‘धमाधम सिजरियन : साइतमै सन्तान !’

काठमाडौँ, २९ बैशाख । ललितपुर, इमाडोलकी सन्जु कोइराला ज्योतिषले भनेकै समयमा बच्चा जन्माउनुपर्ने पारिवारिक दबाबका कारण शल्यक्रिया गरेर सुत्केरी भइन् । डाक्टरले दिएको मितिभन्दा १५ दिनअगावै उनले शिशु जन्माइन् । ‘शल्यक्रियाले मुटुमा समस्या देखियो, आमाबच्चा दुवै आईसीयूमा पुग्यौं, मैले सात दिनपछि मात्रै नानीलाई देख्न पाएँ,’ चार वर्ष अगाडिको त्यो क्षण सम्झिइन् उनले ।

शल्यक्रियाबाट भनेकै समयमा बच्चा त जन्माइन्, शारीरिक रूपमा भने पहिलेकै अवस्थामा फर्किन सकिनन् । खुट्टा झमझमाइरहने, धेरै काम गरेको दिन घाउ दुखेजस्तो हुने गर्छ उनलाई । अहिले उनी दोस्रो पटक सुत्केरी भएकी छन् । पहिलो पटक रहरले शल्यक्रिया गरेकी उनलाई यो पल्ट पनि पेट चिरेरै बच्चा पाउनु बाध्यता बन्यो ।

‘पछिल्लो समय शल्यक्रिया (सिजरियन सेक्सन)गरेर बच्चा जन्माउनेको जमात बाक्लिँदो छ,’ प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माले भनिन्, ‘सुत्केरी हुन आउने ७० प्रतिशत ज्योतिषबाट साइत जुराएर आउने गरेका छन् ।’ बढ्दो आधुनिकता, अस्वस्थ जीवनशैली र यौन जीवन बिग्रने डरका कारण महिलाहरू आफैं सिजरियन सेक्सन रोज्ने गरेको उनी बताउँछिन् ।

भन्छिन्, ‘घण्टौंको सुत्केरी व्यथा खप्न चाहँदैनन्, यसका लागि उनीहरू मानसिक रूपमा तयार भएर पनि अस्पताल आएका हुँदैनन् ।’ नर्मल डेलिभरी गर्न चाहेका महिलाको पनि कहिलेकाहीं बच्चाको टाउको बाहिर निस्केपछि विभिन्न समस्या देखिँदा शल्यक्रिया नै गर्नुपरेको डा. शर्माको भनाइ छ ।

प्रसूतिका लागि सिरहाबाट काठमाडौं आएकी मन्जु साहले आइतबार शल्यक्रियाबाट बच्चा जन्माइन् । कलिलो उमेरकी उनको बच्चा ठूलो भएका कारण आफैं बच्चा जन्माउन नसकेको उनका परिवारका सदस्यले सुनाए । ‘पेटमा बच्चा बसेको थाहै भएन, नत्र १७ वर्षमै बच्चा पाउने योजना थिएन,’ उनका श्रीमान्ले भने । योजनाअनुरूप गर्भवती भएको भए पेट चिर्ने समस्याबाट उनलाई बचाउन सकिने उनको शल्यक्रियामा संलग्न चिकित्सक बताउँछन् ।

काठमाडौंकी एक महिला नियमित गर्भ जाँचका लागि एक निजी अस्पताल धाइरहेकी थिइन् । जाँचमा संलग्न चिकित्सकले फाइदा छ भनेपछि शल्यक्रिया रोजिन् । तर घरमै पाँच सन्तान जन्माएकी सासूभन्दा शल्यक्रियाबाट एक सन्तान जन्माएकी उनको स्वास्थ्य स्थिति नाजुक छ । उनी भन्छिन्, ‘धेरै काम गरेको दिन पूरा शरीर दुख्छ, घाउ चिलाउँछ, बसिरहन पनि सक्दिनँ ।’

पछिल्लो समय सिजरियन गरेर बच्चा जन्माउनेको जमात सहरी क्षेत्र र अस्पताल पहुँच भएका ग्रामीण क्षेत्रमा बढी देखिएको छ । गर्भवतीको आवश्यकता, अस्पतालको प्रलोभन, सेवासुविधाको पहुँच वा महिला आफैंको रोजाइलगायत कारण अस्पतालमा नर्मल डेलिभरी ९प्राकृतिक जन्म० गर्नेको संख्या घटेको छ ।

कोही सुत्केरी व्यथा खप्नुपर्ने डरका कारण त कोही आर्थिकस्तर देखाउन नाम चलेका डाक्टर र महँगा अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति गराउँछन् । कसैका लागि भने शल्यक्रिया बाध्यता नै हो । राजधानीका अस्पतालको तथ्यांक हेर्दा सरकारीमा भन्दा निजीमा पेट चिरेर प्रसूति गराउने दर अत्यधिक बढी छ ।

पाटन अस्पतालमा २० वर्षअघि १० प्रतिशतले शल्यक्रिया गरेर बच्चा जन्माउँथे । अहिले त्यो दर बढेर ४५ प्रतिशत पुगिसकेको छ । अघिल्लो वर्ष ७ हजार तीन सय ८६ प्रसूति भएकोमा ३ हजार ३ सय ५६ ले शल्यक्रिया गरे ।

थापाथलीस्थित प्रसूति गृहबाट अघिल्लो वर्ष १८ हजार ९ सय २७ महिलाको प्रसूति गराएकामा ५ हजार १ सय ८७ ले शल्यक्रियाबाट बच्चा जन्माए । प्रसूति गृहमा २० वर्षअघि सिजरिङ सेक्सन १३ प्रतिशत हुन्थ्यो, अहिले २७ प्रतिशत पुगिसक्यो ।

निजामती अस्पतालमा गत वर्ष सिजरियन सेक्सन ४२ प्रतिशत थियो । अहिले बढेर वर्ष ४७ प्रतिशत पुगिसकेको छ । अस्पतालबाट गत असारदेखि चैतसम्ममा नौ सय पाँच महिलाले प्रसूति सेवा लिएकामा ४ सय २३ को शल्यक्रिया भएको छ ।

त्यस्तै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट अघिल्लो वर्ष ४२ प्रतिशत सिजरिङ डेलिभरी भएको छ । अघिल्लो वर्ष अस्पतालबाट तीन हजार ९ सय ६६ महिलाले प्रसूति गराए, जसमा एक हजार ६ सय ३१ को शल्यक्रिया भयो ।

बल्खुस्थित बयोधा अस्पतालमा त यो तथ्यांक ९९ प्रतिशत छ । अघिल्लो वर्ष यसै अस्पतालमा ८७ महिलाको डेलिभरी भएको थियो । त्यसमा ८६ ले शल्यक्रिया गरे ।

देशकै महँगो ग्रान्डी अस्पतालबाट ९१ प्रतिशतले शल्यक्रिया गरेर बच्चा जन्माए । अघिल्लो वर्ष ग्रान्डीबाट २ सय ८१ महिला सुत्केरी भए, त्यसमध्ये दुई सय ५६ को शल्यक्रिया गरियो ।

ओम अस्पतालमा ७८ प्रतिशतको शल्यक्रियाद्वारा नै डेलिभरी भयो । अघिल्लो वर्ष ओमबाट ९ सय ८७ ले प्रसूति सेवा सेवा लिएकामा ७ सय ८० को शल्यक्रिया भयो ।

नर्भिक अस्पतालको तथ्यांक पनि उस्तै छ । यहाँ ८० प्रतिशतको सिजरिङ डेलिभरी भएको छ । कुल चार सय ७० मध्ये ३ सय ३३ को शल्यक्रिया भयो ।

ललितपुरको अल्का अस्पतालबाट असारदेखि चैतसम्म एक सय २३ को डेलिभरी भएकोमा एक सय महिलाको शल्यक्रिया भयो । थोरै डेलिभरी गरिने अस्पतालमा त शतप्रतिशत नै शल्यक्रिया गरिएको देखिएको छ ।

कलंकीको सहिद मेमोरियल अस्पताल चार महिलाको डेलिभरी हुँदा चारै जनाको शल्यक्रिया गरिएको छ । हेल्पिङ ह्यान्ड्स कम्युनिटी अस्पतालमा ३२ जनाले प्रसूति सेवा लिएकामा सबैको शल्यक्रिया नै भएको छ ।

मेडिकल कलेज र नर्सिङ होममा करिब ८० प्रतिशतले शल्यक्रिया गरेर बच्चा जन्माउँछन् । आर्थिक अवस्था बलियो भएका, एउटा मात्रै सन्तान जन्माउन चाहेका र प्रसूति पीडा खप्न नचाहनेहरू निजी अस्पतालमा जाने गरेका छन् । त्यहाँ सिजरिङ डेलिभरी ७० प्रतिशतभन्दा बढी हुन्छ । केही निजी अस्पतालमा त नर्मल डेलिभरी हुनै छाडिसक्यो ।

काठमाडौंका ३२ अस्पतालमा प्रसूति सेवा छ । सबै अस्पतालको तथ्यांक हेर्दा निजीमा ७० प्रतिशतभन्दा बढीले शल्यक्रियाद्वारा बच्चा जन्माएको देखिन्छ । सरकारीमा भने अघिल्लो वर्ष ३६ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक छ । काठमाडौंका अस्पतालहरूबाट अघिल्लो वर्ष करिब ३३ हजार डेलिभरी भएकामा १२ हजारको शल्यक्रिया भएको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार चार वर्षअघि नेपालमा ७ प्रतिशतले शल्यक्रियाद्वारा बच्चा जन्माउँथे । अहिले यो ११ प्रतिशत पुगिसकेको छ । विभागका अनुसार प्रदेश ३ का जिल्लामा सिजरियन सेक्सन बढदो छ । तुलनात्मक रूपमा पहाड र हिमाली जिल्लामा सिजरियन सेक्सन कम छ ।

विशेषज्ञका अनुसार नर्मल डेलिभरी प्राकृतिक तरिका हो । शल्यक्रिया गर्दा शरीर चिर्नुपर्छ, फेरि सिलाउनुपर्छ । बेहोस गराउन कडा औषधि (एनेस्थिसिया) को प्रयोग गर्नुपर्छ । शल्यक्रिया गरेपछि अस्पताल बसाइ कम्तीमा चार दिन हुन्छ ।

यसले गर्दा आर्थिक भार त बढ्छ नै, आमा र बच्चा संक्रमणको जोखिममा पनि हुन्छन् । धेरै रगत बग्ने, घाउ पाक्न सक्ने, सिलाएको ठाउँ फुस्किएर पेट फेरि खोल्नुपर्ने पनि हुन सक्छ । विशेष गरेर ढिलो विवाह गरेका, ३५ वर्ष उमेर कटेपछि र २० वर्ष नपुग्दै पहिलो सन्तान जन्माएका, अनि कृत्रिम गर्भधारण गरेका महिलाले शल्यक्रिया माध्यमबाट बच्चा जन्माउने गरेका छन् । प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतम भन्छन्, ‘हामीले सकेसम्म प्राकृतिक डेलिभरीमा जोड गर्छौं ।’

उनका अनुसार एउटा मात्रै बच्चा जन्माउने योजना भएका परिवार शल्यक्रिया गर्न जिद्दी गर्छन् । ‘एउटै त पाउने हो किन दुखाइ सहने भन्ने उनीहरूको मानसिकता हुन्छ,’ गौतमले थपे, ‘जबर्जस्ती शल्यक्रिया नै गर्छु भन्दै ढिपी गर्नेको अगाडि हाम्रो केही लाग्दैन, भनेजस्तै गरिदिन्छौं ।’ मधुमेह, उच्च रक्तचापका रोगी, पेटमा बच्चा उल्टो बसेमा, बच्चाले पेटमै दिसा खाएमा या व्यथा लाग्दा आमाको अत्यधिक रक्तस्राव भएमा सिजरिङ नै गर्नुपर्ने डा. गौतम बताउँछन् । उनी थप्छन्, ‘यस्तो अवस्थामा आमा र बच्चाको ज्यान जोखिममा पर्छ । सिजरिङ गर्दा राम्रै नतिजा आउँछ, यो आवश्यकताअनुसार गरिन्छ ।’ एक पटक शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाले दोस्रो पटक पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ, ९५ प्रतिशतमा यो लागू हुन्छ । हरेक पटक पेट चिरेर बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्छ ।

प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्मा भन्छिन्, ‘निजीमा जटिल समस्याबाट गुज्रिएका महिला बढी सुत्केरी हुन आउँछन्, उनीहरूले चाहेर पनि नर्मल डेलिभरी गर्न सक्दैनन् ।’

प्रसूति गृहका निर्देशक डा. गौतमका अनुसार दुई पटकभन्दा बढी शल्यक्रिया गर्दा महिलाको ज्यान जोखिममा पर्छ । छोरा नपाएसम्म गर्भवती हुनेको पाँच पटकसम्म शल्यक्रिया गरेको उनको अनुभव छ । शल्यक्रिया गरी बच्चा जन्माएकाले दोस्रो पटक नर्मल डेलिभरी गर्न खोजेमा पाठेघर फुट्न सक्ने विशेषज्ञ बताउँछन् ।

चिकित्सकहरू आकस्मिक अवस्थाबाहेक सिजरिङ सेक्सन गर्न सुझाउँछन् । विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार हरेक अस्पतालमा ५ प्रतिशतसम्म सिजरियन सेक्सन हुनुपर्ने उल्लेख छ । जटिल अवस्था भएमा भने १० प्रतिशतसम्म जान सकिने संगठनले भनेको छ । संगठनले आकस्मिक अवस्थामा मात्रै सिजरियन सेक्सन गर्ने निर्देशन दिए पनि नेपालमा यो रोजाइको विषय बनेको छ ।

  • आजको कान्तिपुर दैनिकमा फातिमा बानुको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *