर तेल पाइन्छ ।
  • त्यस्तै प्रकारले अल्कलाइड, ग्लाइकोसाइड, टनिक, एस्कर्विक एसिड आदि तत्वहरू पाइन्छन् ।

हालै एक अनुसन्धानबाट प्राप्त जानकारीअनुसार तुलसीको उडनशील तेलमा पाइने तत्वहरूमा क्षयरोगनाशक शक्ति पाइएको छ । वातावरण शुद्धीकरणमा पनि यसको महत्वपूर्ण स्थान रहेको पाइएको छ । झिँगा, लामखुट्टे आदि किराहरू पनि यस बिरुवाको वरिपरि नपाइने हुनाले वातावरणीय शुद्धतामा पनि यसको महत्वपूर्ण भूमिका हुन्छ ।

यसको प्रयोग कसरी गर्ने ?

प्रायः तुलसीको पात, फूल तथा बीजलाई नै औषधिका रूपमा प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई विभिन्न रोगमा एकल रूपमा वा अरू द्रव्यसंग मिसाएर दिइन्छ । तुलसीको प्रयोग हुने केही रोगहरू यसप्रकारका छन् :

  • तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५–१० मिलि)मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।
  • बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।
  • मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।
  • विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ ।
  • केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातोपानीसँग पनि सेवन गर्न सकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।
  • किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *